मंगलबार, जेठ १ गते २०८१    
images
images

चिनियाँ ठेकेदारलाई ५० करोड ‘बोनस’ दिन नमानेपछि आयोजना प्रमुखको सरुवा

images
images
images
चिनियाँ ठेकेदारलाई ५० करोड ‘बोनस’ दिन नमानेपछि आयोजना प्रमुखको सरुवा
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई यातायात क्षमता अभिवृद्धि परियोजनामा चिनियाँ ठेकेदार कम्पनीलाई ५० करोड रुपैयाँ ‘बोनस’ दिन नमानेपछि परियोजनाका प्रमुखलाई नै सरुवा गरेको खुलासा भएको छ। 

images
images
images

चिनियाँ ठेकेदार कम्पनीलाई समयमा नै काम सम्पन्न गरेको लागतको १० प्रतिशत रकम थप बोनस दिन दबाब दिइएको हो। ५० करोड रुपैयाँ तुरुन्त निकासा गर्न तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दबाब दिएका थिए। 

images

दबाब थेग्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई यातायात क्षमता अभिवृद्धि परियोनाका प्रमुख मुरारी भण्डारीलाई सरुवा गरेर नवौँ तहका इन्जिनियर दिपेन्द्र श्रेष्ठलाई प्रमुख बनाएको तथ्य खुलेको छ। 

images

धावन मार्गको कालोपत्रेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबीन गरिरहेकोले तत्काल बोनस रकम नदिने अडान आयोजना प्रमुख भण्डारीले राखेको स्रोतले जानकारी दिएको छ। काम सम्पन्न गरेपछि सरकारले चिनियाँ कम्पनीले जिर्णोद्धार गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्र धमाधम भत्किरहेको छ। 

images
images

विमानस्थलको धावनमार्गको कालपत्रे परिवर्तन गर्ने काम सम्पन्न भएको ६ महिनादेखि नै भत्कन थालेको र अहिले पनि ठाउँ ठाउँमा भत्किरहेको छ। आयोजन प्रमुखले ठेकेदारले समयमै काम सम्पन्न गरे पनि जिर्णोद्धार नगरी बोनस रकम दिन नमिल्ने अडान राखेका थिए। तर महानिर्देशक पोखरेलले उक्त रकम दिलाउन दबाब दिएका थिए। नमानेपछि अहिले उनलाई मुख्य कार्यालय बबरमहल सरुवा गरिएको छ। 

विमानस्थलको तीन किलोमिटर लामो धावन मार्गको कालोपत्रे परिवर्तनको जिम्मा चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो। चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरेको कालोपत्रे निर्माण भएको एक वर्षको अवधीमा दर्जनौँ ठाउँमा धाँजा फाटे पनि पुनर्निर्माण गरेको छैन। 

धावनमार्गमा पानी रसाउन थालेको छ। धावनमार्गको दक्षिणतिरको छेउमा दर्जनभन्दा बढी ठाउँमा पानी रसाइरहेका छन्। पानी रसाएका ठाउँमा मर्मत गर्ने मेसिन (मिलिङ) नै छैन। 

जसका कारण धावनमार्ग चर्किएर बसेको छ। ठेकेदार कम्पनीले दुई वर्ष उक्त मेसिन राखेर बिग्रेको स्थानमा मर्मत गर्नुपर्नेमा मेसिन समेत एकवर्ष अगाडि नै चीन पठाइसकेको समेत तथ्य फेला परेको छ। ठेकेदार कम्पनीले २०७५ चैत १८ गतेबाट धावनमार्गको कालोपत्रे परिवर्तनको काम थालनी गर्दै २०७६ पुसमा सरकारलाई हस्तान्तरण गरेको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले करसहित ४ अर्ब २७ करोड रुपैयाँ खर्च गरेर कालोपत्रे गरेको थियो। प्राधिकरणले विमानस्थल विकास पूर्वाधार कर उठाएको थियो। उक्त शीर्षकको करबाट उठाएको रकमबाट भएको पिच परिर्वनतको काममा गुणस्तरका विषयमा प्रश्न खडा भएको हो। उक्त शीर्षकमा नेपालबाट आउने र जाने प्रत्येक यात्रुसँग एक हजार रुपैयाँ हवाई टिकटमै जोड्ने गरिएको छ। सोही शुल्कले विमानस्थलको मर्मत सम्भार खर्च गर्ने गरिएको छ। 

सन् १९७५ को दशकमा निर्माण भएको धावनमार्गको पिचमा खराबी देखिएसँगै प्राधिकरणले सन् २०१५ मै धानवमार्गको पिच परिवर्तन (रिह्याबिलिटेसन) परियोजनामा काम थालनी गरेको थियो। 

पिच परिवर्तन गर्ने कम्पनीले मर्मतका लागि आवश्यक पर्ने मिलिङ मेसिन चीन नै लगिसकेका कारण मर्मतमा समस्या आएको हो। डिजाइनामा सतहको पानी पाइप राखेर पास गर्ने उल्लेख भए पनि काम गर्दा उक्त प्रविधि नराखिकन ठेकेदार कम्पनीले पिच गरेकोसमेत पाइएको छ। 

ठेक्काको समयमा कम्पनीले दुई मनसुनसम्म धावनमार्गमा देखिएको समस्या समाधान गर्ने भने पनि आवश्यक उपकरण केही पनि नेपालमा नराखेको विमानस्थल स्रोतको भनाइ छ। 

जिओलोजिकल अध्ययनमा पनि विमानस्थलको धावनमार्ग तल्लो सतहमा पानी बढी रहेको ठहर गर्दै डिएलपी (निर्माण सकिएपछि पनि निश्चित अवधिसम्म लिइने मर्मत सम्भारको जिम्मेवारी) आवश्यक रहेको भन्दै सम्झौता भएको थियो। 

पिच परिवर्तनका लागि सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा’ले विमानस्थलको धावनमार्ग सुधारका लागि डिजाइन तय गरेको थियो। तर सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गरेको थियो। परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले धावनमार्ग सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले ४ कम्पनीलाई मात्रै प्राविधिक रुपमा सक्षम भनेर छनोट गरेको थियो।

चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड, चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेड र बेइजिङ चाङ्दो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी थिए। सोही चार कम्पनीबाट चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन छनोट भएको थियो। 

चार वर्षअघि निर्माण सकिनुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम ५० प्रतिशत लागत बढाएर सोही चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनलाई एक वर्ष अगाडि नै जिम्मा दिइएको हो। 

विगतमा स्पेनिस कम्पनीले सन् २०१६ मै सक्ने गरी विमानस्थल विस्तारको काम लिएको थियो। तर सम्पन्न गरिसक्नुपर्ने बेलामा स्पेनिस कम्पनीले १७ प्रतिशत मात्रै काम गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले चार वर्षअघि ठेक्का तोडेको थियो।  

अहिले तिनै कामहरू विगतको ठेक्का रकमभन्दा ५० प्रतिशत बढाएर विभिन्न ठेकेदार कम्पनीलाई जिम्मा दिइएको छ। २० जहाज अट्ने ‘पार्किङ वे’ निर्माणको मुख्य ठेक्का भने चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पाेरेसनलाई ६ अर्ब ९२ करोडमा दिइएको छ।  

विगतमा स्पेनिस कम्पनीले ६ अर्ब १० करोड रुपैयाँमा काम सम्पन्न गर्ने गरी पार्किङ वे, ट्याक्सी वे, टर्मिनल भवन, तीन सय मिटर धावन मार्ग विस्तारको जिम्मा लिएको थियो। 

तीन वर्षपछि भएको नयाँ प्रक्रियाबाट ठेक्का गर्दा ५० प्रतिशत लागत थप भएको छ । अहिले पार्किङतर्फको मात्रै आयोजनामा ६ अर्ब ९२ करोड रुपैयाँमा चिनियाँ कम्पनीलाई ठेक्का दिइएको हो। स्पेनिस कम्पनी एउटैले गर्ने गरी दिइएको कामको जिम्मा अहिले टुक्र्‍याएर ४ ठेकेदारलाई दिइएको छ। 

स्पेनिस कम्पनी एक्लैले ६ अर्ब १० करोडमा लिएको काम टुक्र्याएर विभिन्न ठेकेदारलाई दिँदा ९ अर्ब ७ करोड रुपैयाँ लागत पुगेको छ । यो रकम विगतभन्दा २ अर्ब ९७ करोड रुपैयाँ लागत बढी हो। 

images

प्रकाशित : मंगलबार, असोज १२ २०७८०१:५१
  • सम्बन्धित विषय:

  • # विमानस्थल
  • # नागरिक उड्डयन प्राधिकरण
  • # हवाइसुरक्षा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend