आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बुढानिलकण्ठ र एयरपोर्ट रुटमा चल्न थाले साझाका विद्युतीय बस

बिहीबार , असार २३ २०७९
बुढानिलकण्ठ र एयरपोर्ट रुटमा चल्न थाले साझाका विद्युतीय बस

यी बसको परीक्षणमा सरकारी निकायसमेत संलग्न रहेर सञ्चालनयोग्य ठहरिएको र अब बाँकी ३७ वटा बस पनि आउने साझा यातायातले जनाएको छ।

काठमाडौं- साझा यातायातले पहिलो चरणमा ल्याएका तीनवटा विद्युतीय बस सञ्चालनमा आएको छ। बिहीबार बिहानदेखि दुई रुटमा तीनवटा विद्युतीय बस चल्ने छन्। 

साझाको पुल्चोकस्थित कार्यालयबाट बस औपचारिक रुपमा सञ्चालनमा आएको हो। बसमा चालक र सहचालक महिला हुने साझा यातायातले जनाएको छ।

चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा यी बस तयार भएका हुन्। साझाले उक्त कम्पनीसँग ४० वटा विद्युतीय बस खरिद गर्ने सम्झौता गरेको थियो। त्यही अनुसार पहिलो चरणमा आएका तीनवटा विद्युतीय बस परीक्षण गरेर सबै प्रक्रिया पूरा गर्दै पाइलोट प्रोजेक्टको रुपमा सञ्चालनमा ल्याइएको थियो।

यी बसको परीक्षणमा सरकारी निकायसमेत संलग्न रहेर सञ्चालन योग्य ठहरिएको र अब बाँकी ३७ वटा बस पनि आउने साझा यातायातले जनाएको छ। सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँमा किनेको हो। साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ। अहिले नेपाल आएर सञ्चालन थालिएका विद्युतीय बस ९ मिटर लामा छन्। 

अहिले ल्याइएका ३ विद्युतीय बस २५ सिट र सोभन्दा बढी क्षमताका हुन्। साझाका यी विद्युतीय बसहरुमा वाइफाइ, टीभी डिस्प्ले, सीसी क्यामेरालगायतका विशेषता समेत छन्। अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि बसमा छ।

बस आपूर्तिकता कम्पनीले चार्जसहित ५ वर्ष सबैखालको मर्मतको सुविधा दिने गरि खरिद सम्झौता भएको थियो। 

सरकारले साझा यातायातलाई २०७५ पुसमा ३ सय वटा विद्युतीय बस किनेर सञ्चालन गर्न दिने निर्णय गरेको थियो। त्यसका लागि सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको थियो। तर विभिन्न विवादपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो। २०७६ माघमा साझाको खातामा भएको ३ अर्ब रकम ब्याजसहित फिर्ता लिने निर्णय गरेको थियो।

२०७७ माघमा सरकारले फेरि साझालाई ३ अर्ब रुपैयाँ दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो। सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्षसम्म न त बस आयो न सरकारले अर्को बाटो रोज्न सक्यो। 

त्यसपछि सरकारले साझा यातायात मार्फत नै विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेअनुसार नै साझाले सबै प्रक्रिया पुरा गरेर ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो। सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७४ वटा ठूला बस विभिन्न रुटमा सञ्चालनमा छन्। 

साझालाई बस खरिद गर्न केन्द्र सरकारका साथै, काठमाडौं र ललितपुर महानगरपालिका र बागमती प्रदेश सरकारले समेत रकम उपलब्ध गराएका छन्। 

यसअघि कठमाडौं उपत्यकामा निजी क्षेत्रबाट सञ्चालित सुन्दर यातायातले पहिलो पटक विद्युतीय बस सञ्चालनमा ल्याएको थियो। 


प्रकाशित : बिहीबार , असार २३ २०७९०६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend