आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बीउ र मल अभावले समयमा भएन रोपाइँ, उत्पादन घट्ने चिन्तामा किसान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २८ २०७९
बीउ र मल अभावले समयमा भएन रोपाइँ, उत्पादन घट्ने चिन्तामा किसान

परम्परागत रैथाने धान भदौ-१५ सम्म खरुवन रोप गर्दा पनि धेरथोर उत्पादन हुने गरेको यहाँका किसान विगत सम्झन्छन्।

महोत्तरी- समयमा राम्ररी खेती लाउन नपाएपछि महोत्तरीका किसान यसपालि धान उत्पादन घट्ने चिन्ताले पिरोलिएएका छन्। बीउ, मलको अभाव र समयमा रोपाइँ सक्न नपाएपछि किसानलाई उत्पादन घट्ने चिन्ता परेको हो ।

जेठ २२ भित्र ब्याड राखी सकेर असारको अन्ततिर रोपाइँ सकिए अपेक्षित उत्पादन हुने किसान बताउँछन् । 'जेठको तेस्रो साताभित्र ब्याड राख्न सकिएर त्यो बीउ असारभरिमा रोप्न पाए समयको खेती हुन्थ्यो', जिल्लाको भङ्गाहा-५ सिद्धपुरका ६० वर्षीय किसान बेचन मण्डल भन्छन्, 'समयमा रोपिएको धानमा पानी, मल र गोडमेलको चाँजो ठिकठिक मिले धान राम्रो फल्छ।' तर यसपालि सुरुमा बीउ, मल नपाइनुले रोपाइँ धकेलिएर सबै खेतमा धान रोप्न नसकिने छाँटले उत्पादन घट्ने चिन्ता परेको मण्डल बताउँछन् ।

जिल्लामा परम्परागत रैथाने धान भदौ-१५ सम्म खरुवन रोप गर्दा पनि धेरथोर उत्पादन हुने गरेको यहाँका किसान विगत सम्झन्छन्। तर दुई दशकयता रैथाने धानको बीउ नै लगभग मासिएको हुँदा विकासे जातका धान असारभरि शाहीरोप (बीउरोप) र साउनभरिमा खरुवन (कलम, पहिलोपटक रोपिएको बीउको रोपो गाँजिएपछि त्यो उखालेर रोपिने बेर्नालाई खरुवन भनिन्छ) रोपीसकेमात्र धान राम्रो फल्ने किसानको अनुभव छ।

'विकासे जातका धान कात्तिकमै पाक्ने हुन्, त्यसैले खरुवनकै रोप पनि साउन २२ भित्र सक्नुपर्छ', बेचनकै छिमेकी परेखन सादा भन्छन्, 'यसपालि त असार सकिनै लाग्दासम्म बीउकै रोप एकतिहाई सकिएको छैन, के गर्ने होला?' धान सामान्यतया बीउ रोपकै खेती भएपनि कहिलेकहिले बीउ राम्ररी नउम्रने, नसप्रिने र बाढीकटानले क्षति गर्ने हुँदा खरुवनले काम चलाउनु परेको किसान बताउँछन्।

जिल्लामा चरणक्षेत्र मासिएर पशुपालन घट्दै गएपछि रासायनिक मलमा निर्भरता बढ्दैछ। खेतीका बेला मल नपाएर राम्ररी खेती लाउन नपाइएको किसान बताउँछन्। यसपालि धान लगाइने जम्मा खेतको एकतिहाई क्षेत्रफलको पनि रोपाइँ अहिलेसम्म नसकिदा उत्पादनमा असर पर्ने बर्दिबास-९ पशुपतिनगरका किसान रामचन्द्र महतो बताउँछन्।

जिल्लामा करिब ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ। जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ (कुलो/नहर) को प्रबन्ध छ। 

जिल्लास्थित कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ भने हालसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको भएपनि अत्तालिनु पर्ने अवस्था नभएको बताउँछन्। यसपालि किसानले बीउ ढिलो राखेका हुँदा बेर्ना साउन १५ सम्म नबुढिने वरिष्ठ कृषि विकास अधिकृत डा. रामचन्द्र यादव बताउँछन्। 'नबुढिएको बीउ (बेर्ना) साउन १५ सम्म रोप्दा हुन्छ, त्यसपछि बीउ अपुग हुँदा खरुवन लगाउन सकिन्छ', डा. यादव भन्छन्, 'अहिले नै आत्तिनु पर्दैन, बीउ रोप्दै जाँदा हुन्छ, साउन १५ सम्मको बीउ रोपले राम्रै उत्पादन दिन्छ।'

किसानले आफ्नै रेखदेखमा बीउ धान पनि उत्पादन र भण्डारण गर्नसक्ने डा. यादवको भनाइ छ।  'किसानले कृषि प्राविधिकको रेखदेख र सल्लाहमा रैथाने जातका धान र अन्य विकासे जातका पनि आफैं बीउ धान उत्पादन र भण्डारण गर्न सक्छन्, अब हामी किसानलाई यो सल्लाह दिन्छौँ।' बीउ आफैं उत्पादन र भण्डारण गर्न सके बजारको कमसल बीउबाट नठगिने र उत्पादन पनि राम्रो हुने डा. यादवको भनाइ छ। 

किसानले आफ्नै ओरपरका सड्ने, गल्ने झारपात, गाईबस्तुको गोबर खाल्डामा राखेर बनाउने कम्पोष्ट मल अत्यन्त उर्वर हुने कृषिविज्ञ बताउँछन्। 'मल पाएन भनेर रोइकराइ गरेर के गर्नु? हाम्रो उत्पादन छैन, अरु देशकै भर हो, त्यसैले किसान आफैंले मल बनाउने तत्परता देखाउन पर्छ' डा. यादव भन्छन्, 'आफैले बनाइएको कम्पोष्ट मलले जग्गाको उर्वरा शक्ति  पछिसम्म कायम राख्छ।' यसबाहेक मधेशमा धान रोपिनुअघि ढैंचा (मलका रुपमा लगाइने वनस्पति) लगाएर खेतमै सडाउन सके राम्रो मल हुने डा. यादवको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, असार २८ २०७९०७:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend