शनिबार, वैशाख १५ गते २०८१    
images
images

किवीको नमूना पकेट क्षेत्र श्यामशिलामा, गाउँपालिकाबाट ५० लाख रुपैयाँ सहयोग

images
बिजनेस न्युज
images
images
किवीको नमूना पकेट क्षेत्र श्यामशिलामा, गाउँपालिकाबाट ५० लाख रुपैयाँ सहयोग

जमिनको उत्पादकत्व र भूमिको प्रकारका आधारमा विभिन्न वडामा कृषि पकेट क्षेत्रका कार्यक्रम सञ्चालन भइरहेको छ।

images
images

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ। यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भू-भागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना पकेट क्षेत्रका रूपमा विस्तार थालेको हो।

images
images
images

यहाँका ९० कृषकले पछिल्लो समय ३ सय बढी रोपनी क्षेत्रमा व्यावसायिक किवीखेती गरिरहेका छन्। पकेट क्षेत्र निर्धारण गरेसँगै गाउँपालिकाले कृषकलाई आर्थिक तथा प्राविधिक सहयोगसमेत गरिरहेको छ। यो क्षेत्रमा गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा गरी ५० लाख रुपैयाँ बढी सहयोग गरिसकेको गाउँपालिकाको प्रमुख प्रशाकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। गाउँपालिकाले प्रोत्साहन गरेसँगै उत्सुक भएर किवीखेतीमा लागेको उनको भनाइ छ।

images

उनले भने, 'हामीले किवीको यो क्षेत्रलाई उपयुक्त क्षेत्रका रूपमा लिएका छौँ। यहाँको हावापानी किवीका लागि निकै उपयुक्त छ। हामीले यहाँ कृषकलाई लक्षित गरेर ५० लाख रुपैयाँको हाराहारीमा लगानी गरिसकेका छौँ।'

images

‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिँदै सामूहिक खेतीमा जोड दिने गाउँपालिकाको भनाइ छ।  सामूहिक कृषि गर्ने र बाँझो जमिनमा ठूला कृषिफार्म सञ्चालन गरी राम्रो गर्ने फार्म तथा कृषकलाई प्रोत्साहन गर्दै कृषिमा नमूना बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। जमिनको उत्पादकत्व र भूमिको प्रकारका आधारमा विभिन्न वडामा कृषि पकेट क्षेत्रका कार्यक्रम सञ्चालन भइरहेको राईको भनाइ छ। त्यस्तै गाउँपालिकाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरी विकास भइरहेको उनले बताए।

images
images

अध्यक्ष राईले भने, 'समृद्ध पौवादुङमा बनाउने उद्देश्यले कृषि क्षेत्र, भौतिक निर्माणसँगै समग्र विकासमा जुटेका छौँ। कतिपय कामको नतिजा आउन थालेको छ। खासमा हाम्रो गाउँपालिकाको केही क्षेत्र सुक्खाग्रस्थ छन्। ती क्षेत्रमा पनि प्लाष्टिक टनेलको व्यवस्था गरेर खेती विस्तारमा जोड दिएका छौँ। विषेशगरेर बहुवर्षीय बालीका रूपमा किवीसँगै कागती र एभाकाडोको खेतीलाई पनि प्राथमिकताका साथ विस्तार गरिरहेका छौँ। यी बालीबाट दीर्घकालसम्म आम्दानी लिन सकिन्छ।'

गाउँपालिकाले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि कृषकसमेत उत्साहित भएर किवीखेती गरिरहेका छन्। यहाँका स्थानीयवासी राजेन्द्र तामाङले २५ रोपनी बढी क्षेत्रमा ३ सय बढी किवीखेती गरिरहेको बताए। तामाङले गाउँपालिकासँगको साझेदारी लगानीमा खेती विस्तार गरेको जानकारी दिए। किवीखेतीको लागि सात लाख रुपैयाँ बढी लगानी गरिसकेको उनले बताए। कृषक तामाङले भने, 'मैले तीन–चार चार वर्षअघिबाट खेतीको थालनी गरेको हुँ। सुरुमा मैले आफैँले इलामबाट बिरुवा ल्याएर विस्तार थालेको थिए। अहिले गाउँपालिकाले पकेट क्षेत्र नै निर्धारण गरेर काम थालेको छ। अहिले गाउँपालिकासँगको साझेदारीमा यसको थप विस्तारमा लागेको छु।'

तामाङले किवी लगाएको ठाउँमा तरकारी खेतीसमेत विस्तार गर्ने सोच रहेको बताए। साथै उनले विभिन्न परिकार बनाएर बिक्री गर्ने योजना रहेकोसमेत जानकारी दिए। आफ्नो जग्गाबाहेक अन्य जग्गालाई लिज तथा भाडामा लिएर थप विस्तार गर्ने योजना रहेको पनि सुनाए। 'मैले किवीको भविष्य निकै राम्रो देखेको छु, त्यही सोचेर म खेतीमा लागेको हुँ। अहिले मेरो बगानमा भएको किवीले पहिलोपटक फल दिन थालेको छ। किवी लगाएर बाँकी रहेको ठाउँ तरकारी खेती गर्ने योजना छ। यहाँबाट पनि थप आयआर्जन गर्ने मेरो योजना छ', कृषक तामाङले भने।

गाउँपालिकाले यहाँको भूगोल निर्धारण गरेर विभिन्न बालीहरूको खेतीमा जोड दिएको जनाएको छ। माथिल्लो भेग भएकाले श्यामशिलालाई किवी पकेट क्षेत्र, गाउँपालिकाको वडा नं ३ च्याङग्रे, ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरिएको छ।

त्यस्तै वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको भूगोललाई आलु, बन्दाकोभी र काउलीको खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन्। उपाध्यक्ष राईले भनिन्, 'गाउँपालिकामा हामीले कृषिलाई अलि प्राथमिकता दिएको छौँ। विभिन्न ठाउँमा भूगोलअनुसारका खेती भइरहेका छन्। अबको पाँच वर्षमा यो गाउँपालिकालाई पूर्णरूपमा कृषिमा आत्मनिर्भर बनाउने हामीले लक्ष्य लिएका छौँ।'

स्थानीय देवराज राईले पनि गाउँपालिकाको सहयोगमा किवी व्यावसायिक खेती थालेको जानकारी दिए। गाउँमा किवीखेती अभियानका रूपमा सञ्चालन भइरहेको उनको भनाइ छ। गाउँपालिकाको सहयोगले निम्न आयस्तर भएका कृषकलाई खेतीमा लाग्न मद्दत मिलेको उनको भनाइ छ। कृषक राईले भने, 'किवी गर्ने मेरो पनि सोच थियो, धेरै मात्रामा विस्तार गर्न निकै ठूलो लगानी लाग्ने हुँदा अलिअलि लगाएको थिएँ। गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिएपछि हामीलाई धेरै सहयोग मिलेको छ। यो क्षेत्रका मजस्ता धेरै साथीहरू व्यावसायिक खेतीमा हुनुहुन्छ।'

यहाँका विभिन्न पकेट क्षेत्रमा लगाइएका बालीलाई कृषि प्राविधिकले आवश्यकरूपमा अनुगमन तथा हेरचाह गर्दै आएका छन्। कृषकले लगाएको किवीमा रोग किराबाट बचाउन कृषि प्राविधिकले स्थलगतरूपमा अनुगमनसमेत गर्दै आएको पौवादुङमा गाउँपालिका कृषि शाखा प्रमुख बर्तेन्द राईले बताए।

प्रमुख राईले भने, 'हामीले उहाँहरूलाई अनुदान सहयोग गरेर मात्र पनि भएन। प्रत्येक किसानले लगाएको किवीलगायत बालीको समयअनुसार अनुगमन गर्दै प्राविधिक सल्लाहसमेत दिँदै आएका छौँ। खेती विस्तार भएपछि यसको उचित ढङ्गले हेरचाह आवश्यक हुन्छ। बहुवर्षीय बाली भएकाले एकपटक हुर्काएपछि सामान्यरूपमा  मलजल गरेर दशौँ वर्ष आम्दानी लिन सकिन्छ। त्यही भएर हामीले यहाँका कृषकलाई यसको खेतीमा प्रोत्साहन गरिरहेका छौँ।'

गाउँपालिकाले कृषकलाई आर्थिकरूपमा सक्षम बनाउने लक्ष्यसहित थालेको कृषिको योजनाबद्ध विकास प्रशंसायोग्य रहेको स्थानीयवासीले बताउँदै आएका छन्। योजनाबद्धरूपले कृषिमा थालिएको कामले केही न  केही परिवर्तन आउने उनीहरुको बुझाइ छ। कृषकले उत्पादन गरेका कृषिउपजलाई बजारीकरणमा गाउँपालिकासँगै सरकारले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।

एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन्। जिल्लाको भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नं नागीको लुङ्गिन, वडा  नं ५ को मझौले, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिकालगायत ठाउँमा पनि किसानले किवीखेती गरिरहेका छन्। किवी प्रतिकेजी रु २५० देखि रु ३०० मा बजारमा बिक्री हुने गरेको छ। यसलाई १ हजार ५ सय मिटरदेखि २ हजार ४ सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। रासस

images

प्रकाशित : आइतबार, असार १९ २०७९०६:५३
प्रतिक्रिया दिनुहोस