काठमाडौं- लामो समयदेखि उतारचढावमा रहँदै बियरिस ट्रेन्डबाट फर्किन प्रयासमा रहेको सेयर बजार नयाँ मौद्रिक नीतिको पर्खाइमा थियो। संगठित लगानीकर्ताहरू मौद्रिक नीतिमार्फत नै सेयर बजारलाई सहज हुने व्यवस्था ल्याइनुपर्ने भन्दै आन्दोलनदेखि दबाबमूलक भेटघाटसम्ममा व्यस्त थिए। यतिसम्म कि संसदमा समेत राष्ट्र बैंककै नीतिका कारण सेयर बजार माथि उठ्न नसकेको आवाज बारम्बार उठ्यो।
शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरिसकेको छ। जसमा पुँजी बजारलाई सम्बोधन हुने गरी केही व्यवस्थाहरू राष्ट्र बैंकले परिवर्तन गरेको छ।
राष्ट्र बैंकले सेयर धितो कर्जाबापत २५ लाख रुपैयाँभन्दा कम ऋण लिँदा बैंकहरूले कायम गर्नुपर्ने जोखिम भार १०० प्रतिशतमा झारेको छ। यसअघि जुनसुकै परिमाणको सेयर धितो कर्जा लिँदा १५० प्रतिशतसम्म जोखिम भार बैंकहरूले छुट्याउनुपर्ने व्यवस्था थियो।
सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ। नयाँ व्यवस्थाले लगानीकर्तालाई केही राहत मिल्ने विश्लेषकहरू बताउँछन्।
यस्तै राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ। मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरेको छ।
योसँगै अब धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था गरिएको छ। हाल बैंक तथा वित्तीय संस्था मर्जर हुँदा सबै प्रक्रिया सकेरमात्र एकीकृत कारोबार हुने व्यवस्था थियो। बैंक तथा वित्तीय संस्थाको प्रभुत्व रहेको सेयर बजारमा यो व्यवस्थाले पक्कै राहत मिल्नेछ।
साथै सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरिएको छ। नयाँ व्यवस्थाअनुसार एक व्यक्तिले एकै बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने छन्। यसअघि एक बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ सेयर कर्जा लिन पाउने व्यवस्था थियो। सेयर ब्रोकरमार्फत मार्जिन कर्जा नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो सीमा पनि हटाइने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले यसअघि मौद्रिक नीतिमार्फत सेयर कर्जामा एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी घटेको भन्दै त्यसमा नयाँ मौद्रिक नीतिमार्फत सम्बोधन हुनुपर्ने माग संगठित लगानीकर्ताहरूको थियो।
सेयर बजार उचालिँदो उच्च बिन्दुबाट निरन्तर ओरालो लागेकाले धेरैले त्यसलाई स्वाभाविक रुपमा ग्रहण गर्न सकेनन्। नेपालको सेयर बजारमा २०५० साल माघदेखि दोस्रो बजार कारोबार सुरू भएको हो। त्यसयता बजारमा धेरै पटक उल्लेख्य उतारचढाव हुँदै आएको छ। बजारको यस्तो उतारचढावमा हरेक पटक राष्ट्र बैंकको नीतिलाई पनि जोडेर हेरिन्छ।
२०७७ साल साउन २ मा राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरी बजारमा तरलता बढाउने र ब्याजदर घटाउने थुप्रै व्यवस्था गर्यो। त्यसको परिणामस्वरूप सस्तो ब्याजमा प्रशस्त ऋण पाउन सकिने अवस्था सृजना भयो तर कोभिडका कारण अन्य आर्थिक गतिविधि चलायमान नभएकाले त्यो पैसा सेयर बजारमा लगानी भएको थियो।
सेयरको धितोमा मूल्यांकनकाे ७० प्रतिशतसम्म ऋण दिने बाटो पनि त्यही मौद्रिक नीतिले खोलिदिएको थियो। त्यसका जसले कोरोनाकालमा बैंकमा थुप्रिएको पैसा सेयर बजारमा जाने बाटो खुला भएको थियो। दुई वर्षअगाडिको नीतिले अधिकांश क्षेत्रमा बैंकको ऋण खासै बढ्न नसकेका बेला सेयरको धितोमा ऋण लगानी बढेको थियो। सेयरको धितोमा दिइने मार्जिन कर्जामा बैंकको लगानी २०७६ को भन्दा झन्डै ३५ प्रतिशत बढेको थियो।
बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी केन्द्रित गरेपछि सेयर बजार त बढ्यो तर वित्तीय स्थायित्व जोखिमपूर्ण हुँदै गएको बैंकरहरूको निष्कर्ष थियो। २०६५ सालअघि घरजग्गामा लगानी गरेजस्तै गएको बुलमा कतिपय फाइनान्स कम्पनीले सेयरमै मात्र धेरै लगानी गरेका थिए। ठूला र वित्तीय संस्था साथै बलियो भनिएका बैंक पनि सेयरमा लगानी गरेर पैसा कमाउने हुलमा मिसिए। यसले जानअञ्जानमा लगानी गर्ने सोझासिधा लगानीकर्ताको सम्पत्ति अझै बढी जोखिममा धकेलिरहेको थियो।
सोही मौद्रिक नीतिमार्फत खुकुलो नीतिसँगै सेयर बजार उकालो यात्रामा लाग्न सुरु गरेको थियो। ११०० बाट विस्तारै बढ्दै गएको सेयर बजार २०७७ माघ २५ गते १३८६ अंकमा थियो। आर्थिक वर्ष २०७८/०७९ को सुरुवातसँगै त सेयर बजारमा छुट्टै उत्साह देखिएको थियो। २०७८ को भदौ २ गतेसम्म त बजारले ३१९९ अंकको नयाँ कीर्तिमान बनाउँदै उचाइ लिइरहेको थियो।
सेयर बजार उच्च अंकमा जाँदा धेरै पैसा एकैपटक कमाउने र बिलासी वस्तु आयात बढ्न थाल्यो। सेयर बजारको पैसा घरजग्गा, गाडी र विदेश घुमफिरमा गएपछि असर डलर सञ्चितिमा पर्न थल्यो। सोही कारण गत वर्ष साउनमा नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्दै ४/१२ को नीति लिने निर्णय गरेको थियो।
अनियन्त्रित सेयर बजारको उछाललाई नेपाल राष्ट्र बैंकले नियन्त्रण गर्ने मुख्य हतियारको रुपमा मौद्रिक नीतिलाई उपयोग गरेको थियो। यसअघि कोरोना महामारीमा पुँजी बजारलाई उकास्न राष्ट्र बैंक नीतिगत रूपमा लचक बनेको थियो। तर कोरोना महामारी नियन्त्रण भएर आर्थिक गतिविधि बढ्न थालेपछि राष्ट्र बैंकले सेयर धितो कर्जा नियन्त्रणको नीति लिएको थियो।
आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति र तरलता अभावसँगै बजारमा गिरावट सुरु भयो। आर्थिक वर्षमा असार ९ गते बजार वर्षकै न्यून बिन्दु १८४८.२८ सम्म झरेको थियो। अहिले चालु आर्थिक वर्षको साउन ६ गतेसम्मको कारोबारमा बजार २०१७.४६ बिन्दुमा छ।
अहिले नयाँ मौद्रिक नीतिले साना लगानीकर्तालाई सहज हुने गरी केही व्यवस्था गरेको भए पनि बैंकमा निक्षेपको अभावले दबाब नै भएकोले अहिले नै सेयर बजार पुनः बढ्ने र उच्च अंकमा जाने देखिँदैन।
यसअघि नेप्से परिसूचक २०७३ साउनमा त्यस समयको उच्च बिन्दु १८८१.४५ मा पुगेपछि बजारले बियरिस ट्रेन्ड समातेको थियो। ओरालो लागेको बजार २०७६ मंसिर १० गते ११०२.४७ अंकसम्म झरेको थियो। पुराना अनुभव हेर्दा बियरिस ट्रेन्ड समाप्त भएपछि बजार केही समय स्थिर भएरमात्र बुलिस ट्रेन्डतर्फ अघि बढ्छ, जुन अंग्रेजी वर्णमालाको ‘यू’ आकारमा अघि बढ्ने गरेको छ। २०५२ मा उच्चतम बिन्दुमा पुगेर सुरु भएको बियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म र २०६५ को २०६८ सम्म चलेको थियो।