काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) नै आर्थिक वर्ष २०७९/०८० का लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ। २/३ वर्ष अगाडि जसरी मौद्रिक नीतिको विषयलाई लिएर चर्चा हुन्थ्यो त्यसको सयौं गुणा बढी चर्चा अहिले भइरहेको छ।
अहिले गाउँघरको चौतारी गफदेखि चिया गफमा मौद्रिक नीतिको विषयमा चर्चा हुन्छ। चर्चा हुनुको प्रमुख कारण सेयर बजारमा ५० लाखको प्रत्यक्ष सहभागी भइसकेका छन्।
किन चर्चा भइरहेको छ त मौद्रिक नीतिको? कसरी मौद्रिक नीति चर्चाको विषय भन्यो? के हो मौद्रिक नीति?
सामान्यता आफूद्वारा निर्धारित उद्देश्यहरू प्राप्त गर्नका लागि विभिन्न मौद्रिक उपकरणहरूको प्रयोगबाट केन्द्रीय बैंकले मुद्राको परिमाण, मुद्रास्फीति, ब्याजदर, वित्तीय क्षेत्र स्थायित्व र वाह्य क्षेत्र स्थायित्व कायम गर्नका लागि लिइने नीतिलाई नै मौद्रिक नीति भनिन्छ। साधारण भाषामा, कुनै पनि मुलुकको केन्द्रीय बैंकले गर्दै आएका सम्पूर्ण कार्यहरूलाई नै मौद्रिक नीति भनिन्छ।
आव २०७९/८० को मौद्रिक नीतिको अगाडि धेरै चुनौती र उद्देश्यहरू स्पष्ट देखिन्छ। उदाहरणका लागि मुद्रास्फीति नियन्त्रण गर्नु, बैंकिङ क्षेत्रको ब्याजदरलाई सन्तुलित बनाउनु, विदेशी मुद्राको सञ्चिति बढाइ सोधानान्तर घाटा कम गर्नु यसको उदेश्यहरू हुन्।
सरकारले लिएको आर्थिक वृद्धिदर र मुद्रास्फीतिको लक्ष्यभित्रै रहने गरी मौद्रिक नीति ल्याउने हो। तर आम सेयर लगानीकर्ताले भने बजारमा उत्साह आउन सहयोग गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताइरहेका छन्। आम लगानीकर्तालाई बजारमा सुधार मात्रै चाहिएको छ। तर देशको संकट के हो बुझेका छैनन्।
अहिलेको मुद्दा आइसियूमा पुगेको अर्थतन्त्रलाई बचाउने कि २‐४ वटा उद्योगको मुख हेर्ने भन्ने नै भएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन्। अहिले जीडीपी कति छ। राजस्व कति छ भनेर हेर्ने समय होइन। अर्थतन्त्र जोगाउनुपर्ने बेला आएको उनको भनाइ छ। यसको अर्थ मौद्रिक नीतिमा केही कडाइ अवश्य हुनेछ।
सेयर बजारमा भर्खरै प्रवेश गरेका लगानीकर्ताले समेत अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिपछि बजार घटेको बुझेका छन्।
अघिल्लो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको केही दिनपछि मात्रै बजारले नयाँ रेकर्ड कायम गरेको थियो। बजार ३१९९ को बिन्दुमा पुगेको थियो। कारोबार रकममा पनि मौद्रिक नीतिपछि नै रेकर्ड कायम भएको थियो।
२०७८ को भदौ २ गतेसम्म त बजारले ३१९९ अंकको नयाँ रेकर्ड बनाउँदै उचाइ लिइरहेको थियो। तर आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति र तरलता अभावसँगै बजारमा गिरावट सुरु भयो।
असार ९ गते बजार वर्षकै न्यून बिन्दु १८४८.२८ सम्म झरेको थियो। चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार बजार २००९.४६ मा पुगेर रोकिएको छ।
आर्थिक वर्ष ०७७/०७८ को अन्तिम दिन सेयर बजार पुँजीकरण ४० खर्ब १० अर्ब रहेकोमा यो आर्थिक वर्षको अन्तिम कारोबारको दिन शुक्रबारको बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब झरेको थियो। आर्थिक वर्षभित्र लगानीकर्ताले ११ खर्ब ४१ अर्ब रुपैयाँ गुमाएका थिए।
सम्रगमा चालु आर्थिक वर्षमा बजार ८७३.९२ अंकले गिरावटा आएको हो। २०७७ असार ३१ गते बजार २८८३.४१ मा रोकिएको थियो। चालु आर्थिक वर्षको पहिले दिन सोही अंकबाट बजारमा कारोबार सुरु भएको थियो। चालु आर्थिक वषमा नै एकै दिनमा २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो। मौद्रिक नीति सार्वजनिक भएसँगै बजार विस्तारै घट्न थालेको थियो।
सेयर बजार उच्च अंकमा जाँदा धेरै पैसा एकैपटक कमाउने र बिलासी वस्तु आयात बढ्न थाल्यो। सेयर बजारको पैसा घरजग्गा, गाडी र विदेश घुमफिरमा गएपछि असर डलर सञ्चितिमा पर्न थल्यो। सोही कारण गतवर्ष साउनमा नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्दै ४/१२ को नीति लिने निर्णय गरेको थियो।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गरेको हो। यही सीमाका कारण नै बजार थामिन नसक्नेगरी ओरालो लागेको संगठित लगानीकर्ताहरूको बुझाइ छ। त्यसमा परिवर्तन हुनुपर्ने भन्दै लगानीकर्तासँगै सांसदहरूले समेत निरन्तर सुझाव दिँदै खबरदारीसमेत गरिरहेका छन्।
अनियन्त्रित सेयर बजारको उछाललाई यसअघि नेपाल राष्ट्र बैंकले नियन्त्रण गर्ने मुख्य हतियारको रुपमा मौद्रिक नीतिलाई उपयोग गरेको थियो। यसअघि कोरोना महामारीमा पुँजी बजारलाई उकास्न राष्ट्र बैंक नीतिगत रूपमा लचक बनेको थियो। तर कोरोना महामारी नियन्त्रण भएर आर्थिक गतिविधि बढ्न थालेपछि राष्ट्र बैंकले सेयर धितो कर्जा नियन्त्रणको नीति लिएको थियो।
यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको द्वन्द्वका कारण पनि बजारमा असर गरेको थियो। अर्को बैंकको ब्याजदर बढ्दा पनि बजारलाई असर गरेको थियो। साथै सेयर कर्जाको रिक्स फ्याक्टर १ सय प्रतिशतबाट १ सय ५० प्रतिशत पुर्याउँदा समेत बजारमा गिरावट आएको विश्लेषकहरू बताउँछन्।
यसरी घटेको बजार पुनः नयाँ आउने मौद्रिक नीतिको भरमा रहेको सेयर बुझाइ विश्लेषकहरूको छ। मौद्रिक नीतिबाट ४/१२ को विषय सम्बोधन भएको अवस्थामा बजारमा पुन: उत्साह सुरु हुने विश्लेषकहरू बताउँछन्।
मौद्रिक नीति ल्याउँदा सीडीलाई सीसीडी रेसियो बनाइदिन हो भने पनि बजारमा उत्साह आउने विश्लेषक छोटेलाल रौनियार बताउँछन्। अथवा सीडी रेसियोलाई बढाएर ९५ प्रतिशत बनाउँदा हुने उनको भनाइ छ। सेयर लोनको रिक्स फ्याक्टर १५० गरिएकोमा यसलाई सयमा नै झार्नुपर्ने उनको भनाइ छ।
यसअघि पनि उच्च बिन्दुमा पुगेर बियरिसमा झरेपछि बजारले नयाँ उचाइ लिन समय लागेको थियो। नेप्से परिसूचक २०७३ साउनमा त्यस समयको उच्च बिन्दु १८८० को बिन्दुमा पुगेपछि बजारले बियरिस ट्रेन्ड समातेको थियो। ओरालो लागेको बजार २०७६ मंसिर १० गते ११०२.४७ अंकसम्म झरेको थियो।
यसअघिका अनुभवले बियरिस ट्रेन्ड समाप्त भएपछि बजार केही समय स्थिर भएरमात्र बुलिस ट्रेन्डतर्फ अघि बढ्छ, जुन अंग्रेजी वर्णमालाको ‘यू’ आकारमा अघि बढ्ने गरेको छ। २०५२ मा उच्चतम बिन्दुमा पुगेर सुरु भएको बियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म र २०६५ को २०६८ सम्म चलेको थियो। यसैले अहिलेको उचारचढावको स्थिति सकिएर नयाँ उच्च बिन्दुतर्फ बढ्न नियामकीय साथसँगै केही समय लाग्ने विश्लेषकहरू बताउँछन्।
उत्साहदेखिएको बजार घट्नुमा धेरै कारण भएपनि आम लगानी कर्ताले ४/१२ को सेयर कर्जा सीमालाई बुझेको पू्र्व अर्थ सचिव शंखर प्रसाद अधिकार बताउँछन्। सेयर बजारको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक होइन। तर आम लगानी कर्ताले नेपाल राष्ट्र बैंकले ल्याउने नीति कुरिररहेका उनको भनाइ छ।
लगानीकर्ताले ४/१२ करोड सीमाको सेयर कर्जामा हुन सक्ने परिमार्जन, सेयर कर्जाको रिक्स फ्याक्टर १ बाट १५० प्रतिशत बनाइएको कारण यसको परिमार्जन समेत लगानी कर्ताले खोजेको उनको भनाइ छ। तर बजारमा अब ४/१२ को असर ठूलो नरहेपनि लगानीकर्ताको मनोभावना भने बढ्ने अधिकारी बताउँछन्।
सेयर विश्लेषक छोटेलाल रौनियार पनि ४/१२ करोडको सेयर कर्जा सीमा, सेयर कर्जाको रिक्स फ्याक्टरमा परिमार्जन र नियाकमको सकारात्मक साथ बजारले खोजेको र नेपाल राष्ट्र बैंकले पनि सोहीअनुसार मौद्रिक नीति ल्यानुपर्ने बताउँछन्।