आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

वित्तीय संकट भोगिरहेको श्रीलंकाका राष्ट्रपतिले रुसी राष्ट्रपतिसँग मागे इन्धन किन्न ऋण

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २३ २०७९
वित्तीय संकट भोगिरहेको श्रीलंकाका राष्ट्रपतिले रुसी राष्ट्रपतिसँग मागे इन्धन किन्न ऋण

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएपछि यसपालि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। देशमा खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ।

कोलम्बो (रासस-एएनआई) - श्रीलंका स्वतन्त्रताको सात दशकमा सबैभन्दा खराब वित्तीय संकटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै  इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गरेका छन्। 

दुई नेताले कोलम्बोले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोगबारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो।

'रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै फलदायी वार्ता भयो। विगतका चुनौतीहरू पार गर्न आफ्नो सरकारले प्रदान गरेको सबै सहयोगको लागि उहाँलाई धन्यवाद दिँदै मैले वर्तमान संकटलाई पराजित गर्न पनि श्रीलंकालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरें' गोटाबायाले भने।   

गोटाबायाले पुटिनलाई श्रीलंकामा रूसी एयरलाइन्स एरोफ्लोट पुनः सञ्चालन गर्न पनि अनुरोध गरेका छन्। ‘पर्यटन, व्यापार लगायत अन्य क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई  थप मजबुत बनाउने कुरामा हामी सहमत भएका छौं' उनले भने। श्रीलंकाको पहलमा उक्त वार्ता भएको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

दुवै राष्ट्रपतिले द्विपक्षीय व्यापार र आर्थिक सहयोगका समसामयिक विषयमा विशेषगरी ऊर्जा, कृषि र यातायातका विषयमा छलफल गरेको बताइएको छ। 

यसवर्ष दुई देशहरू बीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सवको सन्दर्भमा 'परम्परागत रूपमा मित्रवत् रुस-श्रीलंका सम्बन्धको प्रगतिशील विकास भएको छ' विज्ञप्तिमा जनाइएको छ।  

जुन २८ मा पत्रकार सम्मेलन गर्दै श्रीलंकाका सांसद महिन्दानन्द अलुथगामागेले इन्धन खरिदका लागि राष्ट्रपति राजापाक्षे र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तालाई सहज बनाउन श्रीलंकाका लागि रुसी राजदूतले छलफल सुरु गरेको बताएका छन्।

यसै बीच जुन १० पछि निरन्तररूपमा इन्धन आपूर्ति सुनिश्चित गर्न सरकारले बृहत् संयन्त्र बनाएको छ। 

अभूतपूर्व इन्धन संकटको बीचमा श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र राज्य-अनुमोदित निजी विद्यालयहरूको लागि एक हप्ता बिदाको घोषणा गरेको छ। यसअघि पनि १८ जुनमा श्रीलंका सरकारले एक साताका लागि सबै विद्यालय बन्द गर्ने घोषणा गरेको थियो।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएपछि यसपालि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। देशमा खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ।

राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएर रनिल विक्रमासिङ्घेलाई मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त गरेपछि चर्को विरोधले राजनीतिक अस्थिरता निम्त्याएको छ।

टापु राष्ट्र विदेशी ऋण चुक्ताको कारणले गर्दा तीव्र विदेशी मुद्रा संकटमा परेको छ। श्रीलंकाको कुल विदेशी ऋण ५१ बिलियन अमेरिकी डलर रहेको छ।


प्रकाशित : बिहीबार , असार २३ २०७९०६:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend