शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

मकैको बीउमा आत्मनिर्भर हुँदै बागलुङ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ९ २०७९
images
images
मकैको बीउमा आत्मनिर्भर हुँदै बागलुङ
images
images

बागलुङ- बाहिरबाट बीउ ल्याएर मकै खेती गर्नुपर्ने यहाँका किसानको बाध्यता कम हुँदै गएको छ। किसान आफैँ प्रमाणित र उन्नत बीउ उत्पादनतिर लागेका छन् । कृषि ज्ञान केन्द्रले मकैको बिजवृद्धि कार्यक्रममार्फत किसानलाई सघाएको छ।

images
images
images

केन्द्रका अनुसार तमानखोला, निसीखोला, ताराखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत गरी सात ठाउँमा बिजवृद्धि कार्यक्रम सञ्चालित छ। कुल एक हजार रोपनीमा कृषि सहकारी र समूहमार्फत मकैको बीउ उत्पादन भइरहेको हो।

केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बिजवृद्धि कार्यक्रमबाट १५० मेट्रिक टन बीउ उत्पादन हुने बताए। आफ्नै हिसाबले बीउ उत्पादन गरेर बेच्ने किसानको सङ्ख्या पनि उल्लेख्य रहेको उनको भनाइ छ।

images

'यहाँ २० हजार हेक्टरमा मकै बाली लगाइन्छ, एक हेक्टरलाई २० किलो बीउ चाहिन्छ', प्रमुख भट्टराईले भने, 'वर्षमा चार सय मेट्रिक टन बीउको खाँचो पर्छ, आउँदो एक/दुई वर्षभित्रमा बागलुङ मकैको बीउमा आत्मनिर्भर बन्छ।'

images

यहाँ मुख्य गरी उन्नत जातको मनकामना १, २, ३, ४, ५ र अरुण–१, २ मकैको खेती हुन्छ। बरेङ गाउँपालिकाका किसानले भने देउती जातको मकै लगाउँछन्। मनकामना एक हजार ५०० मिटरको उचाइसम्म र गणेश त्यसभन्दा माथि उब्जाउ हुन्छ।

केन्द्रले मकैको बीउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा मूल बीउ उपलब्ध गराउने गरेको छ। किसानले यान्त्रिक हलो, त्रिपाल, बोरालगायत कृषि औजार र उपकरण पनि अनुदानमा पाउँछन्। आउँदा वर्षमा बिजवृद्धि कार्यक्रम थप विस्तार गर्ने योजनामा केन्द्र छ।

अहिले सबैभन्दा बढी निसीखोलाको देवीस्थान कृषि सहकारीमार्फत ३०० रोपनीमा मनकामना–३ मकैको बीउ उत्पादन भइरहेको छ। ताराखोलामा १०० रोपनीमा गणेश–१ जातको मकैको बीउ उत्पादनका लागि बिजवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ।

तमानखोला गाउँपालिकामा मकै ‘ब्लक’ कार्यक्रमअन्तर्गत १०० रोपनीमा गणेश–१ जातको मकैको बीउ उत्पादन भइरहेको छ। जैमिनी–१० पाहीमा २५० रोपनीमा बिजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ।

काठेखोला गाउँपालिका–४ तङ्ग्रामको कल्पना मकै उत्पादन समूहले पनि सय रोपनीमा उन्नत जातको मनकामना–३ उत्पादन गरिरहेको समूहका अध्यक्ष रनबहादुर थापाले बताए। उक्त समूहले उत्पादन गरेको मकैको बीउ गत वर्ष केन्द्रमार्फत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा निर्यात गरिएको थियो।

यो वर्ष पनि पोखरा, म्याग्दी, रुकुमलगायत ठाउँमा बीउ बेचिएको अध्यक्ष थापाको भनाइ छ। तङ्ग्रामका अगुवा किसान थापाले विगत १०/१२ वर्षदेखि मकैको बीउ उत्पादन गर्दै आउनुभएको छ। 'पहिले लुम्ले, काभ्रेलगायत ठाउँबाट बीउ ल्याउनुपथ्र्यो, अहिले यहाँको बीउ बाहिर गइरहेको छ', उनले भने । केन्द्रले मकैको बीउलाई प्रतिकिलो १०० रुपैयाँको दर तोकेको छ। 

बीउ परीक्षण प्रयोगशाला परीक्षण गरेर प्रमाणित भएपछि मात्र केन्द्रले बीउ बिक्रीका लागि सिफारिस गर्ने गरेको प्रमुख भट्टराईले बताए। 'सिफारिसका लागि बीउ शुद्ध र निरोगी हुनुपर्छ, कुनै जातको बीउ उत्पादन गर्नुछ भने त्यसको ३०० मिटर वरपर अर्को कुनै पनि जातको मकै लगाउन मिल्दैन', उनले भने।

प्रमुख भट्टराईले बीउ उत्पादनमा जोखिम पनि हुने भएकाले किसानलाई बीउको भण्डारण र सुरक्षाका लागि चाहिने पूर्वाधारमा राज्यले सहयोग गर्नुपर्ने बताए। मकैको बीउ उत्पादन गरेर बेच्ने किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ। 'बीउमा आत्मनिर्भर मात्र होइन निर्यात गर्ने स्थितिमा जिल्लालाई पु¥याउन सकिन्छ, तर त्यहीअनुसारको लगानी र पूर्वाधार पनि चाहिन्छ', प्रमुख भट्टराईले भने।

उनले यसअघि लुम्ले, काभ्रे, सुर्खेत र बैतडीसम्म पुगी मकैको बीउ ल्याएर किसानलाई बाँड्ने गरेको सुनाए। कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइका निमित्त प्रमुख सुजित पौडेलले बडिगाड गाउँपालिका–१ दगातुम्डाँडामा बीउ भण्डारण गृह निर्माण गरिएको बताए। त्यहाँका किसान मकैको बीउ उत्पादनतर्फ आकर्षित भएपछि एकाइले आफ्नै लगानीमा बीउ भण्डारण गृह निर्माण गरेको हो। 

बागलुङसहित पर्वत र गुल्मीका दुई स्थानीय तहमा कार्य क्षेत्र रहेको एकाइले पर्वतको फलेवास नगरपालिका, महाशिला र बिहादी गाउँपालिका समेटेर ‘मकै जोन’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। सोही कार्यक्रमअन्तर्गत फलेवासको झकलक कृषि सहकारीले यो वर्ष १६ मेट्रिक टन बीउ उत्पादन गरेको निमित्त प्रमुख पौडेलले बताए। 'सहकारीले मनकामना–३ र अरुण–२ को मूल, प्रमाणित र उन्नत बीउ उत्पादन गर्छ, अहिले त्यहाँको बीउ बाहिरी जिल्लामा पनि निर्यात भइरहेको छ', उनले भने। रासस


प्रकाशित : सोमबार, साउन ९ २०७९०५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend