सोमबार, असोज ७ गते २०८१    
images
images

कल सेन्टरको नाममा ठगी धन्दा चलाउने स्काई वर्ल्ड सर्भिस सेन्टरका मालिक विजय श्रेष्ठ र सुविन्द्र रोका मगर को हुन्?

images
मंगलबार, साउन १० २०७९
images
images
कल सेन्टरको नाममा ठगी धन्दा चलाउने स्काई वर्ल्ड सर्भिस सेन्टरका मालिक  विजय श्रेष्ठ र सुविन्द्र रोका मगर को हुन्?

कल सेन्टरबाट नेपाली नागरिक नै ठगीमा परेको कुनै प्रमाण प्रहरीसँग छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यिनीहरूले नेपालभन्दा पनि नेपालबाहिरका मानिसलाई ठगी गर्ने गरेको पाइएको छ। 

images
images

काठमाडौं- कल सेन्टरमार्फत ठगी धन्दा चलाइरहेको स्काई वर्ल्ड सर्भिस प्रालिका सञ्चालक विजय श्रेष्ठ र सुविन्द्र रोका मगर रहेको तथ्य खुलेको छ। 

images
images
images

बिजनेस न्युजलाई प्राप्त विवरणमा १ करोड चुक्ता पुँजी रहेको कम्पनीमा श्रेष्ठ र रोका मगरको ५०/५० प्रतिशत सेयर स्वामित्व रहेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको विवरणअनुसार कम्पनी २०७७ माघ १५ गते दर्ता भएको देखिन्छ।

दर्ता विवरणमा श्रेष्ठको ठेगाना काठमाडौं महानगरपालिका वडा नम्बर ३ उल्लेख गरिएको छ भने रोका मगरको रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ६ उल्लेख गरिएको छ। दर्ता विवरणमा थवाङ गाउपालिका वडा नम्बर ६ उल्लेख गरे पनि थवाङ गाउँपालिमा ५ वटामात्रै वडा छन्। जसका कारण कम्पनी दर्ता गर्दा हालिएको विवरण नै शंकास्पद देखिएको छ। 

कम्पनीमा प्रहरीले आइतबार छापा मारेको थियो। स्काई वर्ल्डमा कम्पनीमा छापा मार्नुपहिले प्रहरीले बुटवलमा पनि कल सेन्टरकै नाममा ठगी धन्दा चलाइरहेको कम्पनीमा छापामा मारेको थियो।

images

त्यसपछि काठमाडौंको तिनकुनेमा रहेको सुरज वैद्यको घरमा सञ्चालनमा रहेको स्काई वर्ल्ड सर्भिस सेन्टरमा छापा हानेको थियो। छापा मार्दा प्रहरीले कल सेन्टरबाट ३६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा नेपाली, भारतीय तथा चिनियाँ नागरिकहरू रहेका छन्। प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ। 

प्रहरीले कम्पनीको सञ्चालहरूलाई खोजी गरिरहेको जनाएको छ। पक्राउ पर्नेमा उक्त कल सेन्टरका प्रशासन प्रमुख चिनियाँ नागरिक हु युहा र भारतीय नागरिक मनोज सैनी तथा नेहा गुप्ता रहेका छन्। बाँकी ३३ जना नेपाली रहेका छन्। 

यो कल सेन्टरबाट नेपाली नागरिक नै ठगीमा परेको कुनै प्रमाण प्रहरीसँग छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यिनीहरूले नेपालभन्दा पनि नेपालबाहिरका मानिसलाई ठगी गर्ने गरेको पाइएको छ। 

एकै सिफ्टमा ११ सय मान्छे राखेर काम गराउने गरेको यो कल सेन्टरको काठमाडौंमा मात्र दुई हजारभन्दा बढी कर्मचारी रहेको प्रहरीको अनुमान छ। यिनीहरूले विशेषगरी भारतीय नागरिकलाई ठगी गर्ने गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहरा बताउँछन्।

स्काई वर्ल्ड सर्भिस सेन्टरको माध्यमबाट भारतीय बजारलक्षित ठगी धेरै भइरहेको थियो। ऋण सुविधा दिने भनेर आएका विभिन्न एप्लिकेशनको माध्यमबाट भारतीय सर्वसधारणको शोषण, चरित्र हत्यासम्मका काम भइरहेको प्रहरीको पत्ता लगाएको छ। ऋण सुविधा दिने त्यस्ता एप्लिकेशनका बारेमा उनीहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्थे।

जसबाट छिटै र सस्तो ब्याजमा ऋण पाइने लोभमा न्यून आए भएका नागरिक लोभिने भए। 'दिनमा पचासौँ हजार आवेदन आउने गरेको सूचना हामीले पाएका छौँ। त्यसैले त त्यत्रो जनशक्ति परिचालन भइरहेको रहेछ,' प्रहरी परिसर काठमाडौं प्रमुख बोहराले भने। 

छिटो र सस्तो ऋणको लोभमा एप्लिकेशनसम्म पुग्ने प्रयोगकर्तालाई ऋणका लागि फारम भर्न एउटा लिंक पठाइन्छ। जसमा उनीहरूले आफ्नो परिचय खुल्ने दस्तावेज अपलोड गर्थे। सात दिनका लागि बढीमा २० हजार भारु ऋण दिने यो गिरोहले छ दिनमै वार्निङ कल गर्थ्यो। कल गर्नेदेखि लिएर आवेदन ह्यान्डल गर्नेसम्मका काम यहीँबाट हुने गरेको भेटिएको बोहराले भने। 

२० हजार ऋण स्वीकृत गर्दा पनि पाउनेले भने ६४ प्रतिशत मात्र पाउँथ्यो। यिनीहरूले ३६ प्रतिशत रकम आफैसँग राख्थे। यसरी समयमै ऋण नतिर्ने वा तिर्न नसक्नेहरूलाई साइबर बुलिङको माध्यमबाट तर्साउने गरेका थिए। ऋण लिँदा नै परिचय खुल्ने दस्तावेज र तस्बिर पाएको यो गिरोहले इन्टरनेटमा बेइज्जती गर्ने धम्की दिने र बेइज्जत गर्ने गरेकोसमेत पाइएको छ। यद्यपि अहिले यसका बारेमा थप अनुसन्धान भइरहेको छ। 

नेपालमा पनि पछिल्लो समय म्यासेन्जर एप तथा फेसबुक म्यासेन्जरमा चिठ्ठा तथा उपहार आएको भन्दै लोभ्याउँदै ठगी गर्ने चलन बढेको छ। यस्तै गिरोहको सहभागिता हुनसक्ने प्रहरीको आशंका छ। 'हामीले यसमा थप अनुसन्धान गर्दैछौँ। अहिलेसम्म कुनै पनि नेपाली पीडितको गुनासो योसँग जोडिएको छैन। थप अनुसन्धानबाट खुल्दै जाला,' बोहराले भने।  

नेपालमा कल सेन्टर खोल्नका लागि विशेष नियामकीय व्यवस्था छैन। सूचना प्रविधिको व्यवसाय गर्नका लागि नियामकीय व्यवस्था भए पनि कल सेन्टरका बारेमा कुनै विशेष व्यवस्था छैन। कम्पनी दर्ता गर्ने र त्यसकै माध्यमबाट कल सेन्टर चलाउने गरिएको छ।


प्रकाशित : मंगलबार, साउन १० २०७९१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend