सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

सेयर बजारमा देखिएन सुधारको संकेत, साताको अन्तिम कारोबार पनि ओरालोतिरै

शुक्रबार, असार २४ २०७९
सेयर बजारमा देखिएन सुधारको संकेत, साताको अन्तिम कारोबार पनि ओरालोतिरै

काठमाडौं- निरन्तर ओरालोमा देखिएको सेयर बजारमा शुक्रबारको कारोबारमा समेत गिरावट नै आएको छ। बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहेको छ। 

शुक्रबार ३४.७१ अंकले घटेर बजार १९९२.६१ बिन्दुमा झरेको छ। शुक्रबार १ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ।

गएको साता १६६.७ अंकको वृद्धि देखिएको सेयर बजारले सकारात्मक संकेत गरेको थियो। तर यो साता त्यहीअनुरुप बजारले गति लिन सकेन। यो साताभरको अवस्थामा ३६.२ अंकको गिरावट देखिएको छ। 

यो साता पनि आइतबार ५७.६१ अंकले बढेको बजारमा सोमबार व्यापक उतारचढाव भएको थियो। सोमबार चलखेलमा देखिएको बजारमा अन्तिम समयतिर ओरालो लाग्दै ९.७५ अंकले घटेको थियो। मंगलबार ४६.०८ अंकले घटेरको बजार बुधबार १३.३३ अंकले बढेर २०४३.९२ बिन्दुमा पुगेको थियो। बिहीबार १६.६० अंकले घटेर २०२७.३२ बिन्दुमा झरेको बजारमा शुक्रबार पनि गिरावट नै देखियो। 

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको विश्लेषण भइरहेका छन्। पछिल्लो हप्ता देखिएको सुधारले पनि बजारले सकारात्मक बाटोको संकेत गर्न सकेन। यसैले थामिने बिन्दु नभेटिएको बजार अझै चलखेलमा नै रहेको देखिएको विश्लेषकहरू बताउँछन्। 

कुन शुक्रबार बजार कस्तो?

सेयर बजारमा अहिलेसम्म शुक्रबार भएको आठ कारोबारमा एक दिनमात्र बजार बढेको छ। कारोबार रकमका हिसाबले पनि शुक्रबार सुखद हुन सकिरहेको छैन। 

सरकारले जेठदेखि लागुहुने गरी आइतबार बिदा दिएसँगै शुक्रबारसमेत सेयर कारोबार सुरु भएको हो। असारदेखि आइतबारे सार्वजनिक बिदा खारेज भए पनि शुक्रबारसमेत १ बजेसम्म सेयर कारोबार गर्न थालियो। तर हरेक शुक्रबार घटिरहेको सेयर बजारमा लगानीकर्ताको खास चासो देखिँदैन। 

जेठ ६ गते शुक्रबारको पहिलो कारोबारमा सेयर बजार १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको थियो। जहाँ ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँको मात्र कारोबार भएको थियो। 

जेठ १३ गते शुक्रबार १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा झरेको थियो। जसमा १ अर्ब २९ करोड रुपैयाँको कारोबारमात्र भएको थियो। जेठ २० गते शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको थियो। जसमा १ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। 

यसअघि जेठ २७ शुक्रबार १४.६४ अंकले घटेर बजार २०४८.१६ बिन्दुमा झरेको थियो। जसमा ८९ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। 

असारको पहिलो शुक्रबार १ बजेसम्म भएको कारोबार पनि लगानीकर्ताका लागि सुखद हुन सकेन। असार ३ गते शुक्रबार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा झरेको थियो। जहाँ ७३ करोड ६३ लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

असार १० गते शुक्रबार भने १३.७८ अंकले बढेर बजार १८६२.०६ बिन्दुमा पुगेको थियो। जहाँ १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो। 

असार १७ गते शुक्रबार ८.८७ अंकले घटेर सेयर बजार २०२८.७७ बिन्दुमा पुगेको थियो। जहाँ १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो। 


प्रकाशित : शुक्रबार, असार २४ २०७९०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend