आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

सतप्रतिशत हकप्रद दिने भएपछि माथिल्लो तामाकोशीको सेयर मूल्य बढेको बढ्यै, पुनः उच्च मूल्यको दौडमा

शुक्रबार, साउन १३ २०७९
सतप्रतिशत हकप्रद दिने भएपछि माथिल्लो तामाकोशीको सेयर मूल्य बढेको बढ्यै, पुनः उच्च मूल्यको दौडमा

काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले लगानीकर्तालाई १ः१ को अनुपातमा हकप्रद सेयर दिनका लागि साधारणसभा बोलाएको छ।

भदौ ३ गते १ः१ अनुपातमा हकप्रदको प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो। योसँगै कम्पनीको सेयर मूल्य पनि लगातार बढिरहेको छ। कम्पनीको चौथो साधारणसभाले हकप्रदको नीति पारित गर्नेछ। कम्पनीले हकप्रद दिएर चुक्ता पुँजी बढाउने तयारी गरेपछि सेयर बजारमा उछाल आएको छ। कम्पनीको सेयर मूल्य गत हप्तादेखि लगातार बढिरहेको छ।

बिहीबार पनि सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले बढेर ५४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। बिहीबार मात्रै कम्पनीको १४ करोड १७ लाखको कारोबार भएको थियो। २ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको थियो। 

upper.PNG

पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य बढेर ९६२ रुपैयाँसम्म पुगेको थियो। त्यस्तै घटेर ३७६ रुपैयाँसम्म दोस्रो बजारमा कारोबार भएको थियो। आयोजनाले निर्माण भएको देशकै सबैभन्दा ठूलो ४५६ मेगावाट आयोजनाले ३० अर्ब चुक्तापुँजी बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ। 

आयोजनाले १ः१ कित्ता हकप्रद दिने प्रस्ताव गरेको हो। जसको लागि आयोजना सञ्चालक समितिले निर्णय गरेर विद्युत नियमन आयोगबाट समेत स्वीकृत हुनुपर्छ। 

हालको चुक्तापुँजी १० अर्ब ५० करोड रुपैयाँलाई बढाएर ३० अर्ब रुपैयाँ बनाउन उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। माथिल्लो तामाकोशी पहिलोपटक नाफामा गएको थियो। ४५६ मेगावाट क्षमताको आयोजनाले उत्पादन सुरु भएर बिजुली बिक्री गर्न थालेपछि नाफामा जान थालेको छ। कम्पनीकाे बजार पुँजीकरण ५७ अर्ब पुगेकाे छ। 

बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँ पुगिसकेको थियो। माथिल्लो तामाकोशी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको हो। कम्पनीका अनुसार कुल लागतमध्ये ५२ अर्ब रुपैयाँ खुद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धिलगायत खर्च निस्केको छ ।

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन्। यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ। कम्पनीको बजार पुँजीकरण ५७ अर्ब पुगेको छ। 


प्रकाशित : शुक्रबार, साउन १३ २०७९००:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend