काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्दराज पोखरेलले आर्थिक अवस्थामा सुधार नहुँदासम्म स्थानीय तहदेखि केन्द्रीय सरकारबाट राजनीतिक नेतृत्वलाई दिँदै आएको अनावश्यक सुविधा कटौती गर्न प्रस्ताव गरेका छन्।
काठमाडौंमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पोखरेलले आर्थिक अवस्था खराब हुँदै गएकाले अवस्थामा सुधार नहुँदासम्म सबै सरकारसँगको समन्वयमा सुविधा कटौती गर्नुपर्ने प्रस्ताव गरेका हुन्।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै पोखरेलले यस्तो प्रस्ताव राखेका हुन्।
आर्थिक अवस्था झन खराब हुँदै गएकोतर्फ कांग्रेस तथा सकार गम्भीर हुनुपर्ने बताउँदै पोखरेलले गठबन्धन दलहरूको फिरन्ते आर्थिक नीतिको पछाडि नलागी समयमै कांग्रेसले देश र जनताको दीर्घकालीन हितका लागि फजुल खर्च कटौती, बजेट समयमा र किफायति परिचालन गर्नुपर्ने धारणा राखेका छन्।
अर्थतन्त्रका अधिकांश सूचक खराब रहेको र अहिले सरकारको नेतृत्व गरेकाले कांग्रेस यसमा गम्भीर हुनुपर्ने पोखरेलको मत छ। आयातमा प्रतिबन्ध तथा अन्य उपकरणको प्रयोगबाट पछिल्लो तथ्यांकमा केही सुधार देखिएपनि यो दीगो नभएको उनको भनाइ छ। विदेशी विनिमय सञ्चिति निरन्तर ओरालो लागेको, मूल्यवृद्धि उकालो लागिरहेको तथा चालु खाता घाटा पनि उच्च रहेकाले अर्थतन्त्र जोखिमको डिलमा पुगेको उनको भनाइ छ।
पोखरेलले तीनवटा कारणले अर्थतन्त्र संकटमा जाँदै गरेको प्रष्ट पारेका छन् :
पहिलो– राष्ट्र बैंकले हिजोमात्रै प्रकाशित गरेको तथ्यांक अनुसार गत असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिती रहेकोमा १९.६ प्रतिशतले कमी आई जेठ मसान्तमा ९ अर्ब ४५ करोड डलरमा सीमित भएको छ । विदेशी विनिमय सञ्चिती बढाउनका लागि हामी सवारी साधनदेखी विभिन्न सामाग्रीहरूको आयात बन्देज गरिरहेको अवस्था छ, जुन काम दिगो हैन । मैले यस अघिको बैठकमा पनि विदेशी विनिमय सञ्चिती घट्दै जानु भनेको हामीले भविष्यमा खानेलगाउने सामाग्री आयात गर्न पाउने छैनौ भनेको थिए । आजकै दिनमा त्यो अवस्था त आइसकेको छैन, तर अहिले अन्तराष्ट्रिय र आन्तरिक अवस्था कायम रहि विदेशी विनिमय सञ्चिती नहुने हो भने भोलि धेरै आवश्यक वस्तुको आपुर्ति समेत ठप्प हुने सक्ने सम्भावनलाई नकार्न सकिन्न । भर्खरै अनौपचारिकरुपमा राष्ट्र बैकका साथिहरू संग कुरा कानि गर्दा विदेशी विनिमय सञ्चितीको हिसाबले अर्थतन्त्र अहिले ठिक ढंगले अघि बढीरहेको छैन । यसमा आन्तरिक र बाह्य दुबै कारणहरू छन। दोस्रो– विदेशी विनिमय संचिति सुधार गर्नका लागि निर्यात बढाउने, विदेशी लगानी आकर्षित गर्ने, पर्यटक आगमन सहज बनाउने, रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्र्याउन पहल गर्ने र वैदेशिक सहायता तथा ऋणको उचित परिचालन हुन सकेको छैन । विदेशी विनिमय सञ्चितीको मुख्य स्रोत रेमिट्यान्स धेरै बढ्न सकेको छैन डलरमा। राष्ट्र बैंककै यस आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार जेठ मसान्तसम्म रेमिट्यान्स ७ अर्ब ५१ करोड अमेरिकी डलर मात्रै आएको छ । जुन अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले मात्रै वृद्धि हो । जवकी गत वर्ष १०.५ प्रतिशतले रेमिट्यान्स बढेर आएको थियो । यो सूचकांकले समेत विदेशी विनिमय सञ्चिती थप बढ्ने संकेत गरेको छैन । तेस्रो– पहिलो र दोस्रो मुलुकले विदेशी विनिमय सञ्चिती प्राप्त गर्न नसकेको कुरा भयो । यहाँ कुनै उद्योगी, व्यवसायीले थप लगानी विस्तार गरौँ वा विउँ पुँजी जुटाउ भन्दा बैंकमा पैसा छैन । बैंकिङ क्षेत्रले तरलता संकटको सामना गरिरहेको एक वर्ष पुग्नै लाग्यो र यो अवस्था कम्तिमा अर्को बर्ष पनि कायमै रहन्छ भन्ने धेरै बिज्ञहरूको भनाई छ। यति लामो तरलताको संकट विगतमा कहिल्यै पनि भएको थिएन । पूँजीनै नहुने अलि अलि भएको पूँजी पनि महंगो दरमा ऋण लिनु परिरहेको छ । २०७९ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ७.३४ प्रतिशत र कर्जा ब्याजदर ११.५४ प्रतिशत पुगिसकेको छ । अघिल्लो वर्षको निक्षेपको ४.७२ प्रतिशत र कर्जाको ८.४६ प्रतिशत मात्रै रहेको थियो । यसले पनि यहाँ कसैलाई लगानी विस्तार गर्ने र नयाँ लगानी गरी उद्यमी हुने अवस्था देखाउदैन ।जस्को असर राजश्व संकलन र रोजागरी सिर्जना साथै आयात प्रतिस्थापनका उदेश्यहरूमा देखिने छ। |
तत्कालीन नेकपाको तथा पछिल्लो समय एमाले सरकारका कारणले बिरामी परेको अर्थतन्त्र अहिलेको सरकारले पाएपनि चुनावमा जाँदा जनताले अहिलेकै सरकार देख्ने उनको बुझाइ छ।
'अहिलेको अवस्था झन खराब भयो भने के यस्तै तथ्यांक लिएर हामी चुनावमा जाने हो' पोखरेलले प्रश्न गरेका छन्। अहिलेको अवस्था नेपालभित्रकै कारणभन्दा बाहिरका कारले सिर्जना भएपनि सरकारले आफैले गर्नसक्ने काम पनि नगरेको उनको भनाइ छ।
'केही सुचकांकहरू केही अन्तराष्ट्रिय कारणले पनि भएका हुन । हामी आफ्नै बल, बुता र क्षमताले गर्न सक्ने बजेट खर्च पनि गर्न नसकेकाले सुशासनको कमि प्रस्टै संकेत देखिन्छ । मैले हिजो राती मात्रै महालेखा नियन्त्रकको कार्यालयको वेवसाईट चेक गरेको थिए– अहिलेसम्म पूँजीगत खर्च जम्मा ५० प्रतिशत मात्रै भएको छ । जवकी अब खर्च हुने समय सकिईसकेको छ । यो खर्च गर्न हामीलाई पुर्णरुपमा रुस र युक्रेनको युद्धले रोकेको त अवस्य पनि होईन ? विश्व आर्थिक मन्दीले रोकेको होईन ? विदेशी विनिमय सञ्चिती घटेर रोकेको होईन ? हाम्रो क्षमतामा सुधार पनि भएको हैन । हामीले भूकम्प गएको बेला यहीँ कर्मचारी संयन्त्र परिचालन गरि राम्रा केहि काम गरेको उदाहरण हेर्नुस । भूकम्प भएको बेला समेत त्यती काम भयो भने अहिले किन हुन नसकेको भन्ने मात्रै मेरो प्रश्न हो । यस आर्थिक वर्ष सार्वजनिक खर्च गर्नका लागी न त कोरोना नत हडताल कहिकतै केहीपनि अबरोध नहुँदा समेत पुँजीगत खर्च हुन नसक्नु राम्रो संकेत पक्कै हैन' पोखरेलले उल्लेख गरेका छन्।
अर्थत्नत्र खराब अवस्थामा पुगेपनि सरकार झन् अनुत्तरदायी हुँदै गएको पोखरेलले आरोप लगाउँदे सभापतिस तथा प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन्,'सरकारले हेलिकप्टर समेत खरिद गर्दै छ रे? विदेशी मुद्रा सञ्चितिको यस्तो अवस्थामा के अहिले यस्ता सामाग्रीहरू खरिद गर्ने बेला हो? यसले हामीलाई श्रीलंकाको बाटोमा नडोर्याएर कहाँ लैजान्छ त? हामी सबै मिलेर यसको जवाफ खोजौँ।'