आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

पोखरा महानगरपालिकाको ८ अर्ब ७७ करोडको बजेट पारित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २६ २०७९
पोखरा महानगरपालिकाको ८ अर्ब ७७ करोडको बजेट पारित

महानगरपालिकाले आगामी वर्ष चालु वर्षको भन्दा २ अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ। चालु आवमा महानगरको बजेट ६ अर्ब ४१ करोड १० लाख थियो।

पोखरा- पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ। गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११औँ नगरसभामा प्रस्तुत गरेको बजेट कार्यक्रम सभामा छलफलपछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए। 

यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विधायन समिति गठन गरेको छ। न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेका छन्। लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट र सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा सदस्यमा चयन भएका छन्। 

विधायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे तथा सदस्यमा राममोहन आचार्य, प्रेम प्रसाद कर्माचार्य, निर्मल दियाली र गङ्गाबहादुर खत्री चयन भएका छन्। नगरसभाले पोखरा महानगरपालिका आकस्मिक कोष स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ। यसैगरी पोखरा महानगरको मध्यमकालिन खर्च संरचना पारित गरिएको प्रमुख आचार्यले बताए।

महानगरको आगामी बजेटका स्रोतमा सङ्घीय सरकार अनुदान दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी तीन अर्व एक करोड रहेको रहेको छ।

यसैगरी सङ्घीय राजस्व बाँडफाँटबाट रु ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँट एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने दुई अर्ब ४० करोड ८१ लाख बजेट चालु आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने महानगरले जनाएको छ।

बजेटमा पूर्वाधार विकासतर्फ चार अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा दुई अर्ब छ करोड ९२ लाख, शिक्षामा एक अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ ५० करोड पाँच लाख, कृषितर्फ १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ ७२ करोड ६० लाख छुट्टाइएको छ। रासस


प्रकाशित : आइतबार, असार २६ २०७९१३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend