मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

आफूअनुकूल गभर्नर ल्याउन सरकारले परिवर्तन गर्‍यो मापदण्ड, उमेर हद हटाइयो

सोमबार, चैत १८ २०८१
आफूअनुकूल गभर्नर ल्याउन सरकारले परिवर्तन गर्‍यो मापदण्ड, उमेर हद हटाइयो

काठमाडौं- नेपाल राष्ट्र बैंकमा आफूअनुकूल गभर्नर ल्याउनका लागि सरकारले योग्यतासम्बन्धी मापदण्ड नै परिवर्तन गरेको छ। 

'अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी मापदण्ड २०७३' मा संशोधन गरी उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था नै हटाइएको छ। यसबाट ६५ वर्ष नाघेका जोसुकैलाई पनि राष्ट्र बैंकको गभर्नर बनाउने बाटो खुलेको छ। 

मापदण्डको दफा ३ को ‘ग’ मा उमेरसम्बन्धी व्यवस्था तोकिएको थियो। उक्त व्यवस्थाअनुसार मन्त्रालयअन्तर्गतका सार्वजनिक निकायमा कार्यकारी प्रमुख नियुक्तिका लागि ३० वर्ष उमेर पुगी ६५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था रहेको थियो। अहिले त्यो बुँदा नै हटाइएको छ। 

२०८१ साल फागुन २७ गते उक्त मापदण्ड नेपाल सरकारले स्वीकृत गरेको उल्लेख छ। 

राष्ट्र बैंकको २३ गतेपछि रिक्त हुने गभर्नर पदका लागि ६५ वर्ष उमेर कटेका डा. रवीन्द्र पाण्डे र राजेन्द्र किशोर क्षेत्री प्रतिस्पर्धामा छन्।क्षेत्री २०१५ साल कात्तिक ८ गते जन्मिएका हुन्। उनी २०७४ कात्तिक ७ गते मुख्यसचिव पदबाट ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए। 

यस्तै पाण्डे सन् १९५५ मा जन्मेका हुन्। उनी ७ वर्ष राष्ट्र बैंकको कार्यकारी निर्देशकको रूपमा काम गरि १५ वर्षअघि अवकाश पाएका थिए।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको समयावधि यही चैत २४ गते सकिँदै छ। गभर्नर सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समितिसमेत गठन भइसकेको छ। गभर्नर बन्न आधा दर्जन व्यक्ति दौडमा रहेका बेला सरकारले मापदण्ड नै परिवर्तन गरेको हो। 

gover new.jpg
६५ वर्ष उमेर ननाघेको भन्ने बुँदा नै हटाइएको छ।


प्रकाशित : सोमबार, चैत १८ २०८११८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend