आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

नयाँ मौद्रिक नीतिपछि सेयर बजारमा देखियो उछाल, नीतिगत साथसँगै उच्च बिन्दुतर्फ बढ्ला?

आइतबार, साउन ८ २०७९
नयाँ मौद्रिक नीतिपछि सेयर बजारमा देखियो उछाल, नीतिगत साथसँगै उच्च बिन्दुतर्फ बढ्ला?

काठमाडौं- आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत भएको सम्बोधनले सेयर बजारमा साताको पहिलो कारोबारमा उत्साह देखिएको छ। उतारचढाव देखिइरहेको बजारमा लगानीकर्ताको विश्वास फर्किएसँगै बजारमा उछाल देखिएको हो।

आइतबार ६१.०५ अंकले बढेर बजार २०७८.५१ बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकममा पनि केही सुधार देखिएको छ। २ अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा १७९ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा युनिलिभर नेपालको सेयर मूल्यमात्रै घटेको छ। 

गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई केही सहज हुनेगरीका व्यवस्था ल्याएसँगै बजारमा सुधार देखिएको र यसलाई दीर्घकालीन बनाउन अन्य समस्‍याहरू समाधान हुँदै जानुपर्ने विश्लेषकहरू बताउँछन्। नयाँ मौद्रिक नीतिपछि उत्साह देखिएको भए पनि बैंकमा निक्षेपको अभावले दबाब नै भएकोले अहिले नै बजारको दिशा यकीन गर्न मुस्किल हुने उनीहरू बताउँछन्। 

गएको साता आइतबार १.९३ अंकले बढेको सेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो। मंगलबार १६.२० अंकले बढेको बजारमा बुधबार ४.८९ को सुधार देखियो। बिहीबार ५.८७ अंकले घटेको बजार शुक्रबार आधा दिनको कारोबारमै २७.२६ अंकले घटेको थियो। 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै आर्थिक विस्तारलाई सीमित गर्ने लक्ष्य निर्धारण गरेको भए पनि पुँजी बजारका लागि सहज हुने ठानिएका केही परिवर्तनहरू भने गरेको छ। 

मौद्रिक नीतिमार्फत के परिवर्तन भयो?

राष्ट्र बैंकले सेयर धितो कर्जाबापत २५ लाख रुपैयाँभन्दा कम ऋण लिँदा बैंकहरूले कायम गर्नुपर्ने जोखिम भार १०० प्रतिशतमा झारेको छ। यसअघि जुनसुकै परिमाणको सेयर धितो कर्जा लिँदा १५० प्रतिशतसम्म जोखिम भार बैंकहरूले छुट्याउनुपर्ने व्यवस्था थियो।

सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ। नयाँ व्यवस्थाले लगानीकर्तालाई केही राहत मिल्ने विश्लेषकहरू बताउँछन्।

यस्तै राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ। मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरेको छ। 

योसँगै अब धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था गरिएको छ। हाल बैंक तथा वित्तीय संस्था मर्जर हुँदा सबै प्रक्रिया सकेरमात्र एकीकृत कारोबार हुने व्यवस्था थियो। बैंक तथा वित्तीय संस्थाको प्रभुत्व रहेको सेयर बजारमा यो व्यवस्थाले पक्कै राहत मिल्नेछ। 

साथै सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरिएको छ। नयाँ व्यवस्थाअनुसार एक व्यक्तिले एकै बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने छन्। यसअघि एक बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ सेयर कर्जा लिन पाउने व्यवस्था थियो। सेयर ब्रोकरमार्फत मार्जिन कर्जा नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो सीमा पनि हटाइने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, साउन ८ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend