सोमबार, असोज ७ गते २०८१    
images
images

सवारी आवागमनमा असर पार्ने गरी 'होर्डिङ बोर्ड' राख्न नपाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १९ २०७९
images
images
सवारी आवागमनमा असर पार्ने गरी 'होर्डिङ बोर्ड' राख्न नपाइने

सडक तथा सडक पेटीका खम्बा, पुल, आकाशे पुल, सडक किनारका रुख बिरुवा वा सडकको सौन्दर्यमा खलल पार्ने गरी विज्ञापन सामग्री राख्न नपाइने।

images
images

काठमाडौं- अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोष्टर राख्न नपाइने भएको छ। विज्ञापन बोर्डले आइतबार सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने उल्लेख छ।

images
images
images

सडक तथा सडक पेटीका खम्बा, पुल, आकाशे पुल, सडक किनारका रुख बिरुवा वा सडकको सौन्दर्यमा खलल पार्ने गरी विज्ञापन सामग्री राख्न नहुने उल्लेख छ। विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गर्न नहुने आचारसहिंतामा उल्लेख छ।

विज्ञापनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न अन्य कुनै पनि व्यक्तिले विज्ञापन गर्दा वा गराउँदा लैङ्गिक समानता कायम गर्न र सामाजिक विभेद् अन्त्य गर्न आचरणपालना गर्नुपर्ने उल्लेख छ। विज्ञापनमा महिलालाई यौन, भोग्य वस्तु, विलासिता वा मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्न नहुने उल्लेख छ। संवेदनशील अङ्ग प्रदर्शन गर्ने, महिलालाई पुरुषका तुलनामा कमजोर पात्रका रुपमा पस्तुत गर्ने विज्ञापन उत्पादन र प्रकाशन वा प्रशारण गर्न नहुने उल्लेख छ। 

विज्ञापनमा दलित, आदीवासी, जनजाती, मधेसी, मुस्लिम, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्ग, यौनिक अल्पङ्ख्यक वा कुनै वर्ग क्षेत्र सम्प्रदाय वा समुदायको मर्यादामा आँच आउने गरी सामग्री बनाउन नहुने उल्लेख छ। बालबालिकामा डर, त्रास, भय उत्पन्न गर्ने कार्यक्रम, विद्युतीय खेल वा चलचित्रको विज्ञापन गर्न नहुने र उनीहरुलाई होच्याउने र आत्मसम्मानमा चोट पुर्‍याउने विज्ञापन उत्पादन र प्रशारण गर्न नहुने आचारसहिंतामा उल्लेख छ। 

images

विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले कुनै खास एउटै औषधिबाट सम्पूर्ण रोग निवारण हुने वा उपचार हुने, त्यसको ग्यारेन्टी हुने भनी औषधि विज्ञानले प्रमाणित नगरेका झुटा, अवैज्ञानिक विवरणयुक्त विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने उल्लेख छ। मानव अङ्ग बढाउने, उचाइ बढाउने वा शरीरको तौल घटाउने वा बढाउने भनी प्रमाणित नभएका विषयमा पनि विज्ञापनमा रोक लगाइएको छ। 

विभिन्न रङ्ग र कृत्रिम स्वादमा उत्पादित पेय पदार्थबाट हुने हानीको सम्बन्धमा सचेतनामूलक सन्देश समावेश नगरी विज्ञापन दिन नहुने आचारसहिंतामा उल्लेख छ। खाद्य तथा पोषणविद्को सिफारिसबिना खाद्यपुरक वस्तु (माइक्रो न्यूट्रियन्ट) तथा शक्तिबद्र्धक भनी कुनै पनि वस्तुको प्रयोग गर्न उक्साउने, लोभ्याउने खालका विज्ञापन गर्न नहुने उल्लेख छ। 

सहरी तथा स्थानीय सौन्दर्यमा प्रतिकूल असर पार्ने, च्यातिएका, खुइलिइएका वा होर्डिङ बोर्ड वा परीचयपाटी सम्बन्धित व्यक्तिले यथाशीघ्र हटाउनु वा त्यसमा सुधार गर्नुपर्ने उल्लेख छ। सडक पेटीबाट आवातजावतमा असर पुग्ने गरी होर्डिङ बोर्ड राख्न नहुने र धार्मिक, पुरातात्विक स्थानमा त्यहाँको मौलिकता ढाक्ने गरी राख्न नहुने उल्लेख छ। अनुमति दिएका स्थानमा निर्धारित आकार प्रकार र गुणस्तरको मात्रै विज्ञापन राख्न पाइने व्यवस्था रहेको छ। 

सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले विगतमा विज्ञापनले महिलालाई होच्याउने गरेकामा अहिले मिडिया केही संवेदनशील बन्न थालेको उल्लेख गरिन्। आचारसहिंता पूर्ण रुपमा कार्यान्वयनमा आउँदा यी कुरामा अझै कमी आउने उहाँको विश्वास छ। उनले भनिन्, 'आचारसहिंता आउनु आफैँमा सकारात्मक कुरा हो तर राम्रोसँग कार्यान्वन हुन पनि जरुरी छ।' रासस


प्रकाशित : आइतबार, असार १९ २०७९१०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend