आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

श्रीलंकामा आर्थिक संकटको प्रभाव : कार/मोटरसाइकल ग्यारेजमा, यात्रा साइकलमा

आइतबार, असार २६ २०७९
श्रीलंकामा आर्थिक संकटको प्रभाव : कार/मोटरसाइकल ग्यारेजमा, यात्रा साइकलमा

जसका कारण मे महिनाको तुलनामा जुन महिनामा श्रीलंकामा साइकल किन्नेको संख्या १० गुणाले बढेको त्यहाँका एक साइकल पसले भिक्टर परेराले बताएका छन्।

काठमाडौं- दक्षिण एसियाली मुलुक श्रीलंकका अहिले चरम आर्थिक संकटको अवस्थामा छ। देश टाट पल्टिएको घोषणा भइसकेको छ। नागरिकहरूले शनिबार त राष्ट्रपति तथा प्रधानमन्त्रीको निवास नै घेरेर प्रदर्शन गरे। 

श्रीलंकामा अत्यावश्यक वस्तुहरूको आयात गर्नका लागि चाहिने विदेशी मुद्रासमेत छैन। यस्तोमा सरकारले इन्धनको आयात गर्न सक्ने कुरै भएन। त्यसैले अहिले श्रीलंकाका मध्यमवर्गीयहरू आफ्नो कार ग्यारेजमा थन्क्याएर साइकलमा यात्रा गर्न थालेका छन्। 

कार तथा मोटरसाइकल चढ्ने हजारौँ कामकाजी मध्यमवर्गीहरू दैनिक काममा जानका लागि भएको सवारीसाधन थन्क्याएर साइकलमा काममा जान थालेका हुन्। 

श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयता सबैभन्दा कठीन आर्थिक संकटमा परेको छ। श्रीलंकाको विदेशी मुद्रा सञ्चिति करिब शून्यमा झरेको छ। जसका कारण इन्धन त परको कुरा खाद्यान्न, औषधिजस्ता अत्यावश्यक वस्तुसमेत आयात गर्न नसक्ने अवस्था छ। आर्थिक संकटको चपेटामा श्रीलंकाका २ करोड २० लाख जनसंख्यामा परेका छन्।  

श्रीलंकामा डिजेल/पेट्रोलको चरम अभाव छ, जसका कारण चाहेर पनि निजी सवारी साधन चलाउन नसक्ने अवस्था छ। त्यहाँका पेट्रोल पम्पहरूले सातामा निश्चित लिटरमात्र इन्धन दिने गरि कोटा तोकेको छ। त्यसरी तोकिएको कोटामा इन्धन बाँड्न आर्मी तथा प्रहरी परिचालन गरिएको छ। 

करिब दुई सातायता श्रीलंकामा इन्धन आयात हुन नसकेको रोयटर्सले लेखेको छ। इन्धनमात्र होइन सवारीसाधनका लागि चाहिने अन्य कुनैपनि पार्टको आयात हुन सकेको छैन। त्यसैले पनि त्यहाँका मानिसहरू साइकल लिएरै भएपनि काममा निस्कन बाध्य छन्। 

श्रीलंकाका डाक्टर, स्वास्थ्यकर्मीलगायतले नियमित काममा जानका लागि साइकल किन्न थालेका छन्। जसका कारण मे महिनाको तुलनामा जुन महिनामा श्रीलंकामा साइकल किन्नेको संख्या १० गुणाले बढेको त्यहाँका एक साइकल पसले भिक्टर परेराले बताएका छन्।

‘पेट्रोल अभावका कारण मोटरसाइकल चढ्नेले मात्र होइन कार चढ्नेले समेत साइकल चाहिएको बताइरहेका छन्,’ परेराले भनेका छन्, ‘साइकल समेत सीमित संख्यामा उपलब्ध छ। सरकारले साइकल आयातमा पनि प्रतिबन्ध लगाएको छ।’ 


प्रकाशित : आइतबार, असार २६ २०७९०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend