काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम लगभग सकिएको छ। अबको केही दिनभित्रै विमानस्थलबाट हुने उडान तथा अवतरणका लागि आवश्यक सबै संरचना तयार हुनेछ।
तर विमानस्थल सञ्चालन कहिलेबाट हुन्छ भन्ने विषयमा अन्योल देखिएको छ। विमानस्थल सञ्चालनका लागि दुईवटा अवरोध देखिएको थियो। विमानस्थल नजिकै रहेको ल्याण्डफिल्ड साइट र रिठेपानी डाँडा कटान।
रिठेपानी डाँडा कटानको विषय समाधनको बाटोमा पुगिसकेको छ। डाँडा कटानका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेको छ। अब डाँडा कटानका लागि ठेक्का प्रक्रिया सुरु हुँदैछ।
४० मिटर डाँडा कटान गर्नुपर्ने भएपनि निर्माण सम्पन्न भएको विमानस्थलको क्यालिब्रेसन उडानका लागि १४ मिटर डाँडा कटान भए पुग्छ। यो विषय समाधनउन्मुख छ। तर ल्याण्डफिल्ड साइट सार्ने विषयमा समस्या सुरु भएको छ। विमानस्थलनजिकै रहेको अहिलेको ल्यान्डफिल्ड साइट सार्ने विषय लामो समयदेखि विवादमा परेको छ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत ल्याण्डफिल्ड साइट महानगरपालिकाकै ३३ नम्बर वडाको भरतपोखरीमा सार्ने गरी बजेट विनियोजन गरेसँग यो विषय पुन: विवादमा आएको हो।
महानगरपालिकाले आगामी आवको बजेटमार्फत ल्याण्डफिल्ड साइट सार्न र पूर्वाधार विकासका लागि १० करोड रुपैयाँ विनियोजन गरेको थियो। सोही विषयलाई लिएर स्थानीयले विरोधका कार्यक्रम सुरु गरेका छन्। स्थानीय जनताको विरोधका कारण ल्याण्डफिल्ड साइट सार्ने विषय समयमा टुंगो नलाग्ने हो भने ३० अर्ब रुपैयाँको लागतमा निर्माण भएको विमानस्थल सञ्चालनमा ढिलाइ हुने छ।
ल्याण्डफिल्ड साइट सार्ने विषयको विवाद नयाँ भने होइन। यसअघि पोखरा महानगरपालिकाले महानगरकै २० नम्बर वडामा सार्ने तयारी गरेको थियो। उक्त ठाउँको विषयलाई लिएर विवाद भयो। २० नम्बर वडामा ल्याण्डफिल्ड सार्ने विषयबाट महानगर पछि हट्यो। महानगरले नयाँ ठाउँमा ल्याण्डफिल्ड साइट सार्ने विषयमा ३३ नम्बर वडाको २/३ ठाउँमा अध्ययन गर्यो। तर यसअघि महानगरपालिकाको नेतृत्वमा रहेका मानबहादुर जिसीले कुनै निर्णय गरेनन्। स्थानीय तहको निर्वाचन नजिक आएको र ल्याण्डफिल्ड साइट सार्ने विषयमा ठाउँ नै तोकेर निर्णय गर्दा निर्वाचनको बेला स्थानीयलाई भड्काउने खेल हुनसक्ने हुँदा नयाँ आउने नेतृत्वले काम गर्छ भनेर उनी पछि हटे।
बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी समाजवादीका धनबहादुर आचार्य नेतृत्वमा आए। उनले विमानस्थल सञ्चालनमा सहयोग गर्नुपर्ने दायित्व आफूहरुको नै भएको भन्दै ल्याण्डफिल्ड साइट ३३ नम्बर वडाको भरतपोखरीमा सार्ने निर्णय गर्दै पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरे। उक्त निर्णयसँगै अब विमानस्थल सञ्चालनमा रहेको दुईवटै अवरोध ढिलै भएपनि हट्ने भन्दै खुसीयाली सुरु भएको थियो।
तर महानगरपालिको निर्णय भरतपोखरीका स्थानीयले सरोकारवालासँग छलफल नगरी गरिएको निर्णय भएकोले खारेजीको माग राखेर विरोध सुरु गरेसँगै फेरि ल्याण्डफिल्ड साइट सार्ने विषयमा अन्योल सिर्जना भएको छ।
जसका कारण विमानस्थल सञ्चालनमा समेत असर पर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले भने विमानस्थलबाट ढिलामा सन् २०२३ को नयाँ वर्षकै दिनदेखि व्यवसायिक उडान गर्ने तयारी गरेको छ। ल्याण्डफिल्ड सार्ने विषयमा तत्काल काम नहुने हो भने उक्त मितिबाट विमानस्थल सञ्चालन नहुने अवस्था आउने छ।
यसबाट के प्रश्न उब्जिएको छ भने पोखरेलीले आन्दोलन गरेरै अन्तर्राष्ट्रिय विमानस्थल त पाए। तर विमानस्थल सञ्चालनमा अवरोध देखिएको ल्याण्डफिल्ड साइट सार्ने विषयमा आन्दोलन गर्दा ३० अर्बको लगानीमा बनेको विमानस्थल सञ्चालन हुनबाट रोकिने अवस्था आएको हो।
कसरी विमानस्थल सञ्चालनमा ल्याण्डफिल्ड साइट बाधक बन्दै छ?
नयाँ निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोमिटरको दुरीमा पोखरा महानगरपालिकाले पालिकाभित्रको फोहोर व्यवस्थापन गर्दै आएको छ।
फोहोर व्यवस्थापन भएको ठाउँमा चराको मुभमेन्ट हुन्छ। चराको मुभमेन्ट नयाँ बनेको विमानस्थलमा पनि सहजै देख्न सकिन्छ। विमानस्थलको रनवेदेखि सबै क्षेत्रमा चिललगायत दजनौँ प्रकारका चराको चहलपहल बढी छ। चराको आहाराका लागि ल्याण्डफिल्ड साइट उचित ठाउँ बनिरहेको छ। साथै दुईवटा खोलाको बीचमा विमानस्थल छ। चराहरूले विमानस्थल क्षेत्रलाई नै आउने जाने बाटो बनाइरहेका छन्।
विमानस्थल सञ्चानलका लागि सबैभन्दा पहिलो चराहरूको मुभमेन्ट घटाउनु पर्ने हुन्छ। चराको मुभमेन्ट कम गर्नका लागि सबैभन्दा पहिले ल्याण्डफिल्ड साइट व्यवस्थापन हुनुपर्छ।
ल्याण्डफिल्ड साइट व्यवस्थापन भएपछि अहिलेको चराहरूको मुभमेन्टमा ४० प्रतिशत कम हुने विमानस्थल सञ्चालन तयारीका लागि खटिएको टिमका प्रमुख बिक्रम गौतमले बताए। बाँकी ४० प्रतिशत जनचेतना जगाउने साथै चराहरूको वासस्थान रहेको ठाउँमा व्यवस्थापन गरेर हटाउन सकिने उनको भनाइ छ। थप २० प्रतिशत चराको मुभमेन्ट हटाउन भने विमानस्थल सञ्चालनसँगै आधुनिक प्रविधिसमेत प्रयोग हुने उनको भनाइ छ। तर पहिले अवरोधको रुपमा ल्याण्डफिल्ड साइट रहेको छ। ल्याण्डफिल्ड साइट व्यवस्थापनको विषय ६ महिनादेखि छलफलमै सीमित रहेको उनको भनाइ छ।
विमानस्थल सञ्चालनको तयारीसँगै पोखरालाई हव बनाएर अन्तर्राष्ट्रिय तथा हरेक विमानस्थललाई पोखरासँग जोड्न लागेको बुद्ध एयरले समेत बारम्बार ल्याण्डफिल्ड साइट व्यवस्थापनको विषयमा प्रश्न उठाउँदै आएको छ।
बुद्ध एयरले जबसम्म ल्याण्डफिल्ड साइटको व्यवस्थापन हुँदैन तबसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान असम्भव रहेको बताएका छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले विमानस्थल सञ्चालनको तयारी भइसक्दा पनि विमानस्थल सञ्चालनको मुख्य अवरोध हटाउने विषय अन्योलमा रहँदा सञ्चालनमा ढिला हुने बताएका छन्।
ल्याण्डफिल्ड सार्ने ठाउँको निर्णय पछि पनि सबै प्रक्रिया पूरा गरेर स्थायी संरचना बनाएर नै ल्याण्डफिल्ड साइट बनाउन ६ महिना लाग्ने महानगरपालिकै अनुमान छ। तर अस्थायी संरचना बनाउन सकेको अवस्थामा ३ महिनाबाट फोहोर व्यवस्थापन गर्न सकिने महानगरपालिको दाबी छ। यसमा सबै पक्षको सहकार्य आवश्यक रहेको छ।
विमानस्थल निर्माणको लागत
चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। तर अहिले समय थप गरी २०२२ को जुलाईसम्म काम सक्ने लक्ष्य लिइएको छ। यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ। यसबाहेक पनि प्राधिकरणले जग्गा अधिग्रहण लगायतमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको छ।
आर्थिक वर्ष २०७५/७६ मा नै यो आयोजनको धावनमार्ग, ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। अहिले विमानस्थलभित्र बन्ने टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण काम सम्पन भएसँगै फिनिसिङको समेत भइसकेको छ।
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ।