आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

कसिलो मौद्रिक नीतिको तयारीले सेयर बजारलाई मिलेन साथ, के होला आउने साता?

शुक्रबार, साउन ६ २०७९
कसिलो मौद्रिक नीतिको तयारीले सेयर बजारलाई मिलेन साथ, के होला आउने साता?

काठमाडौं- नेपाल राष्ट्र बैंकले दिउँसो ४ बजे आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा शुक्रबारको सेयर बजार ओरालो लागेको छ। पछिल्लो सातादेखि लय देखाइरहेको सेयर बजारमा मौद्रिक नीतिमार्फत थप कसिलो व्यवस्था आउने चर्चासँगै अहिले बजारले साथ नपाएको देखिन्छ।

शुक्रबार २७.२६ अंकले घटेर बजार २०१७.४६ बिन्दुमा झरेको छ। जहाँ १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। 

शुक्रबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीति पेस भइसकेको छ। दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ। अर्थतन्त्रमा दबाब बढेको भन्दै राष्ट्र बैंकले अहिले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको बुझिन्छ। त्यसैले पनि सेयर कर्जाको सीमा लगायत विषयमा लगानीकर्तामाझ दुबिधा देखिन्छ।

यो साता पहिलो कारोबारमा आइतबार १.९३ अंकले बढेको सेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो। मंगलबार १६.२० अंकले बढेर २०४५.६३ बिन्दुमा पुगेको बजारमा बुधबार देखिएको सुधारले थप सकारात्मक संकेत गरेको थियो। बुधबार ४.८९ अंकले बढेर बजार २०५०.५९ बिन्दुमा पुगेको थियो। बिहीबार भने बजार ५.८७ अंकले घटेर २०४४.७२ बिन्दुमा झरेको थियो। 

त्यसअघि लगातार आठ दिनमा १३४.९१ अंकको वृद्धि देखिएको बजार बिहीबार र शुक्रबारको कारोबारमा लगातार घटेको हो। शुक्रबार आउने मौद्रिक नीतिको व्यवस्थापछि आउने साताको बजारको संकेत बुझिने विश्लेषकहरू बताउँछन्। 

अहिले देखिएको अवस्थामा बजारले स्थायी सुधार भेट्न नीतिगत साथ नै मिल्नुपर्ने विश्लेषकहरूको भनाइ छ। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने गरी गरेको व्यवस्था नयाँ आउने मौद्रिक नीतिमा हट्नुपर्ने संगठित लगानीकर्ताहरूको माग छ। 


प्रकाशित : शुक्रबार, साउन ६ २०७९०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend