आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

चुक्तापुँजी बढाउन अधिकांश बीमा कम्पनीले रोजे मर्जर, १८ कम्पनी मर्ज हुँदा स्वाप रेसियाे कुनकाे कति?

सोमबार, साउन २ २०७९
चुक्तापुँजी बढाउन अधिकांश बीमा कम्पनीले रोजे मर्जर, १८ कम्पनी मर्ज हुँदा स्वाप रेसियाे कुनकाे कति?

अधिकांश बीमा कम्पनीहरू मर्जरमा जानका लागि असार मसान्तमै सम्भौता गर्न सफल भएका छन्।

काठमाडौ- चुक्तापुँजी वृद्धि गर्न बीमा समितिले निर्देशन दिएसँगै पछिल्लो समय बीमा कम्पनीहरूले धमाधम मर्जरको सम्झौता गरेका छन्। अधिकांश बीमा कम्पनीहरू मर्जरमा जानका लागि असार मसान्तमै सम्भौता गर्न सफल भएका छन्। आइतबारदेखि हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्ज गरेर एकिकृत कारोबार सुरु गरेका छन्। 

बीमा समितिले निर्देशन जारी गर्दै असार मसान्तसम्म बीमा कम्पनीहरूलाई मर्जरमा जाने सम्झौता गर्न निर्देशन दिएको थियो। निर्देशनसँगै हिमालयन र एभरेष्ट इन्स्योरेन्सले १००ः८५ को स्वाप रेसियोमा मर्जर सम्भौता गरेर पहिलो एकिकृत कारोबार गर्ने कम्पनी बनेको छ। 

बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई विभिन्न छुट र सुविधा दिने निर्णय गरेको थियो। साउनदेखि मर्जरमा जानेहरुले सुविधा उपयोग गर्न पाउने छैनन्। गाभिए पश्चात कायम हुने आउने सेयरधनीहरूले दुई वर्षभित्रमा सेयर बिक्री गर्दा लाग्ने आयकर छुट पाउनेछन्। बीमक कम्पनीले गाभिएको दुई वर्षभित्रमा लाभांश वितरण गर्दा त्यस्तो लाभांशमा कर नलाग्ने व्यवस्था समेत रहेको छ।

त्यस्तै, गाभिनेक्रममा कर्मचारीहरू अवकासमा जान चाहेमा एकमुष्ठ भुक्तानी गर्दा अवकास रकममा कर कट्टी गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्थासमेत रहेको निर्देशनमा उल्लेख गरिएको छ। निर्देशनमा २०८० असारमसान्त भित्र मर्जर सम्झौत सम्पन्न हुनेमात्रै सुविधा पाउने समेत उल्लेख गरिएको छ। 

सुविधासँगै बीमा कम्पनीहरू धमाधम मर्जरमा जाने घोषणा गरेका थिए। बीमा समितिले चुक्तापुँजी बढाउने निर्णय गरेसँगै कम्पनीहरू मर्जमा जाने सम्झौता गर्न गरिरहेका छन्। जीवन र निर्जीवन बीमा कम्पनीहरू दुवैले मर्जका लागि जोडि खोज्ने र सम्झौता गर्नेक्रम बढेको थियो। 

समितिले गत चैत १० गते बीमा कम्पनीको चुक्तापुँजी वृद्धिको निर्णय गरेको थियो। बीमा समितिको संचालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन्।

कुन कुन गरे मर्जर सम्झौता ? 

असार ३२ गतेसम्म १८ बीमा कम्पनीले मर्जरमा जाने सम्झौता गरेका छन्। सम्झौताअनुसार मर्जर सफल भएमा ९ वटा कम्पनीमा झर्ने छन्। अहिले रहेका ४१ कम्पनी मध्ये २३ मा झर्नेछन्। अन्य कम्पनीहरु पनि चुक्तापुँजीको दबाबमा रहेकाले मर्जरमै जाने छन्। 

हिमालयन र एभरेष्ट इन्स्योरेन्सले आइतबारदेखि एकिकृत कारोबार सुरु गरेका छन्। त्यस्तै प्रभु र अजोड इन्स्योरेन्सले पनि १००ः७० को अनुपातमा मर्जर सम्झौता गरेका छन्। 

त्यस्तै ज्योति लाईफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने सम्झौता गरिसकेका छन्। दुई कम्पनीबीच डीडीएपछि मात्रै स्वाप रेसियो टुंगो लगाउने सम्झौता गरेका छन्। त्यस्तै सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्यारेन्सले १००ः१०० को अनुपातमा मर्जर सम्झौता गरेका छन्। 

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि बराबरी १००ः१०० को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरिसकेका छन्। त्यस्तै सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीले पनि बराबरी हैसियत १००ः१०० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन्। सानिमा जनरल र जनरल इस्योरेन्स कम्पनीले पनि १००ः१०० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन्। 

यता युनियन लाइफ र गुराँस लाइफले पनि मर्जर सम्झौता गरेका छन्। दुई बीमा कम्पनीले पनि डीडीए प्रतिवेदनपछि मात्रै स्वाप रेसियो टुंगो लगाउने सम्झौता गरेका छन्। यता सिद्धार्थ र प्रिमियर इस्योरेन्सले पनि १००ः१०० अनुपातमा मर्जरमा जाने सम्झौता  गरिरहेका छन्।


प्रकाशित : सोमबार, साउन २ २०७९००:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend