आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २९ २०७९
किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान

परियोजनाले सुपारीको बोक्रा छोडाउने मेसिन, प्याकेजिङ, कटिङ मेसिन खरिद र गोदाम घर निर्माणका लागि अनुदान उपलब्ध गराएको छ।

झापा- सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ। उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन्। 

विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार सुपारी जोन क्षेत्रका कृषकले आम्दानी बढाउन सकिने कदम चाल्न आग्रह गरेका छन्।  

परियोजनाले चालु आर्थिक वर्ष २०७८/७९ मा सुपारी किसानलाई उत्पादन र बजारीकरणमा सहज तुल्याउने उद्देश्यले प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा सहकारी र व्यक्तिले सञ्चालन गरेको उद्योगमा लगानी गरेको कार्यालय प्रमुख रवीन्द्र सुवेदीले बताए। झापामा २०७५ साउनदेखि सञ्चालनमा आएको सुपारी जोन कार्यक्रमपछि किसान उत्साहित छन्। जोनमा समावेश गरिएको सुपारी बालीमा पूर्वाधार विकास, व्यवसायीकरण एवं प्रशोधनतर्फ केन्द्रित रहेर परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।  

सरकारले प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई समेट्ने गरी ७८८ हेक्टर जमिनमा सुपारी जोन कार्यक्रम सञ्चालन गरेको सुवेदी बताउँछन्। चालु आवमा सुपारी जोनअन्तर्गत दुई सुपारी प्रशोधन उद्योग र दुई सुपारीको पातबाट दुनाटपरी बनाउने उद्योगलाई ५० प्रतिशत अनुदान रहने गरी ८० लाख अनुदान उपलब्ध गराइएको उनले जानकारी दिए। 

विगत ३० वर्षदेखि सुपारी खेती गर्दै आएका मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका केदार रिजाल सुपारी प्रशोधन उद्योग सञ्चालनमा आएसँगै खुसी छन्। उनले परियोजनाको २० लाख तथा आफ्नो २० लाख लगानीमा सुपारी प्रशोधन उद्योग स्थापना गरेका छन्। उनलाई परियोजनाले सुपारीको बोक्रा छोडाउने मेसिन, प्याकेजिङ, कटिङ मेसिन खरिद र गोदाम घर निर्माणका लागि अनुदान उपलब्ध गराएको छ। आफूले मात्र होइन स्थानीयले उत्पादन गरेको सुपारी खरिद गरी प्रशोधन गरेर बजीकरण गर्ने गरेको रिजालले बताए।

 'यो अनुदानले राहत मिलेको छ', उनले भने, 'अब आधुनिक किसिमले प्रशोधन गर्दा जनशक्ति कम लाग्ने र काम गर्न सजिलो भएको छ।' खरिद बिक्री केन्द्र सञ्चालन गर्दै आएका रिजालले मेसिनको सहयोगमा एक घण्टामा १० क्विन्टल सुपारी छोडाउने गरेको बताए। 

परियोजनाले बुद्धशान्ति गाउँपालिका–१ स्थित श्री कृष्ण सुपारी सहकारीलाई २० लाख ५० प्रतिशत अनुदान सहयोग प्रदान गरेको छ। यो जिल्लाकै ठूलो सुपारी प्रशोधन उद्योग हो। सुपारी जोनका अध्यक्ष निलकण्ठ तिवारीका अनुसार जिल्लामा करिब दुई हजार ७०० हेक्टर जमिनमा सुपारी खेती हुँदै आएको छ।

सुपारी जोन कार्यक्रमपछि उत्पादन बढेको छ। किसानले नयाँ प्रविधिबारे ज्ञान हासिल गरेका छन्। यसअघि सरकारले सुपारी जोनका लागि बजेट नछुट्याउँदा काम गर्न नसकिएको तिवारी बताउँछन्। सुपारी जोनका लागि सङ्घीय सरकारसँग सात करोड बजेट माग गरेको अध्यक्ष तिवारीले बताए। सुपारी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन पहल गर्नुपर्ने उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, असार २९ २०७९०४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend