बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

नारायणगढ-बुटवल सडक : ४२ महिनामा २० प्रतिशतभन्दा कम काम, दुईवर्ष म्याद थप गर्न चिनियाँ कम्पनीको निवेदन

परामर्शदाता म्याद थप गर्नेबारे छलफलमा

images
सोमबार, साउन ९ २०७९
images
images
नारायणगढ-बुटवल सडक : ४२ महिनामा २० प्रतिशतभन्दा कम काम, दुईवर्ष म्याद थप गर्न चिनियाँ कम्पनीको निवेदन

आयोजनाको परामर्शदाताले अहिले कति म्याद थप गर्ने भन्ने बारे अध्ययन गरिरहेको छ। परामर्शदाताले आयोजनाको काम के के कारणले कति समय अवरुद्ध भयो भनेर मूल्यांकन गरेको हुनाले उनीहरुकै सिफारिसमा आयोजनाको म्याद थप हुनेछ।  

images
images

काठमाडौं- नारायणगढ-बुटवल सडक निर्माणका काम समयमै नगरेको ठेकेदार कम्पनीले आयोजनको म्याद थप गर्न निवेदन दिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको यो सडकखण्ड विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेसन लिमिटेडले समय थप गर्न निवेदन दिएको हो। 

images
images
images

नारायणगढ-बुटवल सडक खण्ड विस्तार आयोजनाको म्याद यही साउन २२ गते सकिँदै छ। केही दिनअघिको तथ्यांकअनुसार सडक विस्तारको प्रगति २० प्रतिशत पुग्न नसकेको आयोजनाले जनाएको छ।

images

२०७९ साउन २२ गतेभित्र सडक विस्तारको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नेगरी २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको थियो। ४२ महिनाभित्र निर्माण सक्ने गरी सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनीले करिब दुई महिना ढिलागरी सडक विस्तार थालेको थियो। 

images
images

निर्माण कम्पनीले नै ढिलो काम थालेको र विभिन्न अवरोध तथा कोभिड-१९ का कारण काममा ढिलाइ भएको हो। यसका अतिरिक्त निर्माण कम्पनीले गर्नुपर्नेे जति स्पीडमा काम नगर्दा आयोजनाको प्रगति न्यून भएको हो। 

images
images

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्ड एसियन स्ट्यान्डर्डको हाइवे बनाउने गरि काम सुरु भएको हो। उक्त सडक खण्डअन्तर्गत सहरी क्षेत्रमा ६ लेन र अन्यत्र ४ लेनको सडक बनाउने गरि डिजाइन गरिएको हो। 

सडक विस्तारको काम समयमै नसकिएपछि निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले म्याद थपका लागि निवेदन दिएको आयोजना अन्तर्गतको पश्चिम खण्ड प्रमुख प्रदीप शाक्यले जानकारी दिए। ‘आयोजनाको प्रगति सोचेअनुसार भएको छैन। समयमै नसकिने भएपछि निर्माण कम्पनीले म्याद थपका लागि निवेदन दिएको छ,’ शाक्यले भने, ‘सार्वजनिक खरिद नियमावलीअनुसार सबै प्रक्रिया पुरा गरेर आएपछि आयोजनाले उपयुक्त निर्णय गर्नेछ।’ 

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले निवेदनमा २ वर्ष म्याद थप गर्नुपर्ने जिकिर गरेको छ। कन्ट्याक्टरले मागे जतिनै समय पाउने वा कम पाउने भन्ने विषयमा वस्तुस्थिति मूल्यांकन गरेर निर्णय हुने आयोजनाको भनाइ छ।

आयोजनाको परामर्शदाताले अहिले कति म्याद थप गर्ने भन्ने बारे अध्ययन गरिरहेको छ। परामर्शदाताले आयोजनाको काम के के कारणले कति समय अवरुद्ध भयो भनेर मूल्यांकन गरेको हुनाले उनीहरुकै सिफारिसमा आयोजनाको म्याद थप हुनेछ।  

विस्ता गर्न लागिएको पूर्वपश्चिम राजमार्गअन्तर्गत ११४ किमि नारायणगढ-बुटवल सडकको पूर्वी खण्डमा ६५ किमि सडक पर्छ। सडकको बीच भागमा बिरुवा रोपण गरिने आयोजनाले जनाएको छ। सडकको ४२.७ किमि खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको चार किमि सडक तीन लेनको मात्रै हुनेछ। पूर्वी खण्डमा सडक विस्तारसँगै १२ ठूला तथा २२ साना पक्की पुल निर्माण हुँदैछन्। ठूला ११ वटा र साना नौ वटा पुल निर्माण सम्पन्न भएका आयोजनाले जनाएको छ।  

सडक विस्तार गर्न पूर्वी खण्डको गैँडाकोटदेखि दाउन्नेसम्म मापदण्डभित्र पर्ने ३६ हजार २६७ रुख कटान यसअघि नै सकिएको थियो। विस्तारसँगै गैँडाकोटको पितौजीदेखि देवचुलीको प्रगतिनगरसम्म सडक कालोपत्र गर्ने गरी काम अघि बढिसकेको छ।

एडीबीको ऋण सहयोगमा विस्तार सुरु भएको उक्त सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ अनुमान गरिएको थियो। लागतको ८५ प्रतिशत रकम एडीबीले ऋणस्वरुप उपलब्ध गराएको हो। बाँकी रकम सरकारले लगानी गर्नेछ। 

दुई प्याकेजमा निर्माण भइरहेको सडकको गैँडाकोट-दाउन्ने सडक खण्ड ६५ किमिको लागत नौ अर्ब १३ करोड १९ लाख तथा दाउन्ने-बुटवल खण्ड ४९ किमिको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ। विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुने क्रमको सुरुआत गरिएको थियो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा उक्त सडक विस्तारको शिलान्यास गरेका थिए। ११४ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाएपछि बुटवलबाट नारायणगढको यात्रा डेढ घण्टाको हुने अपेक्षा गरिएको छ।

बुटवल-बर्दघाट सडकखण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत काम भएको छ। उता बर्दघाट-गैँडाकोट क्षेत्रमा हालसम्म १८ प्रतिशत मात्र काम भएको छ।

बुटवल-बर्दघाट सडक खण्डमा अहिलेसम्म ८० वटा कल्भर्ट निर्माण भएका छन् भने ५० वटा कल्भर्टका अधिकांश काम सकिएको छ। यो खण्डमा २४० वटा कल्भर्ट निर्माण गर्नुपर्ने आयोजनाको भनाइ छ। यस्तै, ९ वटा ठूलो पुल बनाउनु पर्नेमा ३ वटा बनिसकेको र अन्य ३ वटा पुलको अधिकांश काम सकिएको छ। 

बर्दघाट-गैँडाकोट खण्डमा साढे ५ किलोमिटरमा दुईतिरको साइट पूरा भएको छ। यस्तै १० वटा साना पुलको काम सकिएको छ भने अझै दुईवटा पुल बनाउन बाँकी रहेको आयोजनाले जनाएको छ। २ सय १५ कल्भर्ट निर्माण गर्नुपर्नेमा १ सय ३१ वटा निर्माण भइसकेको र अरु बन्ने क्रममा रहेको छ। 

कुल लागतको ८५ प्रतिशत एडीबीले ऋण उपलब्ध गराउने र बाँकी रकम सरकारले लगानी गर्नेगरि काम थालिएको थियो। सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा चिनियाँ कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको थियो।

एडीबीले नेपाल सरकारलाई उक्त ऋण १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी उपलब्ध गराएको हो। हालसम्म गैँडाकोट-दाउन्ने सडक खण्डमा १ अर्ब ३० करोड अर्थात १३ प्रतिशत खर्च भएको छ भने दाउन्ने-बुटवल खण्डमा आव २०७८/७९ का लागि छुट्याइएको २ अर्ब रुपैयाँमध्ये ८५ करोड रुपैयाँभन्दा केही बढी खर्च भएको आयोजनाले जनाएको छ। 

images

प्रकाशित : सोमबार, साउन ९ २०७९०१:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend