काठमाडौं- सरकारले बैशाख १३ गतेदेखि लगाएको आयातको प्रतिबन्धलाई भदौं १४ गतेसम्म पुर्याउने निर्णय गरेको छ।
सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौं १४ गतेसम्म पुर्याउने निर्णय गरेको हो। जुन राजपत्रमा समेत प्रकाशित भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १० वटा एचएस कोडमा पर्ने वस्तुको आयातमा लगाएको पूर्ण प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो।
देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले १३ बैशाखदेखि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सो निर्णयलाई थप कडाई गर्दै भदौं १४ सम्म पुर्याएको हो।