मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

गभर्नर बन्ने चर्चामा रहेका नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा

मंगलबार, चैत १२ २०८१
गभर्नर बन्ने चर्चामा रहेका नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा

काठमाडौं- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन्। नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चामा रहेका ढुंगानाले नबिलको सीईओबाट राजीनामा दिएका हुन्। 

गभर्नरको उम्मेद्वार बन्नका लागि नै राजीनामा दिनुपर्ने व्यवस्था रहेकाले आफूले राजीनामा दिएको ढुंगानाले बताए। 'मैले आइतबार नै बैंकको प्रमुख पदबाट राजीनामा दिएको छु। गभर्नरमा सिफारिस हुनका लागि पदबाट राजनीमा दिनुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा रहेकाले राजनीमा दिएको हो',ढुंगानाले बताए।

नेपाल बंगालदेश बैंकलाई नबिल बैंकमा मर्जर गराएयता ढुंगाना बैंकको सीईओ रहँदै आएका थिए। दुई वर्षका लागि पहिलो कार्यकालमा नियुक्त भएका ढुंगाना दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति पाएका थिए।

सरकारले हिजो सोमबार गभर्नर सिफारिस समिति गठन गरिसकेको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको सिफारिस समितिमा अर्थशास्त्री विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका छन्। 
 
राष्ट्र बैंकका पूर्वकर्मचारीसमेत रहेका ढुंगाना चार्टर्ड एकाउन्टेण्ड हुन्। उनी राष्ट्र बैंक छाडेर तत्कालीन एनसीसी बैंक हुँदै नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए। समस्याग्रस्त भइसकेको नेपाल बंगलादेश बैंकलाई सुधार गर्न बंगलादेशी लगानीकर्ता ल्याउन उनले महत्वपूर्ण भूमिका खेलका थिए।

बंगलादेश बैंकमा हुँदै उनी नेपाल बैंकर्स संघको अध्यक्षसमेत भएका थिए। नबिल र बंगादेश बैंक मर्जर गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई नबिल बैंकको सीईओको जिम्मेवारी दिइएको थियो। 

ढुंगाना कांग्रेस पार्टीनिकट छन्। ढुंगानसँगै राष्ट्र बैंकका सञ्चालक रविन्द्र पाण्डे र गुणाकर भट्टलाई पनि कांग्रेसमार्फत गभर्नरको आकांक्षीको रुपमा हेरिएको छ।

यस्तै एमालेबाट डा. प्रकाश श्रेष्ठ, पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल र प्रभु बैंकका सीईओ अशोक शेरचनको चर्चा रहेको छ।

यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीलाई समेत आगामी गभर्नरमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले जोड गरिरहेको स्रोतको दाबी छ।


प्रकाशित : मंगलबार, चैत १२ २०८११२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend