मंगलबार, मंसिर ११ गते २०८१    
images
images

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २ २०७९
images
images
एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो
फाइल तस्बिर।

यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन्। यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा संकलनमा लेकतिर जाने गर्छन्।

images
images

दार्चुला- अपि हिमाल गाउँपालिका-२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन्। उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउँछन्।

images
images
images

पढाइ सामान्य साक्षर मात्र गर्नुभएका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउँछन्। घरमा दुई बुढाबुढी छन्। आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो। खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनी सुनाउँछन्। 'एक महिना यार्सागुम्बा गरेर झण्डै चार लाख कमाइ भयो', उनले भने, 'जङ्गलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुपर्‍यो, त्योबाहेक सानातिना काम गाउँका योजनामा गरिन्छ।' 
 
यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन्। यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा संकलनमा लेकतिर जाने गर्छन्। दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा संकलनमा समेत असर पर्‍यो। यस वर्ष यार्सागुम्बा वैशाखमै संकलन भयो । संकलन गरेकाहरुले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन्। 

images

अपिहिमाल–१ का ललित जाग्रीले भने, 'एक महिना मेहनत गर्‍यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्यमूलक किन जानुपर्‍यो? यार्सागुम्बा मात्र नभई सतुवा, वन लसुनलगायतका थुप्रै जडीबुटी यो क्षेत्रमा पाइन्छन्।'

images

यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुगेका छन्। व्यापारी आफै घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन्। यस वर्ष व्यापारीले प्रतितोला १५ हजारदेखि १८ हजार हालेर यार्सागुम्बा खरिद गरेका छन्। विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन्। यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ। स्थानीय धनसिंह जाग्री जिल्लाभरिबाट अहिले यार्सागुम्बा संकलनको काम भइरहेको बताउँछन्। जिल्लाबाट सबैभन्दा बढी यार्सागुम्बाको व्यापार गर्दै आएका जाग्री यस पटक व्यापारी पनि विगतको तुलनामा गाउँमा बढी पुगेको बताउँछन्। 

यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व संकलन

अपि नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ। दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो। एकदेखि डेढ महिना अपि हिमाल गाउँपालिकाको सातगङ्गा, चाइमेटला, लोलु, रोखापु, धरमघर र काटै तथा व्यास गाउँपालिकाको अपि फेद, दूधीवनलगायतका वनमा यार्सागुम्बा संकलन भएको हो।

जिल्लाबाट यस वर्ष असारसम्म ७२२ किलोग्राम यार्सागुम्बाको छोडपूर्जी जारी भएको छ। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो ३० हजारका दरले कूल दुई करोड १६ लाख ६० हजार राजस्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिए। 

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व संकलन गर्ने गरेको छ। दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा संकलन र निकासी घटेको थियो। यार्सागुम्बा संकलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्वदर अझै बढ्ने अनुमान गरिएको छ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६६९ किलो, २०७४/७५ मा ७६४ किलो, २०७५/७६ मा ५४५ किलो, २०७६/७७ मा ३२७ किलो र २०७७/७८ मा ३०५ किलोग्राम यार्सागुम्बा जिल्लाबाट निकासी भएको थियो। रासस


प्रकाशित : सोमबार, साउन २ २०७९०६:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend