सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

लगानीकर्ता विश्वस्त नहुँदा उतारचढावमै देखियो सेयर बजार, थामिने बिन्दु कुन?

बिहीबार , असार २३ २०७९
लगानीकर्ता विश्वस्त नहुँदा उतारचढावमै देखियो सेयर बजार, थामिने बिन्दु कुन?

काठमाडौं- लामो समयदेखि उतारचढावमा रहेको सेयर बजार सुधारको संकेतपछि पनि उही अवस्थामा देखिएको छ। बुधबार सुधार देखिएको बजार बिहीबार पुन: ओरालोतिरै लागेको छ। 

बिहीबार १६.६० अंकले घटेर बजार २०२७.३२ बिन्दुमा झरेको छ। जसमा १ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ। 

यसअघि पनि राजनीतिक अवस्थाले सिधा प्रभाव देखिँदै आएको बजारमा बुधबारको सुधार नियमित प्रक्रियाभन्दा फरक उतारचढावका बीच देखिएको थियो। बुधबारको वृद्धिपछि पनि बजारले अझै थामिने संकेत गर्न सकेन। अहिलेको अवस्थामा उतारचढाव हुँदै बजार १७५० को बिन्दुसम्म झर्नसक्ने विश्लेषकहरू बताउँछन्। 

बुधबार अबेर संसद बैंठकमार्फत अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिइसकेका छन्। अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै उनीबारे छानबिनका लागि संसदीय समितिसमेत बनिसकेको छ। यसले समेत बजारमा प्रभाव परिरहेको विश्लेषकहरू बताउँछन्। 

गएको साता १६६.७ अंकको वृद्धि देखिएको सेयर बजारले सकारात्मक संकेत गरेको थियो। यो साता पनि आइतबार ५७.६१ अंकले बढेको बजारमा सोमबार व्यापक उतारचढाव भएको थियो। सोमबार चलखेलमा देखिएको बजारमा अन्तिम समयतिर ओरालो लाग्दै ९.७५ अंकले घटेको थियो। मंगलबार ४६.०८ अंकले घटेरको बजार बुधबार १३.३३ अंकले बढेर २०४३.९२ बिन्दुमा पुगेको थियो। 

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको विश्लेषण भइरहेका छन्। पछिल्लो हप्ता देखिएको सुधारले पनि बजारले सकारात्मक बाटोको संकेत गर्न सकेन। यसैले थामिने बिन्दु नभेटिएको बजार अझै चलखेलमा नै रहेको देखिएको विश्लेषकहरू बताउँछन्। 

अब आउने मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा लगानीकर्ता रहेका छन्। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्ममात्र लिन सक्ने व्यवस्था गरेको हो। मार्जिन प्रकृतिको यस कर्जामा कडाइ गरेर पुँजी बजार घटाएको भन्दै संगठित लगानीकर्ताहरूले विरोध गर्दै आइरहेका छन्। 


प्रकाशित : बिहीबार , असार २३ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend