आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

देखिन थाल्यो आयात प्रतिबन्धको प्रभाव, शोधनान्तर घाटाको विस्तार खुम्चियो, जेठमा थपियो डलर सञ्चिति 

सोमबार, असार २७ २०७९
देखिन थाल्यो आयात प्रतिबन्धको प्रभाव, शोधनान्तर घाटाको विस्तार खुम्चियो, जेठमा थपियो डलर सञ्चिति 

राष्ट्र बैंकका अनुसार बैशाखको तुलनामा जेठमा शोधनान्तर घाटाको विस्तार रोकिएको छ भने विदेशी मुद्रा सञ्चिति पनि थपिएको छ।

काठमाडौं- स्वदेशमा विदेशी मुद्राको सञ्चिति न्यून हुँदै गएपछि सरकार तथा केन्द्रीय बैंकले चालेको आयात निरूत्साहनका कदमले काम गर्न लागेको देखिएको छ।

सरकारले बैशाखदेखि केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने राष्ट्र बैंकले गत पुषदेखि नै ती वस्तुको आयात गर्न जाने कर्जामा कडाइ थालेको थियो।  

त्यसको प्रभावस्वरूप जेठ महिनामा आएर केही बाह्य क्षेत्रसँग सम्बन्धित केही सूचकमा सुधार देखिएको हो। राष्ट्र बैंकका अनुसार बैशाखको तुलनामा जेठमा शोधनान्तर घाटाको विस्तार रोकिएको छ भने विदेशी मुद्रा सञ्चिति पनि थपिएको छ। बैशाखमा २ खर्ब ८८ अर्बले घाटामा रहेको शोधनान्तर घाटा जेठमा घटेर २ खर्ब ६९ अर्बमा सीमित भएको छ। 

त्यस्तै यसबीचमा विदेशी मुद्रा पनि थपिएको छ। बैशाखको तुलनामा विदेशी मुद्राको सञ्चिति १७ करोड अमेरीकी डलर थपिएको हो। यससँगै सञ्चितिले आयात धान्नसक्ने क्षमतामा पनि सुधार भएको छ। चालु वर्षको ११ महिनासम्मको तथ्यांकअनुसार आगामी ६.७३ महिनाका लागि आयात धान्नसक्ने विदेशी मुद्राको सञ्चिति कायम भएको छ। बैशाखमा यस्तो क्षमता ६.५ महिना थियो। 

जेठमा सूचकमा सुधार देखिए पनि अझै चालु खाता ५ खर्ब ९५ अर्बले घाटामा छ। गत वर्ष यस्तो घाटा २ खर्ब ९८ अर्ब थियो। 

यो वर्षको ११ महिमा पहिलोपटक अमेरिकी डलरमा रेमिट्यान्सको वृद्धिदर सकारात्मक भएको छ। ११ महिनामा गत वर्षको तुलनामा रेमिट्यान्स ७ अर्ब ५१ करोड अमेरिकी डलर भित्रिएको छ। त्यस्तै नेपाली रुपैयाँमा ३.८ प्रतिशतले बढेर ९ खर्ब ४ अर्ब १८ करोड पुगेको छ।


प्रकाशित : सोमबार, असार २७ २०७९११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend