आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २९ २०७९
आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन आग्रह

आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन सकेमात्र नेपालको व्यापार घाटा कम हुने उनको भनाइ छ।

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

नेपाल निर्यात व्यवसायी महासङ्घले आयोजना गरेको ‘निर्यात प्रवर्द्धनका लागि राजदूत एवम् व्यवसायीबीचको अन्तरक्रिया’ कार्यक्रममा उनले नेपालको निर्यात क्षेत्रलाई विस्तार गरी वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका हुन्। 

'मुलुकमा उत्पादित वस्तुको निर्यातलाई बढाएर विदेशी मुद्रा भित्र्याउनु अहिले देशको मुख्य आवश्यकता हो, सोही कार्यमा विभिन्न देशका नवनियुक्त राजदूतहरु लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु', उनले भने। आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन सकेमात्र नेपालको व्यापार घाटा कम हुने उनको भनाइ छ।

उद्योगमन्त्री बडूले निर्यात प्रवर्द्धनका लागि आवश्यक पर्ने नीतिनियम बनाउन सरकार सधैँ सकारात्मक रहेको उल्लेख गरे। राष्ट्रिय उत्पादन बढाएर निर्यात प्रवर्द्धनमा सरकार सधैँ निजी क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ छ। उनले निर्यात क्षेत्रलाई बढावा दिन सरकारले व्यवसायलाई अनुदान तथा प्रोत्साहनको व्यवस्था गरेको बताए। मन्त्री बडूले नेपालमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे।

महासङ्घका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब आठ अर्बको वस्तु आयत गर्दा निर्यात भने एक खर्ब ४१ अर्बमा सीमित भएको छ। सोही अवसरमा उपस्थित राजदूतले भने नेपालको निर्यात व्यवसायलाई प्रवर्द्धन गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। रासस


प्रकाशित : बुधबार, असार २९ २०७९०७:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend