शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

नेपाली बजारमा गुणस्तर परीक्षण नै नभएका विद्युतीय चुलो, गुणस्तर परीक्षणको मापदण्ड नै छैन

शनिबार, असार १८ २०७९
नेपाली बजारमा गुणस्तर परीक्षण नै नभएका विद्युतीय चुलो, गुणस्तर परीक्षणको मापदण्ड नै छैन

के नेपालमा आयात भइरहेका इन्डक्सन चुलोको गुणस्तर परीक्षण हुन्छ? कस्ता चुलो आइरहेका छन्?

काठमाडौं- नेपाली उपभोक्ताबीच विद्युतीय चुलो लोकप्रिय बन्दै गए पनि बजारमा रहेका कुनै पनि चुलोको गुणस्तर परीक्षण हुने गरेको छैन। इन्डक्सन र इन्फ्रारेड चुलोको प्रयोग बढ्दै गए पनि व्यवसायीहरूले गुणस्तर परीक्षण नै नभएका चुलो आयात गरी बिक्री गरिरहेका छन्। नेपालमा विद्युतीय चुलो परीक्षणको मापदण्ड नबन्दा गुणस्तर परीक्षण नभएका चुलो प्रयोग गर्न उपभोक्ता बाध्य भएका हुन्। 

हाल नेपाली बजारमा आधा दर्जनभन्दा बढी कम्पनीका विद्युतीय चुलो पाइन्छन्। तीमध्ये अधिकांश चिनियाँ ब्रान्डको चुलो आयात भइरहेको छ।

व्यापारीसँगसँगै सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि विद्युतीय चुलो बिक्री गरिरहेको छ। कम्पनीले ४ हजार रुपैयाँमा १९ सय वाटको मिडिया ब्रान्डको चिनियाँ इन्डक्सन चुलो बिक्री गर्दै आएको छ। २०७२ सालमा भारतले नाकाबन्दी गरेका बेला सरकारले पहिलोपटक चिनियाँ इन्डक्सन चुलो आयात गरेर बिक्री गरेको थियो।

केही दिनअगाडि मात्रै इन्डक्सन चुलो प्रयोगकर्ता शारदा शर्माले आफूले प्रयोग गरेको इन्डक्सन चुलोमा आगो लागेको भन्दै सामाजिक सञ्चालमा भिडियो नै पोष्ट गरेकी थिइन्। उनले दुई महिना अगाडिमात्रै महाराजगञ्जको सेल्सबेरीबाट खरिद गरेको बाल्ट्रा कम्पनीको इन्डक्सन चुलोमा आगो लागेको फोटो फेसबुकमा पोष्ट गरेकी हुन्। तर उत्पादन कम्पनीको खराबीका कारण चुलोमा आगो लागेको हो वा विद्युतीय प्रणालीका कारण आगो लागेको हो भन्ने विषय खुलेको छैन।

के नेपालमा आयात भइरहेका इन्डक्सन चुलोको गुणस्तर परीक्षण हुन्छ? कस्ता चुलो आइरहेका छन्? के अन्य देशमा पनि इन्डक्सन चुलोको गुणस्तर परीक्षण हुन्छ वा हुँदैन? के निर्माता कम्पनीले जस्तो गुणस्तरको उत्पादन गरेको छ उही गुणस्तरको सामान आयात गरेर बिक्री गर्न पाइन्छ? 

विद्युतीय चुलोको मापदण्ड नभएको गुणस्तर तथा नापतौल विभागमा लामो समयसम्म महानिर्देशक रहेका र हाल बागमती प्रदेशको उद्योग मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले बताए। 'विद्युतीय चुलो मात्रै नभइ नेपालले आयात गर्ने सबै प्रकारका विद्युतीय उपकरणको निगमनका लागि नेपाल स्टान्डर्ड बनाउनुपर्छ,' पुडासैनीले भने। तर अहिलेसम्म उत्पादक कम्पनीले जुन गुणस्तर भनेर घोषणा गरेका छन्, सोहीअनुसार आयात हुँदै व्यापार भएको उनले बताए।

'एलपी ग्यासको निगमन सुरु भएसँगै ग्यास दुर्घटना कम भएको थियो। अब विद्युतीय चुलोको नियमनका लागि कानूनी व्यवस्था गर्दै नागरिकलाई सुरक्षित हुने आभास दिनुपर्छ,' उनले भने।

सरकारी तवरबाट ग्यासको प्रयोग कम गर्दै विद्युत् खपतका बढाउन भन्दै स्थानीय तहसँगको सहकार्यमा इन्डक्सस चुलो वितरण गर्दै आएको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले सरकारले वितरण गरिरहेको चुलोको गुणस्तर परीक्षणका लागि केही मापदण्ड तयर भएको र अन्तर्राष्ट्रिय मापदण्ड भएका चुलोमात्रै आयात गरेर वितरण गरेको बताए। तर सरकारले आफूले गर्ने कामका लागि मात्रै काम गरेर नपुग्ने उनको भनाइ छ। सरकारले निजी क्षेत्रले ल्याएर व्यापार गर्ने सबै चुलो गुणस्तरमा ध्यान दिँदै सुरक्षित सामानको प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

यसका लागि एउटा ऐनको मस्यौदा तयार भइसकेको पनि उनको भनाइ छ। केन्द्रले वितरण गरेको चुलोमा कुनै गुणस्तको कमजोरी हुन नदिएको उनले बताए। विस्तारै चुलोको प्रयोग बढ्दै जाने हुँदा यसको प्रयोगदेखि व्यापारमा नियमन गर्ने कानून चाहिने उनको भनाइ छ। 'सरकारले गुणस्तर परीक्षण नभएका चुलो खुलेआम व्यापार गर्न दिँदा सुरक्षा प्रश्न उठ्छ,' उनले भने।


प्रकाशित : शनिबार, असार १८ २०७९०९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend