मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सेयर बजारमा अझै चलखेल? सुधारको संकेत देखिएको बजार 'उचालेर थेचारियो'

अब मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता

सोमबार, असार २० २०७९
सेयर बजारमा अझै चलखेल? सुधारको संकेत देखिएको बजार 'उचालेर थेचारियो'

काठमाडौं- सेयर बजारमा गएको सातादेखि नै निरन्तर देखिएको सुधारले लगानीकर्ताहरूमा विश्वासको वातावरण फर्किएको विश्लेषण भइरहँदा सोमबारको बजारमा व्यापक उतारचढाव देखिएको छ। 

यो साता आइतबार ५७.६१ अंकले बढेको बजारमा सोमबार कारोबारको अन्तिम १५ मिनेट अघिसम्म बजारमा हरियाली देखिएको थियो। तर कारोबारको अन्तिम समयतिर ओरालो लागेको बजार ९.७५ अंकले घट्दै २०७६.६७ बिन्दुमा झरेको छ। जसमा उतारचढावका बीच ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ। 

गएको सातादेखि सुधारमा बढ्दै आइतबारसमेत बजार उचालिएपछि सोमबारसमेत एक समय २१४८ बिन्दुसम्म चढिसकेको थियो। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले बेलाबखत चलखेल गरिरहेका छन्। बजार उचालेर नाफा सुरक्षित गर्दै चलखेल भइरहेको अवस्थामा बियरिस ट्रेन्ड अझै नसकिएको विश्लेषण समेत भइरहेका छन्। 

गएको साताको वृद्धिलाई साथ दिँदै आइतबार देखिएको सुखद अवस्थाले सेयर बजारमा सकारात्मक संकेत गरेको थियो। विश्वासको वातावरण नपाइरहेका लगानीकर्ताको पछिल्लो केही कारोबारमा देखिएको उत्साहले बियरिस ट्रेन्डबाट फर्किएको संकेत गरिरहँदा बजारमा चलखेल देखिएको हो। 

यस्तोमा अहिलेको अवस्थामा मौद्रिक नीतिमार्फत बजारले साथ पाए नयाँ उचाइतर्फ सेयर बजार बढ्ने देखिएको विश्लेषक छोटेलाल रौनियार बताउँछन्। 'मौद्रिक नीति ल्याउँदा सीडीलाई सीसीडी रेसियो बनाइदिन आग्रह भइरहेका छन्। अथवा सीडी रेसियोलाई बढाएर ९५ प्रतिशत बनाउन सुझाव दिइएको छ। सेयर कर्जाको ४/१२ करोडको सीमालाई खारेज गर्ने कुरा पनि उठिरहेका छन्', उनले भने 'लगानीकर्ताको माग बम्मोजिम कामहरू भएमा बजारले अवश्य उचाइ लिनेछ।'

यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी ओरालो लागेको हो। त्यसमा परिवर्तन हुनुपर्ने भन्दै संगठित लगानीकर्ताहरूले निरन्तर सुझाव दिँदै खबरदारीसमेत गरिरहेका छन्। 

निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा सुधार ल्याउनका लागि नियामकीय सुधारका काम नै हुनुपर्ने विश्लेषकहरू बताउँछन्। पुँजी बजार नियामकहरूको साथ मिले बजारले अब विस्तारै गति समात्ने उनीहरूको भनाइ छ। विशेष गरी लगानीकर्ताहरू अब आउने मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा देखिन्छन्। सम्भवत: साउन पहिलो साता आउने मौद्रिक नीतिले बजारमा देखिएका अन्य समस्याका साथै पुँजी बजारलाई पनि ध्यान दिने आश उनीहरूमा देखिन्छ। 


प्रकाशित : सोमबार, असार २० २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend