बिहीबार , असोज ३ गते २०८१    
images
images

चालु आव सकिन सात दिन बाँकी : राजस्व संकलन १० खर्ब ७० करोड

images
शनिबार, असार २५ २०७९
images
images
चालु आव सकिन सात दिन बाँकी : राजस्व संकलन १० खर्ब ७० करोड

सरकारले चालु आवमा कुल ११ खर्ब ८० अर्ब ६० करोड चार लाख रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयका अनुसार हालसम्म कुल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व संकलन भएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व संकलन हुनसकेको छैन। सरकारको दैनिक हिसाब-किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कुल १० खर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको छ।

images
images
images

चालु आव सकिन अब एक साता बाँकी छ। सरकारले चालु आवमा कुल ११ खर्ब ८० अर्ब ६० करोड चार लाख रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयका अनुसार हालसम्म कुल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व संकलन भएको छ।

त्यसमा कर राजस्व कुल नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर संकलन भएको छ। यो कुल लक्ष्यको ८६.७५ प्रतिशत बराबर हो। चालु आवमा १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर कर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै संकलन हुने सरकारको विश्वास छ।

त्यस्तै गैरराजस्व एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७४ अर्ब १९ करोड ७१ लाख बराबर संकलन भएको छ। यो कुल लक्ष्यको ६५.८७ प्रतिशत बराबर हो।

images

कार्यालयका अनुसार सरकारले ५९ अर्ब ९१ करोड ९९ लाख बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा १३ अर्ब ८८ करोड ३३ लाख बराबर प्राप्त भएको छ। कुल लक्ष्यको २३.१७ प्रतिशत बराबर हो।  सबै विवरणका आधारमा हेर्दा सरकारले चालु आवको हालसम्म अर्थात (असार २५ गते) आजसम्म कुल लक्ष्यको ८५.३३ प्रतिशत बराबरको प्राप्त गरेको छ।

त्यस्तै सरकारको खर्चतर्फ कुल लक्ष्यको ७४.३३ बराबर खर्च भएको छ। त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ। चालु आवका कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ। त्यसमध्ये हालसम्म १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाख बराबर खर्च भएको छ। त्यसमा चालु खर्चतर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म नौ खर्ब ३८ अर्ब २० लाख बराबर खर्च भएको छ। यो भनेको कुल लक्ष्यको ८८.०५ प्रतिशत बराबर हो।

यस्तै पुँजीगत खर्च कुल लक्ष्यको ४६.२२ प्रतिशत बराबर भएको छ। विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पुँजीगत खर्चमा उल्लेख्यरूपमा बढोत्तरी हुन नसकेको देखिन्छ। सरकारले तीन खर्च ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म एक खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख बराबर खर्च भएको छ। 

यस्तै सरकारले नियमितरूपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२.४५ बराबर खर्च गरेको छ। चालु आवमा एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ। त्यसमध्ये हालसम्म ९९ अर्ब ३५ करोड ९० लाख बराबर भुक्तानी गरेको छ।

सरकारको तर्फबाट आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ। कुल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात ९१.२ प्रतिशत, पुँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ।

कोभिड–१९ महामारीको विषम परिस्थितिकाबीच हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ। चालु आवमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान छ। जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो।

चालु आव वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड र ऋण एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ। चालु आवमा दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ। रासस


प्रकाशित : शनिबार, असार २५ २०७९१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend