शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

राष्ट्र बैंकको लचिलो नीतिपछि पनि सेयर बजारमा देखिएन सुधार, तर पुनः उकालो लाग्ने संकेत

बुधबार, साउन १८ २०७९
राष्ट्र बैंकको लचिलो नीतिपछि पनि सेयर बजारमा देखिएन सुधार, तर पुनः उकालो लाग्ने संकेत

काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर कारोबारमा लचिलो नीति लिने संकेतले पनि बुधबार परिसूचकमा खासै उत्साह भने देखिएन। नेपाल राष्ट्र बैंकले बुधबार नै ब्रोकर कम्पनीबाट मार्जिन कारोबारको सुविधा खुला गरेको छ।

यता राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले नाफाबाट आफ्नो हिसाबले लाभांश बाँड्न पाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले नगद लाभांश वितरणमा रोक लगाउँदा लगानीकर्ता बैंकको सेयर खरिदमा निराश हुँदै आएका थिए। यो निर्देशानसँगै बैंकिङ समूहमा लगानी गर्ने लगानीकर्ता उत्साही हुने छन्। राष्ट्र बैंकको नियमका कारण बैंक तथा वित्तीय संस्थाहरूले बोनस सेयरको भारी लगानीकर्तालाई बोकाउँदै आएका थिए। 

यता ४ र १२ करोडको सेयर कर्जा धितोको सीमामध्ये ४ करोडको सीमा हटाएर साना लगानीमैत्री नीतिसमेत बुधबारबाटै कार्यान्वयनमा आएको छ। विश्लेषकहरूका अनुसार राष्ट्र बैंकको लचिलो नीतिले सेयर बजारमा उत्साह आउन सक्ने अनुमान गरेका छन्।

बुधबार बिहानदेखिकै उतारचढावकाबीच बजार झिनो अंकले घटेको छ। बुधबार ६.७१ अंकले घटेर बजार २१८६.७७ बिन्दुमा पुगेको छ। जहाँ ४ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ। 

गएको सातादेखि हरियाली छाइरहेको सेयर बजारमा लगातार १७८.६२ अंकको वृद्धिपछि उतारचढावबीच मंगलबार पनि झिनो अंकको गिरावट देखिएको थियो। दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता लगानीको प्रकृति बदल्ने गर्दछन्। पछिल्लो साता बीमा कम्पनीमा झुम्मिएका लगानीकर्ता मंगलबारदेखि भने हाइड्रोतर्फ लागेका थिए।  

गएको साता १२२.८९ अंकले बढेर विश्वासको वातावरण फर्काउँदै यो साता आइतबार ५४.५८ र सोमबार १.१५ अंकले बढेको बजार मंगलबार २.८१ अंकले घटेको थियो।  

ठूला लगानीकर्ताले १८४८आसपासमा किनेको सेयरबाट नाफा उठाइरहँदा साना लगानीकर्ता भने अझै पनि जोखिममा रहेको विश्लेषकहरू बताउँछन्। ठूलो अंकको वृद्धिमा साना लगानीकर्ता हौसिदा जोखिममा परिरहेको उनीहरू बताउँछन्। आफ्नो नाफा सुरक्षित गर्न ठूला लगानीकर्ताको पकडमा रहेको बजारले सुधारको स्थायी आधार अझै भेट्न नसकेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बुधबार, साउन १८ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend