शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सुधार देखिएको सेयर बजारमा फेरि गिरावट, नियामकीय साथसँगै के खोज्दैछन् लगानीकर्ता?

विश्लेषक रौनियार भन्छन्- देखावटी रुपमा मात्र सहज भयो, अवस्था उस्तै छ

सोमबार, साउन २३ २०७९
सुधार देखिएको सेयर बजारमा फेरि गिरावट, नियामकीय साथसँगै के खोज्दैछन् लगानीकर्ता?

काठमाडौं- गएको साता २७.२५ अंकको गिरावटसँगै लगानीकर्ताले विश्वास गुमाएको भनिएको सेयर बजारमा आइतबार सुधार देखिए पनि सोमबार पुन: घटेको छ।

सोमबार १७.६७ अंकले घटेर २१०६.१६ बिन्दुमा झरेको छ। जसमा २ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ। ५० कम्पनीको मात्र सेयर मूल्य बढ्दा १२३ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

यो साता आइतबार १०.२७ अंकले बढेर बजार २१२३.८२ बिन्दुमा पुगेको थियो। गएको साता आइतबार ५४.५८ र सोमबार १.१५ अंकले बढेको बजार मंगलबार २.८१ अंकले घटेको थियो। बुधबार ६.७१ अंकले घटेको बजारमा बिहीबार पनि ३८.६१ अंकको गिरावट नै आएको थियो। शुक्रबार ३४.८५ अंकले घटेर थियो।

नियामकहरूले सेयर कारोबारमा लचिलो नीति लिने संकेत गरिरहँदा पनि परिसूचकमा उत्साह देखिन सकेको छैन। लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ।

नियामक उदार नहुँदा नै समस्या भइरहेको विश्लेषकहरू बताउँछन्। 'बजारमा अझै स्थिति अप्ठ्यारो अप्ठ्यारो नै छ। खुलेर लगानीकर्ताहरू अघि बढ्ने बाटो छैन। ४/१२ को नीति फेरिए पनि ऋण लिन अझै सहज छैन। मौद्रिक नीतिमार्फत केही खुकुलो भए पनि सहज अवस्था भएको छैन' विश्लेषक छोटेलाल रौनियारले भने, 'अहिलेको अवस्था पनि ऋण लिएरै लगानी गर्नेजस्तो छैन। आफूसँग पैसा हुनेले मात्र बजार हेरिरहेका छन्।'

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजार अहिले थामिएको देखिए पनि लगानीकर्ताले विश्वासको आधार भेटेका छैनन्।


प्रकाशित : सोमबार, साउन २३ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend