आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

सेयर बजारमा लगातार ठूलो अंकको वृद्धि, मौद्रिक नीतिले उच्च बिन्दुतर्फ फर्काएको हो?

सोमबार, साउन ९ २०७९
सेयर बजारमा लगातार ठूलो अंकको वृद्धि, मौद्रिक नीतिले उच्च बिन्दुतर्फ फर्काएको हो?

काठमाडौं- आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिसँगै सेयर बजारमा लगातार ठूलो अंकको वृद्धि देखिएको छ। आइतबार ६१.०५ अंकले बढेको बजारमा सोमबारसमेत लगानीकर्ताको उत्साह देखिएको हो।

सोमबार ५४.४५ अंकले बढेर बजार २१३२.९६ बिन्दुमा पुगेको छ। सोमबार गएको केही सातायताकै ठूलो कारोबार समेत भएको छ। ४ अर्ब १० करोड रुपैयाँको कारोबार हुँदा १७६ कम्पनीको सेयर मूल्य बढेको छ। 

विश्लेषकहरूले मौद्रिक नीतिमार्फत लगानीकर्ताले विश्वस्त हुने केही आधार भेटे पनि बजार अझै उचाइमा जाने अन्य सूचकहरू नरहेको बताइरहँदा लगातार ठूलो अंकको वृद्धि देखिएको हो। विश्लेषकहरू अहिलेको वृद्धिले बजारलाई २५ सय बिन्दुको हाराहारीमा पुर्‍याउने देखिएको भए पनि पहिलेको उच्च बिन्दु भेट्न भने समय लाग्ने बताउँछन्। 

गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई केही सहज हुनेगरीका व्यवस्था ल्याएसँगै बजारमा सुधार देखिएको र यसलाई दीर्घकालीन बनाउन अन्य समस्‍याहरू समाधान हुँदै जानुपर्ने उनीहरूको तर्क। नयाँ मौद्रिक नीतिपछि उत्साह देखिएको भए पनि तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अहिले नै बजारको दिशा यकीन गर्न मुस्किल हुने उनीहरू बताउँछन्। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा दुई दिनको सुधारले आगामी बाटो यकिन नभए पनि गएको असार ९ गते १८४८ सम्म झरेको बजारमा अहिलेको संकेत सकारात्मक नै देखिएको विश्लेषकहरू बताउँछन्। 

मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा र २५ लाख रुपैयाँभन्दा कम ऋण लिँदाको जोखिमभारजस्ता विषय लगानीकर्ताको हितमा देखिएको बुझाइ छ। राष्ट्र बैंकले सेयर धितो कर्जाबापत २५ लाख रुपैयाँभन्दा कम ऋण लिँदा बैंकहरूले कायम गर्नुपर्ने जोखिम भार १०० प्रतिशतमा झारेको छ। यसअघि जुनसुकै परिमाणको सेयर धितो कर्जा लिँदा १५० प्रतिशतसम्म जोखिम भार बैंकहरूले छुट्याउनुपर्ने व्यवस्था थियो।

साथै सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरिएको छ। यस्तै राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ।


प्रकाशित : सोमबार, साउन ९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend