आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सडक बिग्रिएर भएन पूर्ण क्षमतामा फोहर ढुवानी, फोहर थुपारिएको टेकुमा जीवातु राखेर प्लाष्टिकले छोपियो

आइतबार, असार २६ २०७९
सडक बिग्रिएर भएन  पूर्ण क्षमतामा फोहर ढुवानी, फोहर थुपारिएको टेकुमा जीवातु राखेर प्लाष्टिकले छोपियो

प्लाष्टिकले छोपिएको ट्रान्सफर स्टेशन अहिले दैनिक संकलन भएको फोहरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ।

काठमाडौं- काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ। बर्खाको पानीले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहर ढुवानी हुने सकेको छैन।

महानगर प्रमुख बालेन शाह सचिवालयका सदस्य इञ्जिनियर सुनिल लम्सालका अनुसार सहरमा उत्पादन भएको फोहर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहर छोपिएको हो। यसरी छोपिएको फोहरमा जीवातु हालिएको छ। त्यसमाथि प्लाष्टिकले छोपिएको छ। यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन हुनेछ।

प्लाष्टिकले छोपिएको ट्रान्सफर स्टेशन अहिले दैनिक संकलन भएको फोहरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ। 'आइतबार घाम लागेको छ। यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौँ र स्टेशनमा फोहरको मात्रा घटाउनेछौँ' ईञ्जिनियर लम्सालको भनाइ छ। 

ट्रान्सफर स्टेशनलाई फोहर शून्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको जनाएको छ। ट्रान्सफर स्टेशनलाई फोहर शुन्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो। सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहर बाँकी हुने गरेको छ। यसरी फोहर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन्। यसअघि जैविक फोहरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो। यो विधिबाट फोहरबाट उत्पादन हुने दुर्गन्ध हट्छ। 

महानगरका अनुसार यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो। यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन। निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ। 

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहर ट्रान्सफर गर्ने गरिएको छ। यहाँबाट फोहर संकलन तथा ढुवानीका लागि निस्कने सवारी साधनलाई पानीले पखालेर मात्र निकाल्ने गरिएको छ। बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ।


प्रकाशित : आइतबार, असार २६ २०७९०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend