आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सिल प्याक गरिएको पानीको बोतलभित्र भेटियो माकुरो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २८ २०७९
सिल प्याक गरिएको पानीको बोतलभित्र भेटियो माकुरो

'आँखाले देखिने खालका यस्ता फोहोर मिसावट देखिँदा आँखाले नदेख्ने कति फोहोर पानीमा होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ'

भजनी- कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ। आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो।

टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले जानकारी दिए। 'एकजनाले पानीको बोतल माग्नुभयो, हामिले दियौँ, बोतलको पिँधमा माकुरो देखियो', भण्डारीले भने, 'पानीको सिल प्याक बोतलमा माकुरो भेटिएपछि उत्पादक कम्पनीलाई खबर गर्दा त्यसलाई बेवास्ता गर्नुभयो र त्यसलाई स्वीकार गर्नुभएन।'

उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले सिल प्याक पानीभित्र माकुरो देखिनु उपभोक्तामाथिको गम्भीर लापर्बाही भएको बताएका छन्। उनले खानेपानी संस्थाको पानी नखाएर शुद्ध पानीका लागि प्रशोधित पानी पिउने गरेको भए पनि आँखाले देखिने खालको प्रमाणले खानेपानी कम्पनीमाथि प्रश्न उब्जाएको बताए। 

'आँखाले देखिने खालका यस्ता फोहोर मिसावट देखिँदा आँखाले नदेख्ने कति फोहोर पानीमा होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ', अध्यक्ष तिमिल्सिनाले भने, 'यो उपभोक्तामाथिको गम्भीर लापर्बाही हो। यस्ता गलत कार्य गरेर उपभोक्ताको स्वस्थ्यमा खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । होइन भने यस्ता लापर्बाहीका घटना दोहोरिनेमा कुनै शङ्का छैन।'

आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिजका सञ्चालक ओमनारायण महतोले आफूले उत्पादन गरेको पानीमा त्यस्तो हुन नसक्ने बताएका छन्। उनले कसैले आफूमाथि रचेको प्रोपोगान्डा मात्रै भएको भन्दै आफ्नो व्यवसायलाई कमजोर बनाउन खेलिएको खेल भएको बताए। 'कसैले बाहिरैबाट नक्कली सिल लगाएर बनाइएको प्रोपोगान्डा हो। कम्पनीबाट त्यस्तो हुनै सक्दैन', महतोले भने, 'हामीले महिनैपिच्छे खाद्यमा गुणस्तर चेक गर्दै आएका छौँ। पानी बिक्रीमा र गुणस्तरमा हामी सुदूरपश्चिमकै एक नम्बरमा छौँ।'
   
मेडिकल सञ्चालक भण्डारीले उपभोक्ता हित संरक्षण मञ्चलाई हस्तान्तरण गरेको उक्त पानीको गुणस्तर जाँच र आवश्यक कारबाहीका लागि इलाका प्रशासन कार्यालय टीकापुरमार्फत जिल्ला प्रशासन कार्यालय धनगढी पठाइएको छ। रासस


प्रकाशित : मंगलबार, असार २८ २०७९१३:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend