आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

रासायनिक मलको विकल्पमा गड्यौले मल

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार २५ २०७९
रासायनिक मलको विकल्पमा गड्यौले मल

गड्यौले मल जति उत्पादन गरे पनि सहकारीले बजारीकरण गरिँदै आएकाले बिक्री नहुने भन्ने समस्या नरहेको बरु उल्टै मागअनुसार मल उत्पादन गर्न नसकिएको न्यौपाने बताउँछन्। 

वालिङ- स्याङ्जाका कृषकले रासायनिक मलको विकल्पकारुपमा गड्यौले मल प्रयोग गर्न थालेका छन् । खेत रोप्ने समयमा रासायनिक मल नपाएर उत्पादन घट्ने चिन्तामा रहेका कृषकले गड्यौले मललाई विकल्पकारुपमा प्रयोग गर्न थालेका हुन् ।

स्याङ्जाको वालिङ नगरपालिकाभित्रका समूह, सहकारी तथा अगुवा कृषकले रासायनिक मल नपाएपछि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीमार्फत गड्यौले मल खरिद गरी खेतबारीमा प्रयोग गरेका हुन् । वालिङ–६ लालुपातेका अगुवा कृषक रेशमलाल रेग्मीले रासायनिक मल नपाएपछि तरकारी खेतीमा प्रयोग गर्नका लागि गड्यौले मल प्रयोग गरेको बताए। 

“बजारमा रासायनिक मल नपाएपछि तरकारीखेतीको उत्पादनमा कमि आउँछ कि भन्ने भएर त्यसको विकल्पमा गड्यौले मल प्रयोग गरेको हुँ”, उनले भने, “पहिलो वर्ष रासायनिक मलको विकल्पका रुपमा गड्यौले मलको प्रयोग गर्दा उत्पादन राम्रो भयो । अहिले निरन्तररुपमा गड्यौले मल प्रयोग गर्दै आएको छु ।”
 
दुई रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दा रासायनिक मलको विकल्पमा गड्यौले मल मात्रै प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएकाले अहिले तरकारी पकेट कार्यक्रमअन्तर्गत समूहमा सहभागी अन्य कृषकले पनि गड्यौले मलको प्रयोग थालेको उनले बताए। गड्यौले मलको प्रयोगले उत्पादन राम्रो भएसँगै अहिले आफूले पनि घरमै गड्यौला पाल्न थालेको उनले बताए। 

वालिङ–१२ का यवनाथ न्यौपानेले पनि गड्यौलापालन गरेका छन्। उनले घरमै उत्पादन भएको मललाई आफैँले खेतबारीमा प्रयोग गर्नुका साथै बिक्रीसमेत गर्दै आएका छन्। 

गड्यौले मल जति उत्पादन गरे पनि सहकारीले बजारीकरण गरिँदै आएकाले बिक्री नहुने भन्ने समस्या नरहेको बरु उल्टै मागअनुसार मल उत्पादन गर्न नसकिएको न्यौपाने बताउँछन्। 

स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेषगरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै कृषक गड्यौलापालनतर्फ आकर्षित हुँदै गएका छन् । नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘हरित पुनःउत्थान प्रवद्र्धन परियोजना’अन्तर्गत वालिङका १४ वटै वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए। 

मानव स्वास्थ्यलाई ध्यानमा राख्दै कुहिने फोहरलाई गड्यौले अर्गानिक कम्पोष्ट मलमा परिणत गर्दै आइएको  गुरुङले बताए। खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै अर्गानिक कम्पोष्ट मल बनाउन किसानलाई प्रेरित गर्दै गड्यौलापालनका लागि आवश्यक सामग्री, तालिम तथा गड्यौला वितरण गरिएको अध्यक्ष गुरुङले बताए। 

रासायनिक मलको विकल्पकारुपमा समेत गड्यौले मलको प्रयोग बढ्दै गएकाले अहिले गाउँगाउँमा कृषक गड्यौलापालनतर्फ आकर्षित हुँदै गएका छन् । गड्यौले मलको माग बढ्दै गइरहेको छ । लगानी र मेहनत कम लाग्ने तर गड्यौला र मल दुवै बिक्री गरेर दोहोरो फाइदा लिन सकिने भएकाले पनि यसतर्फ कृषकको आकर्षण बढ्दै गएको अध्यक्ष गुरुङ बताउँछन्। 

रासस


प्रकाशित : शनिबार, असार २५ २०७९११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend