आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

दुग्ध उत्पादक किसानलाई २७ लाख ६९ हजार अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २६ २०७९
दुग्ध उत्पादक किसानलाई २७ लाख ६९ हजार अनुदान

दूध बिक्री गर्ने किसानलाई बिक्री गरेको दूधको परिणामअनुसार सहकारीमार्फत नगरपालिकाले उपलब्ध गराएको अनुदान प्रदान गर्ने गरिएको छ। 

कावासोती- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ६९ हजार रुपैयाँ अनुदानस्वरुप प्रदान गरेको हो। 

कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर १.२५ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ। चालु आर्थिक वर्षमा नगरभित्रका चार सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको शाखा प्रमुख पौडेलले बताए। 

यहाँका चार सहकारीमा सङ्कलन भएको कूल २२ लाख १५ हजार ५३५ लिटर दूध बराबर अनुदान उपलब्ध गराइएको हो। जनकल्याण दुग्ध विकास सहकारी संस्थामार्फत चार लाख आठ हजार ८५५ लिटर, साना किसान कृषि सहकारी संस्थामार्फत नौ लाख नौ हजार ९७७ लिटर, शिवमन्दिर महिला बहुउद्देश्य सहकारीमार्फत एक लाख ५१ हजार ६५४ लिटर र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत सात लाख ४५ हजार ४८ लिटर दूध सङ्कलन भएको थियो। सोही आधारमा प्रत्येक सहकारीलाई प्रतिलिटर १.२५ पैसाका दरले अनुदान उपलब्ध गराइएको हो। दूध बिक्री गर्ने किसानलाई बिक्री गरेको दूधको परिणामअनुसार सहकारीमार्फत नगरपालिकाले उपलब्ध गराएको अनुदान प्रदान गर्ने गरिएको छ। 

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि दूधमा दिने अनुदान थप गरेको छ। हाल प्रदान गरिएको अनुदानमा प्रतिलिटर २५ पैसा थप गरी १.५० पैसा पुर्‍याउन लागिएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए। नगरपालिकाको ११औँ नगरसभामा पारित गरिएको नीति तथा कार्यक्रममा अनुदान वृद्धि गर्ने उल्लेख छ। सोही आधारमा बजेटसमेत विनियोजन गरिएको भुसालले बताए। 

उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख पौडेलले बताए। दुग्ध उत्पादक किसानलाई थोरै भए पनि राहत होस् भनेर अनुदान प्रदान गरिएको उनले बताए। 'किसानलाई केही राहत होस् भनेर नगरले अनुदान दिँदै आएको छ, अनुदानलाई अझ प्रभावकारी बनाउँदै, उत्पादनमा जोड दिने गरी प्रदान गरिएको छ', उनले भने। रासस


प्रकाशित : आइतबार, असार २६ २०७९०७:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend