सोमबार, मंसिर १० गते २०८१    
images
images

गल्छी-रसुवागढी सडकको प्रगति ५२ प्रतिशत मात्रै

images
मंगलबार, साउन २४ २०७९
images
images
गल्छी-रसुवागढी सडकको प्रगति ५२ प्रतिशत मात्रै

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक हाल एक लेनको कच्ची रहेकोमा स्तरोन्नती गरि कालोपत्रसहित दुई लेनको स्ट्यान्डर्ड सडक बनाउने लक्ष्य सरकारको छ।

images
images

काठमाडौं- उत्तर दक्षिण जोड्ने छोटो सडक मार्गका रुपमा हेरिएको गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक आयोजनाको भौतिक प्रगति निक्कै सुस्त रहेको छ। गत आर्थिक वर्ष २०७८/७९ सम्म आयोजनाको कुल प्रगति ५२ प्रतिशतामात्र रहेको छ।

images
images
images

ठेकेदार कम्पनीले समयमा काम नगर्ने, कोरोना महामारि, निर्माण व्यवसायीको कन्स्ट्रक्सन होलिडेलगायत कारणले आयोजनाको काममा ढिलाइ भइरहेको छ। यो सडक आयोजना तीन खाण्डमा विभाजन गरेर स्तरोन्नतीको काम सुरु गरिएको थियो। 

images

सरकारले गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक खण्डको स्तरोन्नति आयोजनालाई राष्ट्रिय गौरवका आयोजना अन्तर्गत राखेर काम अघि बढाएको थियो। सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति सुरु भएको पाँच वर्षभन्दा बढी समय बितिसक्दा समग्र आयोजनाको काम ५२ प्रतिशत सकिएको आयोजनाले जनाएको छ। 

images

गल्छी-त्रिशूली-मैलुङ सडकलाई पहिलो खण्डमा राखेर स्तरोन्नतिको काम थालिएको थियो। पहिलो खण्डको स्तरोन्नती २०७३ कात्तिक ७ गतेबाट सुरु भएको थियो। गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर लामो सडकमध्ये २९ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ। बाँकी सडक फराकिलो बनाउने, नाली निर्माणलगायत आवश्यक काम भइरहेको छ। 

स्तरोन्नति सुरु भएको दुई वर्ष अर्थात २०७५ कात्तिमा सकिनु पर्ने पहिलो सडक खण्डको काम हालसम्म करिब ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ। यो सडक खण्डमा निर्माणको ठेक्का म्याद पटकपटक थप गरिसकिएको छ। 

कोरोना महामारीलगायत विभिन्न कारणले आयोजना निर्माणको काममा ढिलाइ भएको गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजना प्रमुख निरज शाक्यले बताए। गत आार्थिक वर्षसम्मका आयोजनाको समग्र प्रगति ५२ प्रतिशत भएको उनको भनाइ छ।

‘कोरोना महामारीलगायत कारणले आयोजनाले अपेक्षा गरिएअनुसार प्रगति हासिल गर्न कठीन भयो,’ उनले भने, ‘पिपलटारदेखि ढुंगे खण्डमा सडक स्तरोन्नति गर्ने काम सर्वाेच्चमा मुद्दा परेको र अन्तरिम आदेश आएकाले कारणले रोकिएको छ। अदालतले फैसला नगर्दासम्म काम गर्न सकिँदैन।’ पिपलटारदेखि ढुंगे खण्डलगायत अन्यत्र पनि मुआब्जाको कारण कतिपय स्थानमा काम हुन नसकेको आयोजनाले जनाएको छ। 

गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक अन्तर्गत पहिलो खण्डको लागत ३ अर्ब ६३ करोड ९१ लाख १६ हजार ९२४ रुपैयाँ रहेको छ। गल्छीदेखि स्याफ्रुसम्म १६ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ। पुल निर्माणको जिम्मा कालिका-टुंदी-हिमदुङ एन्ड थोकर जेभी र सडक बनाउने जिम्मा एमएस-कन्भेट-तुँदी, रसुवा जेभीले पाएको हो। 

त्यस्तै आयोजनाको दोस्रो खण्डमा निर्माण कम्पनीले बीचमै काम छोडेर सम्पर्कविहीन हुँदा मैलुङ-स्याफ्रुबेंसी सडकमा ६ महिनादेखि स्तरोन्नतीको काम रोकिएको छ। मैलुङदेखि स्याफ्रुबेंसीसम्म दोस्रो खण्डको लम्बाइ १९ किलोमिटर छ । 

यस खण्डमा सडक फराकिलो बनाउने, नाली निर्माणलगायत काम भइरहेको छ। यो खण्डको समग्र प्रगति करिब २५ प्रतिशत मात्र भएको छ। यो सडक खण्ड स्तरोन्नतीको जिम्मा श्री भारत कन्स्ट्रक्सन सिद्धिशाही जेभीले पाएको थियो। यस सडक खण्ड स्तरोन्नतिको लागत १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । 

२०७७ साउन १ मा निर्माण कम्पनी श्री भारत कन्स्ट्रक्सन सिद्धिशाही जेभीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार यो सडक निर्माण २०७९ पुस ३० सम्ममा सकिनु पर्छ। निर्माण कम्पनी सम्पर्क बिहिन भएकाले पेस्कीबापत लगेको रकम असुल गरि ठेक्का रद्द गर्ने विषयमा छलफल भइरहेको आयोजनाले जनाएको छ। 

आयोजनाको तेस्रो खण्ड अन्तर्गत स्याफ्रुबेंसी-रसुवागढी सडक स्तरोन्नको काम सुरु हुनै सकेको छैन। चीनको अनुदान सहयोगमा स्याफ्रुबेंसी-रसुवागढी सडक खण्ड स्तरोन्नती हुन भनिएको थियो। २०७६ असोज ११ गते सडक स्तरोन्नती गर्नेगरि औपचारिक रुपमा उद्घाटन गरिएको थियो । तर उद्घाटन भएको करिब ३ वर्ष हुन लाग्दा समेत काम सुरु हुन सकेको छैन। स्याफ्रुबेंसी-रसुवागढी सडक खण्डको लम्बाइ १५.८ किलोमिटर छ। यो खण्डको स्तरोन्नतीको जिम्मा चाइना तिब्बत टिनालु कम्पनी लिमिटेडले पाएको थियो। निर्माण कम्पनी सम्पर्कमा नआउँदा काम हुन नसकेको आयोजनाले जनाएको छ। यो खण्ड करिब साढे ४ अर्ब लागतमा ३९ महिनामा काम सकिने लक्ष्य लिइएको थियो। 

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक हाल एक लेनको कच्ची रहेकोमा स्तरोन्नती गरि कालोपत्रसहित दुई लेनको स्ट्यान्डर्ड सडक बनाउने लक्ष्य सरकारको छ। हाल सञ्चालनमा रहेको स्याफ्रुबेंसी-रसुवागढी सडक पनि चीन सरकारकै सहयोजमा निर्माण भएको थियो।  

राजधानी काठमाडौंबाट रसुवागढी नाका पुग्न छोटो दूरीको सडक बनाउने सरकारको योजनाअनुसार निर्माण सुरु गरिएको थियो। सडक निर्माण सकिएपछि काठमाडौंबाट गल्छी, त्रिशुली, बेत्रावती मैलुङ स्याफ्रुबेंसी हुँदै चीनको सीमा रसुवागढी सजिलै पुग्न सकिनेछ।

गल्छीदेखि रसुवागढीेसम्मको दूरी करिब ८२ किलोमिटर छ। गल्छीबाट काठमाडौंसम्मको दूरी ५० किलोमिटर छ। सडक निर्माणपछि काठमाडौंबाट चीनको केरुङ भने करिब ४ घण्टामा पुग्न सकिन्छ । गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक दक्षिण एसिया जोड्न लाइफलाइन का रूपमा लिइएको छ। सडक बनेपछि चीनको केरुङ र भारतको ठोरी जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ । ठोरीदेखि गल्छी हुँदै बेत्रावती स्याफ्रुबेंसीबाट केरुङसम्मको दूरी करिब २ सय ३० किलोमिटरमात्र हुनेछ।


प्रकाशित : मंगलबार, साउन २४ २०७९०३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend