आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

नाफामा छलाङ मारेको निफ्राको सेयर मूल्य दोस्रो बजारमा झनै खुम्चियो, दीर्घकालीन लगानीकर्ता हुनसक्छन् मालामाल (प्राविधिक विश्लेषणसहित)

मंगलबार, साउन १० २०७९
नाफामा छलाङ मारेको निफ्राको सेयर मूल्य दोस्रो बजारमा झनै खुम्चियो, दीर्घकालीन लगानीकर्ता हुनसक्छन् मालामाल (प्राविधिक विश्लेषणसहित)

काठमाडौं- दोस्रो बजारमा सेयर मूल्य लगातार घटेपनि नाफामा छलाङ मारेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आउने वर्ष लगानीकर्तालाई भने लाभांश राम्रो दिने अनुमान गरिएको छ। कम्पनीले नाफा आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष २२.५३ प्रतिशतले बढाएको छ। 

गत आवमा बैंकको नाफा १ अर्ब २ करोड ६१ लाख रुपैयाँ रहेको छ। बैंकले आर्थिक वर्ष २०७७/७८ मा कुल ८३ करोड ७१ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो।

nifra aa.PNG

बैंकको ब्याज आम्दानी १ अर्ब ९२ करोड रुपैयाँ छ भने खुद खर्च ४ करोड २२ लाख रुपैयाँ गरी खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड ६३ लाख रुपैयाँ पुगेको छ। २१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ एण्ड सरप्लसमा १ अर्ब ७३ करोड रुपैयाँ छ। बैंकले प्रोभिजनमा २९ करोड ९१ हजार रुपैयाँ राखेको छ। बैंकको सञ्चालन आम्दानी १ अर्ब ४६ करोड ५७ लाख ७२ हजार रुपैयाँ भएको छ।

साथै, कस्ट अफ फण्ड ९.४० प्रतिशत र सीडी रेसियो ६६.२० प्रतिशत रहेको छ। त्यसैगरी प्रतिसेयर नेटवर्थ १०८.०४ रुपैयाँ छ। कम्पनीले गतवर्षकै हाराहारीमा लाभांश दिन सक्ने देखिन्छ। गत वर्ष ८ प्रतिशत दिएको कम्पनीले अहिलेको सूचकका आधारमा १० देखि १२ प्रतिशत सम्म लाभांश दिने देखिन्छ। कम्पनीले अन्यत्र लगानी गरेर नाफा कमाएर दिने खालको कम्पनी हो। बैंकमा पैसा राखेर ब्याज राखेर पैसा प्रकृतिको कम्पनी हो। 

प्रति सेयर आम्दानी ४.७५ रुपैयाँ रहेको छ। पीई रेसियो ५५.१२ रुपैयाँ रहेको छ। कम्पनीमा सरकारको लगानी १० प्रतिशत र जनताको लगानी ४० प्रतिशत र प्रमोटरहरुको ५० प्रतिशत सेयर रहेको छ। लामो समय होल्ड गर्ने लगानीकर्ताका लागि यो कम्पनी दीर्घकालमा राम्रो हुने देखिन्छ। कम्तीमा आईपीओ हुनेहरुले बिक्री नगरी राख्न सकेमा कम्पनीले राम्रै प्रतिफल दिने समेत देखिन्छ। निफ्राको सेयर मूल्य निरन्तर ओरालो लागि रहेको छ। अहिले दोस्रो बजारमा आईपीओ सरहकै मूल्यमा आएको छ। 

दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेर ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य पछि घटेर २५० रुपैयाँमा आइपुगेको छ। विश्लेषकहरूले निफ्राको सेयर अन्डरभ्यालु भएकोले बजार बढ्न थालेपछि उच्च अंकले बढ्ने अनुमान गरिरहेका छन्। तर निफ्राको सेयरमा लगानीकर्ताको आकर्षण देखिन सकेको छैन।

गत वर्ष प्रत्येक आवेदकलाई ५० र ६० कित्ताका दरले साधारण सेयर दिएको निफ्राको दोस्रो बजारमा २१ करोड ६० लाख कित्ता सेयर सूचीकृत रहेको छ। धेरै सेयर कित्ता भएकोले चलखेल गर्न ठूला लगानीकर्ताले समेत सक्दैनन्। त्यसकारण पनि खासै ठूलो उतारचढाव सेयर मूल्यमा हुँदैन।

जसका कारण पनि लामो समयदेखि निफ्राको सेयर मूल्य स्थिर भएर बसेको छ। २१ अर्ब ६० करोड चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण ५४ अर्ब ६४ करोड रुपैयाँमा आइपुगेको छ। कुनै समय १ खर्ब ३६ करोडसम्म पुगेको कम्पनीको बजार पुँजीकरण अहिले निरन्तर घटिरहेको छ।

निफ्राले विद्युत व्यापारमा समेत हात हाल्दैछ भने अन्य आयोजनाहरूमा समेत लगानी गर्नेगरी काम गरिरहेको छ। ऊर्जा मन्त्रालयले निफ्रालाई विद्युत व्यापारमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइसकेको छ। विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिने गरी सरकारले नयाँ प्रक्रिया सुरु गरेको छ। सरकारले निफ्रा र नेपाल पावर एक्स्चेन्ज लिमिटेड (नेपेक्स) कम्पनीलाई विद्युत व्यापारमा सहभागी गराउने गरी प्रक्रिया अगाडि बढाएको छ।


प्रकाशित : मंगलबार, साउन १० २०७९०७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend