काठमाडौं- भूकम्पपछि जिर्ण बनेको राष्ट्रिय पुस्तकालयको अवस्थाले आफू चिन्तित रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन्। बुधबार पुस्तकालय बचाउन आह्वान गर्दै भेटमा गएका अभियन्ताहरूसँग राष्ट्रपति भण्डारीले आफ्नो तर्फबाट सबै प्रयास गर्ने बताएकी हुन्।
पुस्तकालयलाई पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावरमा सार्नका लागि राष्ट्रपति भण्डारीले सरकारसँग कुरा गर्ने बताएकी छिन्। उनले राष्ट्रिय पुस्तकालयमा अहिले दयनीय अवस्थामा रहेका पुस्तकहरूलाई अस्थायी रूपमा सुरक्षित राख्नका लागि तत्काल कुनै स्थान खोज्न पहल गर्ने र पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यू टावरबारे आफूले पटक पटक सुझाव दिएको बताएकी छिन्।
भ्यू टावरका रुपमा बसपार्कसहित व्यापारिक मल बन्न लागिरहेको भवनलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न सकिने नसकिने विषयमा केन्द्रिय तथा स्थानिय सरकारसँग छलफल गर्ने समेत उनले बताइन्।
काठमाडौंको प्राकृतिक र साँस्कृतिक वातावरण विग्रिँदै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक तथा साँस्कृतिक सम्पदा जोगाउनको लागि आफू जनप्रतिनिधि हुँदादेखि नै पहल गरिरहेको बताइन्। 'वरपर अग्ला अग्ला भवन बनाउँदै जाने हो भने काठमाडौंको मुटुमा रहेको खुला क्षेत्र टुँडिखेल कचौरा जस्तो हुने आफूलाई अवगत भएको' भन्दै उनले सुधारका लागि पहल गर्ने बताइन्। साथै नागरिकहरूलाई समेत यस्ता विषयमा संवेदनशील तथा सजग रहन अनुरोध गर्दै यस विषयमा आफ्नो नैतिक समर्थन रहेको उनले बताइन्।
२०१३ सालमा सिंहदरबारको सिक्री ढोकामा स्थापना भएको नेपाल राष्ट्रिय पुस्तकालय २०१८ सालदेखि २०७२ को विनाशकारी भूकम्पअघिसम्म ललितपुरको हरिहरभवनको पहिलो तलाको दक्षिणी भागमा रहेको थियो।
हरिहरभवनस्थित नेपाल राष्ट्रिय पुस्तकालय भूकम्पपछि जिर्ण अवस्थामा रहेको छ। जसका कारण त्यहाँ रहेका लाखौँ पुस्तक बेकामे अवस्थामा पुग्ने जोखिम देखिन्छ। कतिपय पुस्तकहरू कामै नलाग्ने भइसकेका छन् भने कतिपय जोगाउन सकिने पुस्तकबारे पनि आवश्यक पहल देखिँदैन। धेरै पुस्तकहरू बोरामा खाँदेर राखिएको छ। पुस्तकालयका लागि नयाँ भवन बनाउनेबारे कुराकानी भइरहे पनि कुनै योजना अघि बढेको छैन।
यसैले पुरानो बसपार्क रहेको ठाउँमा बनिरहेको भ्यू टावरमा पुस्तकालय सार्न सकिने र त्यसले समग्र सामाजिक विकासमा भूमिका खेल्ने भन्दै अभियन्ताहरूले राष्ट्रपतिलाई पहलका लागि आग्रह गरेका हुन्। काठमाडौं भ्यू टावरका नाममा सार्वजनिक सम्पत्ति मास्न नहुने र त्यसलाई सामाजिक प्रयोगका लागि नै उपयोग गर्नुपर्ने भन्दै भ्यू टावर बनाउने विरोधमा रहेका अभियन्ताले अहिले बनेको जति छ त्यही अवस्थामा काम पूरा गरेर त्यसलाई व्यापारिक केन्द्रभन्दा सामाजिक हितमा प्रयोग गर्नुपर्ने बताएका छन्।
'त्यहाँ भ्यू टावर बन्नु हुँदैन भनेर हामीले पहिलेदेखि नै विरोध गर्दै आइरहेका हौँ, निरन्तर आन्दोलन पनि गर्यौँ तर बलजफति अहिले व्यापारिक टावर बनाइँदै छ। जे जति बन्यो त्यतिमा नै छाडेर सार्वजनिक सहजताका लागि स्थानीयले दिएको जग्गा सार्वजनिक हितमा नै प्रयोग होस् भन्ने हाम्रो माग हो। त्यसैले त्यहाँ पुस्तकालय राख्न सकिने बारे हामीले राष्ट्रपतिज्यूको ध्यानाकर्षण गरायौँ' राष्ट्रपतिसँगको भेटपछि अभियन्ता आलोकसिद्धि तुलाधरले भने। आफूहरूको आग्रहमा राष्ट्रपति सकारात्मक रहेको र त्यसबारे प्रधानमन्तीसँग कुरा गर्ने बताएको तुलाधरले सुनाए।
यस्तो छ अभियन्ताहरूले राष्ट्रपतिलाई बुझाएको ज्ञापन पत्र
नेपालको संविधानको धारा ६१(२) ले राष्ट्रपतिलाई मुलुकको राष्ट्राध्यक्ष मानेर सम्पूर्ण नेपालीको अभिभावकत्व सुम्पिएको छ। यही परिप्रेक्षमा राष्ट्रिय पुस्तकालयमा रहेका पुस्तक तथा ऐतिहासिक दस्तावेजहरूको संरक्षण गरि पाठक र शोधकर्ताहरूका लागि तिनको सहज उपलब्धता सुनिश्चित हुने अवस्था सिर्जना गर्ने कार्यको सम्माननीय राष्ट्रपतिज्यूले अभिभावकत्व ग्रहण गरिदिनुहुनेछ भन्ने आशासहित यो निवेदश पेश गरेका छौँ। २०७२ सालको भूकम्पयता सार्वजनिक पुस्तकालयहरूको कस्तो दुरवस्था छ भन्ने कुरा यहाँलाई अवगत नै छ। पुस्तकालय संग्रह तथा ऐतिहासिक अभिलेखहरूको संरक्षणमा यहाँले व्यक्त गर्दै आउनुभएको चासो र लिनुभएको पहलबारे पनि हामी अवगत छौँ। भूकम्पपछिका दिनमा राष्ट्रिय पुस्तकालय भवनको पुनःनिर्माण हुन नसकेकाले पुस्तक र अन्य ऐतिहासिक कागजात राख्ने ठाउँको अभाव हुँदा स्थानान्तरण गरेर बोरा-बोरामा कोचिएका ज्ञानका यी स्रोत क्रमशः नासिँदै गएका छन्। भूकम्प गएको सात वर्ष पुग्न लाग्दा पनि पुस्तकालय भवनको पुनःनिर्माण प्राथमिकतामा पर्न सकेको छैन। यही क्रम जारी रहने हो भने पुस्तकालयमा रहेका ग्रन्थ तथा दस्तावेजहरू नासिएर जाने र यसले हाम्रो राष्ट्रिय ज्ञानको स्रोत नै सुकाउनसक्ने जोखिम टड्कारो छ। राष्ट्रिय पुस्तकालयलाई भवन निर्माण सहित अन्यत्र सार्ने सुझावहरू पनि अलपत्र नै छन्। राष्ट्रिय पुस्तकालयको संग्रहमा तीन सय वर्ष सम्मका पुराना हस्तलिखित ग्रन्थहरू छन्। तीमध्ये अधिकांशमा ढुसी र किरा लाग्न थालेको हामीले बुझेका छौँ। कतिपय कागजात धुजाधुजा भइसकेका छन्। यस्तो अवस्थामा राष्ट्रिय पुस्तकालयलाई तत्कालै नयाँ भवनमा स्थानान्तरण गर्न ढिलो भइसकेको छ। यही परिप्रेक्षमा हामी काठमाडौं रत्नपार्कछेउको सार्वजनिक जग्गामा व्यापारिक भवन निर्माण भइरहेकोतर्फ सम्माननीय राष्ट्रपतिज्यूको ध्यान सविनय आकृष्ट गर्दछौँ। ‘काठमाडौं भ्यू टावर‘ नाम दिइकन त्यस भवनलाई व्यापारिक केन्द्र बनाउनुको सट्टा अहिले सम्म निर्माण भएका संरचनालाई तत्कालै यथास्थितिमा राखी त्यहाँ राष्ट्रिय पुस्तकालय स्थानान्तरण गरि त्यसलाई ‘विद्याको केन्द्र‘ बनाउनु उपयुक्त हुन्छ भन्ने यहाँसमक्ष हाम्रो निवेदन छ। विभिन्न समयमा ‘काठमाडौं भ्यू टावर‘को खिलाफमा स्थानिय बासिन्दा तथा उपत्यकामा खुला क्षेत्र बचाउन लागिपरेका अभियन्ताको आवाज नउठेको होइन, तर यस्मा संघीया, प्रान्तीय तथा स्थानीय निकाय तथा पदाधिकारीहरूको गम्भिर ध्यान नगएको हामीले पायौँ। नेपालमा सार्वजनिक बस सेवा सुरु भएपछिको पहिलो बसपार्क रत्नपार्कछेउ स्थापना भएको थियो। त्यस बसपार्कले काठमाडौं महानगरपालिका वडा नं ३१ मा करिब २४ रोपनी क्षेत्र ओगटेको थियो । स्थानीयवासीहरूको जग्गा अधिग्रहण गरेर तथा केही स्थानीयवासीहरूले स्वस्फूर्त रूपमा दान दिएर जोहो भएको ठाउँमा बसपार्क सञ्चालन हुँदै आएको थियो। राजधानी उपत्यकाको बढ्दो जनघनत्व र सार्वजनिक यातायातको बढ्दो महत्वका कारण यस ‘पुरानो बसपार्क‘ जनसेवा तथा अर्थतन्त्रको लागि महत्वपूर्ण प्राङ्गण बन्न पुग्यो। सार्वजनिक हित सुनिश्चित गर्ने बसपार्क सञ्चालन हुनु राम्रो कुरा हो भन्ने महसुस गरि स्थानीयवासीले आफ्नो जग्गा सार्वजनिक सम्पत्तिका रूपमा रहनेगरि त्यसलाई सरकारको संरक्षण र स्वामित्वमा रहन दिने कुरामा मञ्जुरी जनाएका थिए। तर त्यसको जनसमर्पणको मर्मविपरित वि.सं. २०६८ असार २६ गते बसेको काठमाडौं महानगरपालिकाको १८औं नगर परिषद् बैठकले निजी कम्पनीलाई बसपार्कले ओगटेको क्षेत्रमा व्यापारिक भवन बनाउने अनुमति दियो। वि.सं. २०७१ फागुन २२ गते महानगरपालिकाले एउटा निजी कम्पनीसँग ‘सार्वजनिक–निजी साझेदारी मोडल‘मा २९ तले बहुउद्देश्यीय भवन निर्माणको सम्झौता गर्यो । वि.सं. २०७१ सालको भूकम्प पछि भवन निर्माणका नियम परिवर्तन भएपश्चात सम्झौताका अन्तरवस्तुमा हेरफेर गरि वि.सं. २०७२ भदौमा बसपार्क रहेको खुला क्षेत्रमा बन्ने १२ तले व्यापारिक भवनको नक्सा पास भयो। एउटा प्रयोजनका लागि सर्वसाधारणबाट प्राप्त गरिएका जग्गा अर्को प्रयोजनमा लगाउनु अनुपयुक्त हो। त्यसमाथि भवन निर्माण सम्झौताअनुसार वि.सं. २०७८ साउन ३० गते भवन बनिसक्नुपर्ने थियो। निर्धारित समयसीमा बितिसक्दा पनि निर्माणकार्य आधा पनि पुरा हुन सकेको छैन। बसपार्क परिसरमा निर्माणाधिन भवनमा राष्ट्रिय पुस्तकालय स्थानान्तरण गर्न सके ज्ञानका स्रोतहरूको संरक्षण र संवद्र्धनमा ठूलो टेवा पुग्ने थियो। केशर पुस्तकालय अथवा राष्ट्रिय अभिलेखालयमा रहेका किताब तथा ऐतिहासिक दस्तावेजहरू सङ्ग्रह गर्ने ठाउँको अभाव भए तिनलाई स्थानान्तरित राष्ट्रिय पुस्तकालयमा ल्याएर पाठकमैत्री ढाँचामा सुरक्षित राख्न पनि सकिने थियो। आधुनिक युग सुहाउँदो राष्ट्रिय पुस्तकालयको केन्द्रबिन्दुमा संस्थाको बहुमुल्य संग्रह रहने थियो भने आधुनिक प्राविधि सहित उपत्यका र पुरै मुलुकको लागि यसले काँचुली फेरेर ‘विद्याको केन्द्र‘मा परिणत हुने थियो। यो पुनर्जागरणले वर्तमान समाज, अर्थतन्त्र तथा संस्कृतिलाई टेवा दिने थियो। नयाँ पिडीँको आवश्यकताको सन्दर्भमा राष्ट्रिय पुस्तकालय स्थानान्तरण भए यसबाट काठमाडौंका लाखौं विद्यार्थी र पाठक प्रत्यक्ष लाभान्वित हुने थिए। अहिले राष्ट्रिय पुस्तकालय रहेको ठाउँभन्दा भवन निर्माणाधिन रहेको ठाउँमा शिक्षण संस्थाहरूको संख्या बढी छ। निर्माणाधिन भवनको दुई किलोमिटर वरपर दरबार हाई स्कुल, पद्मोदय स्कुल, रत्नराज्य क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल कलेज, त्रिचन्द्र कलेज, पद्मकन्या क्याम्पस, डिल्लीबजार कन्या मिल्टपल क्याम्पस, विजय मेमोरियल स्कुल आदि छन्। निजी स्कुल तथा कलेजहरूको संख्या पनि ख्याल गर्ने हो भने यस दुई वर्ग किलोमिटरको क्षेत्रमा १२५ वटा शैक्षिक संस्था छन् । यसका अतिरिक्त यस क्षेत्रमा दैनिक हजारौं मानिस ओहोरदोहोर गर्छन् । यस्तो स्थानमा राष्ट्रिय पुस्तकालय स्थानान्तरण गर्न सके यसले शैक्षिक अवस्था सुधार्न र पठन संस्कृति प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गर्ने थियो। बढ्दो शहरीकरण माझ उपत्यका भित्र सार्वजनिक यातायातको लागि अत्यावश्यक बसपार्कलाई अफसोच ‘काठमाडौं भ्यू टावर‘ले विस्थापित गर्न पुग्यो।यसले मोटरसाइकल र कार नभई सार्वजनिक यातायात प्रयोग गर्ने वर्गलाई ठुलो चोट पुगेको छ, जसको चर्चा पर्याप्त भएको छैन। कोभिड महामारीको बेला सार्वजनिक यातायात ठप भएकोले पनि चर्चामा कमि भएको हो, तर महामारीको चाप घट्दै जाँदा सर्वसाधारण माथी यो ठुलो अन्यायको प्रसंग प्रष्ट हुँदै जाने छ। यस निवेदन अन्तर्गत राष्ट्रिय पुस्तकालयलाई ठाउँ दिने क्रममा भुईँतलामा बसपार्कलाई पनि एक हदसम्म पुनः जिवित गर्न सकिन्छ। यी सबै कुरा विचारेर निर्माणाधिन भवनलाई अहिलेकै अवस्थामा रोकी ठेकेदारलाई समुचित क्षतिपूर्ति दिएर भए पनि उक्त भवनमा राष्ट्रिय पुस्तकालय स्थानातरण गर्ने कार्यको अभिभावकत्व लिइदिनु हुनेछ भन्ने विश्वासका साथ सम्माननीय राष्ट्रपतिज्यूसमक्ष यो निवेदन पेश गरेका छौँ। धन्यबाद। निवेदकहरू यज्ञ राज थापा, ललितपूर सुजित मैनाली, काठमाडौं अनिल हिमाल गौतम, काठमाडौं किरण तण्डुकार, बागबजार, काठमाडौं रूपा जोशी, बागबजार, काठमाडौं आलोक सिद्धि तुलाधर, किलागल, काठमाडौं विजय श्रेष्ठ, केल टोल, काठमाडौं सुशील प्याकुरेल संजय अधिकारी, ललितपुर अनुषा ढुंगाना सुसन बैद्य, बागबजार, काठमाडौं कनक मणी दिक्षीत, ललितपुर |