काठमाडौं- सेयर बजारमा लगातार देखिएको हरियालीसँगै बजारप्रतिको विश्वास गुमाइरहेका लगानीकर्तालाई केही राहत मिलेको छ। मंगलबार उतारचढावका बीच ११.६८ अंकको सुधार देखिएको बजारमा बुधबार पनि राम्रो वृद्धि भएको छ।
बुधबार ५९.५४ अंकले बढेर बजार १९८६.८२ बिन्दुमा पुगेको छ। बुधबार २ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजारलाई सहज हुनेगरी कुनै व्यवस्था गर्छ या गर्दैन भन्ने चासो भइरहँदा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन्। बुधबारको संसद बैठकमा गभर्नर अधिकारीमाथि प्रश्न उठेको छ।
प्रतिनिधिसभाको बैठकमा गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग भएको हो। एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ। जसमा छानबिन हुनुपर्ने माग भइरहेको छ।
संगठित लगानीकर्ताको निरन्तरको खबरदारीसँगै बुधबार नै पुन: संसदमा सेयर बजारबारे पनि विषय उठेको छ। कांग्रेस सांसद गगन थापाले सेयर बजारका साना लगानीकर्ताहरूलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिए।
बुधबारको संसद बैठकमा उनले भने- 'सेयर बजारमा सुधार ल्याउने भनेर ४/१२ को नीति ल्याइयो। यसले ठूलालाई पोस्ने सानालाई कस्ने काम भयो। राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याइनुपर्छ। सच्याइएन, यसलाई हटाइएन भने लाखौँ साना लगानीकर्ता सडकमा आइपुग्छन्।'
२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजारबारे प्रश्न संसदमा यसअघि पनि उठिरहेको थियो। विशेष गरी राष्ट्र बैंकले लिने नीतिका विषयमा प्रश्नहरू उठिरहेका छन्। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गरेको हो।
यही सीमाका कारण नै बजार थामिन नसक्नेगरी ओरालो लागेको संगठित लगानीकर्ताहरूको बुझाइ छ। त्यसमा परिवर्तन हुनुपर्ने भन्दै लगानीकर्तासँगै सांसदहरूले समेत निरन्तर सुझाव दिँदै खबरदारीसमेत गरिरहेका छन्।
गभर्नर अधिकारीले सेयर बजारको नियामकीय निकाय छुट्टै भएकाले यस विषयमा आफूले बोल्न नमिल्ने र वर्तमान अर्थतन्त्रको अवस्थाअनुसार मौद्रिक नीति आउने बताइरहेका छन्।
निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा सुधार ल्याउनका लागि नियामकीय सुधारका काम नै हुनुपर्ने विश्लेषकहरू बताउँछन्। पुँजी बजार नियामकहरूको साथ मिल्ने परिस्थिति भने देखिँदैन। विशेष गरी लगानीकर्ताहरू अब आउने मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा देखिन्छन्। सम्भवत: साउन पहिलो साता आउने मौद्रिक नीतिले बजारमा देखिएका अन्य समस्याका साथै पुँजी बजारलाई पनि ध्यान दिने आश उनीहरूमा देखिन्छ।