आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

माथिल्लो तामाकोसीको हकप्रद सेयर बिक्री हुँदै, चुक्ता पुँजी पुग्नेछ २१ अर्ब १८ करोड

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३१ २०७९
माथिल्लो तामाकोसीको हकप्रद सेयर बिक्री हुँदै, चुक्ता पुँजी पुग्नेछ २१ अर्ब १८ करोड

काठमाडौं- कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद सेयर बिक्री गर्ने भएको छ। 

कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताका दरले हकप्रद सेयर बिक्री गर्ने भएको हो। 

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजनामध्ये हालसम्मकै यो ठूलो आयोजना हो। उक्त आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएपछि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ। 

विसं २०७८ असार २१ गते उद्घाटन भई गत साउनको दोस्रो सातादेखि नियमितरुपमा सञ्चालन रहेको उक्त आयोजनाले वर्षाकालमा मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउनसमेत सहयोग गरेको छ। 

सोही आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई एक बराबर एक कित्ताका दरले हकप्रद सेयर प्रदान गर्ने निर्णय गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले यही असार ३० गते बसेको सञ्चालक समितिको २५७औँ बैठकबाट हालको चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागिएको जानकारी दिए। 

त्यससम्बन्धी जानकारी कम्पनीको आगामी १४औँ वार्षिक साधारणसभामा स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय भएको उनको भनाइ थियो। कम्पनीले त्यससम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज एवं सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा सनराइज क्यापिटल लिमिटेडलाई गराएको छ। कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ५९ करोड १०० बराबर छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको कूल चुक्ता पुँजी २१ अर्ब १८ करोड २ सय बराबर पुग्ने । 

प्राकृतिक प्रकोप, विभिन्न अवरोधलगायत कारणले आयोजनाको समय र लागत दुवै बढ्न गयो। आयोजनाको सुरुआती लागत ३५ अर्ब २९ करोड हुने भनिएको थियो । त्यसमा ब्याज, अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत विषय समावेश गरिएको थिएन। आयोजना निर्माण सम्पन्न हुँदा ८८ अर्ब बराबरको खर्च भएको छ। कम्पनीको कूल लागत ५२ अर्ब बराबर पुगेको छ । त्यसमा ब्याज र अन्य थप खर्च थप जोड्दा ८८ अर्ब बराबर पुगेको हो। 

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान दुई/दुई प्रतिशत सेयर रहेको छ। यस्तै सर्वसाधारणको १५ प्रतिशत दोलखा जिल्लावासीको १० प्रतिशत तथा २४ प्रतिशत सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको रहेको छ। रासस


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०९:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend