काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक हजारौं स्वदेशी तथा विदेशी नागरिकले विश्वका विभिन्न गन्तव्यबाट नेपाल आवतजावत गरिरहेका हुन्छन्।
यसरी आवतजावत गर्ने यात्रुले लैजाने तथा ल्याउने सामानको चेकजाँच विमानस्थल भन्सार कार्यालयको सुरक्षा निकायको सहयोमा गरिरहेको हुन्छ।
सुरक्षा चेकजाँचका क्रममा भन्सारका कर्मचारी तथा सुरक्षा निकायले अवैध रुपमा नेपालबाट विदेश लैजान र नेपाल भित्र्याउने सामान हरेक दिन जस्तो बरामद गरिरहेको हुन्छन्।
अवैध रुपमा लैजान खोजिएको विदेशी मुद्रा लगायतका बस्तु र लैजान खोज्ने यात्रुलाई समेत नियन्त्रणमा लिएर कानूनअनुसार कारबाही गरिन्छ।
त्यसमा पनि सबैभन्दा बढी विदेशबाट नेपाल फर्कने नेपाली यात्रु तथा विदेशी नागरिकले नेपालको कानूनले तोकेको भन्दा बढी सुन ल्याउने र उनीहरुले ल्याएको सुन नियन्त्रणमा लिइएको सूचना बढी नै हुन्छन्।
विमानस्थल भन्सार कार्यालयले पनि अवैध रुपमा सुन ल्याउने नेपाली तथा विदेशी नागरिक र उनीहरुले ल्याएको सुन नियन्त्रणमा लिइरहेको छ। सरकारले विदेशबाट आउँदा ल्याउन पाउने सुनको परिमाण तोकेको छ।
तर अवैध रुपमा सुन ल्याउने हरेक दिन नयाँ नयाँ उपाय रचिरहेको हुन्छन्। जुन सुकै उपाय रचेपनि सुन सहजै विमानस्थलबाट बाहिर लैजान भने नसिकने विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराई बताउँछन्।
विमानस्थलमा चेकजाँचका लागि प्रयोग भएका उपकरणबाटै कुन व्यक्तिले के समान ल्याएको सहज थाह पाउने सकिने उनको दाबी छ। अझ सुन, चाँदी, हिरा जस्ता धातु त चेकजाँचका लागि प्रयोग गरिएको उपकरणबाट सहजै थाह पाउने उनको भनाइ छ।
भट्टराईको भनाइलाई सत्य मान्न सकिने आधारहरु पनि तयभएको छ। विमानस्थल भन्सार कार्यालयले बैशाख ७ गतेदेखि असार १८ गते शनिबारसम्म अवैध रुपमा लुकाइछिपाइ ल्याइएको सुन नियन्त्रणमा लिइएको घटनाबाट पनि सहज रुपमा नै विमानस्थल हुँदै ल्याइएको सुनको सहजै फेला पर्छ।
तस्करले प्रयोग गरेका ६ जुक्ति जुन भन्सारले थाह पायो
१. असार १७ गते शुक्रबार बेलुका नेपाल एयरलाइन्सको जहाज मार्फत बैंककबाट नेपाल आएका व्यक्त्रिले ल्याएको सुटकेशको ह्याण्डिलमा चेकजाँचको क्रममा सुन जस्तो बस्तु रहेको शंका गरे।
भन्सारका कर्मचारीले नयाँ सुटकेश खोलेर हेर्न थाले। हेर्ने क्रममा सुटकेशको ह्याण्डिलमा सुन रहेको फेला पारेपछि सुटेकश धनी राकेश तुलाधरलाई कर्मचारीले नियन्णमा लिए। उनले कुनै मालवस्तु नराखिएको खाली (नयाँ) सुटकेशको ह्याण्डिल साईडको भित्रपट्टी करिब ५ ईन्च लम्बाई र १ ईन्च चौडाईको सुनको बारलाई कार्वन पेपरले र्यापिङ् गरी अड्काएर लुकाई छिपाई सुन ल्याएको भन्सारका कर्मचारीले फेला पारे। तुलाधरले २६७.४ ग्राम सुन ल्याएका थिए।
शुक्रबार राती नै तुलाधरलाई नेपाल प्रहरीको हिरासतमा राखि भन्सार कार्यालयले विस्तृत अनुसन्धान प्रारम्भ गरिरहेको छ। सुनको अवैध आयातमा रोकेश तुलाधर एक्लै संलग्न थिए वा अरू व्यक्तिको पनि संलग्नता थियो भन्ने विषय भने थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
२. यसैगरी विमानस्थल भन्सार कार्यालयले असार १० गतेपनि सलाल एयरको उडान नम्बर ४२७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका सिराह स्थायी घर भएका निरन्जन कुमार सिंहलाई अवैध सुन लुकाई छिपाई ल्याएको भन्दै नियन्त्रणमा लिएको थियो। सिंहले सनसिल्क सेम्पुको डब्बा भित्र सेम्पु (झोल) सँगै मिसाई १०० ग्राम सुन लुकाई छिपाई अवैधरूपमा ल्याउँदै गरेको अवस्थामा भन्सार कार्यालयले फेला पारेको थियो।
३. जेठ २८ गते पनि विमानस्थल भन्सार कार्यालयले अवैध रुपमा लुकाईछिपाई ल्याइएको २६० ग्राम सुन नियन्त्रणमा लिएको थियो। जजिरा एयरको उडान नम्बर जेनाइन ५३९ बाट त्रिभुवन विमानस्थल अवतरण भएका ३ जना नेपालीलाई अवैध सुन ल्याएको भन्दै नियन्त्रणमा लिएको थियो। कार्यालयले प्रकाश दुनुवार, भुमा कुमार माझी र सरोज मोचीले लगाएको जिन्स पाइन्टको भित्रको भागमा बाहिरबाट सिलाएर लुकाई ल्याएको सुन फेला पारेको थियो।
४. जेठ २६ गते पनि विमानस्थल भन्सार कार्यालयले कतार एयरको जहाजबाट काठमाडौं आएका धनुषाका एक जना यात्रुले लुकाईछिपाई ल्याएको ५१६.५ ग्राम सुन नियन्त्रणमा ल्याएको फेला पारेको थियो। कार्यालयले यात्रुले लगाईराखेको भित्री वस्त्र (कटटु) मा फल्स पकेट बनाई विष्कुट आकारको सुन थान-४ जम्मा तौल ४६६.५ ग्राम र सिक्री आकारको सुन थान-१ तौल ५० ग्राम गरी कुल जम्मा ५१६.५ ग्राम सुन लुकाई छिपाई ल्याएको फेला पारेको थियो।
५. बैशाख २० गतेपनि विमानस्थल भन्सार कार्यालयले मिक्सरको भित्री भागमा फल्स बटम बनाई करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेको थियो। जजिरा एयरबाट काठमाडौं अवतरण गरेका रुपन्देही नागरिकलाई कार्यालयले प्रकाउ गरेको थियो।
६. बैशाख ७ गते पनि विमानस्थल भन्सार कार्यालयले कतार एयरको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतर गरेकी दोलखा लापिलाङ् घर भएकी २४ वर्षिय एकजना नेपाली महिला यात्रुले ४२ थान बच्चाको डाइपर भित्र लुकाई छिपाई ३१७ ग्राम सुन (२५० वटा स-साना रिङ् आकार) मा ल्याएको अवस्थामा फेला पारेको थियो।
यात्रुले कति सुन कसरी ल्याउन पाउँछन्
सरकारले पछिल्लो समय सुन तस्करी बढेको भन्दै भित्रिने बाटोमा कडाईका साथ अनुगमन थालको छ। त्यसमा पनि नेपालको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने व्यक्तिले ल्याउने सुनमा विशेष निकारीका साथ अनुगमन गरिरहेको छ। विदेशबाट आउने यात्रुले नेपाल आउँदा ल्याउन पाउने सुनको विषयमा जानकारी नपाउँदा समेत कतिपय यात्रु समस्यामा पर्ने गरेका छन्।
कानुनमा विदेशबाट नेपाल आउने यात्रुले २ वटा व्यवस्था अनुसार सुन ल्याउन पाउछन्। पहिलो व्यवस्था हो सुनको गहना ५० ग्राम, चाँदीको गहना ५ सय ग्राम र १ लाख रुपैयाँसम्मको जवारित जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया ल्याउँदा भन्सार नलाग्ने व्यवस्था गरेको छ।
तर गहना पनि २ सय ५० ग्रामभन्दा बढीको ल्याउन पाइदैन। ५१ ग्रामदेखि १ सय ५० ग्रामसम्म प्रतिग्राम १ हजार ५० रुपैयाँ र थप १५१ देखि २ सय ५० ग्रामसम्मको प्रति ग्राम १ हजार २ सय रुपैयाँ भन्सार लाग्छ। विदेशबाट आउँदा १ सय ग्रामसम्म काँचो सुन ल्याउन पाइन्छ। तर भन्सार भने तिर्नु पर्ने हुन्छ। ५० ग्रामसम्मको काँचो सुन ल्याउँदा प्रतिदश ग्राम ९ हजार ५ सय रुपैयाँका दरले तिर्नु पर्ने हुन्छ। त्यसमा थप ५ सय ६५ रुपैयाँ लाग्ने छ। यसरी ५० ग्रामसम्म काँचो सुन ल्याउँदा ४८ हजार ६५ रुपैयाँ लाग्छ।
यसैगरी कसैले १ सय ग्राम काँचो सुन ल्याएको छ भने ५१ ग्रामदेखि १ सय ग्रामसम्मको हकमा थप प्रतिदश ग्राम १० हजार ५ सय रुपैयाँका दरले ५२ हजार ५ सय रुपैयाँ गरी कुल १ लाख ५ सय ६५ रुपैयाँ तिर्नु पर्ने हुन्छ। तर १ सय ग्रामभन्दा बढी काँचो सुन ल्याए जफत हुने व्यवस्था छ।
भन्सार कार्यालयले अहिले विदेशबाट आउनेले आफ्नो साथमा ल्याएको सुनको गहना तथा काँचो सुनमा कानूनले तोके अनुसार भन्सार लगाउने तथा छुट दिइरहेको भट्टराई बताउँछन्। कानूनले हाम्रो सामाजिक संस्कार अनुसार गहरगहना लगाउने चलन छ। त्यसलाई सम्बोधन गर्ने गरी ५० ग्रामसम्म सुनको गहना ल्याउँछन् भने त्यसमा भन्सार महशुल लाग्दैन। गहना भन्ने वित्तिकै सुनमा कालीगढको सिप पनि जोडिएको हुन्छ।
कालिगढको सिप जोडिएपछि मात्रै गहना बन्छ। असल मनासयले सरकारले हाम्रो आचरणलाई सम्बोधन गर्ने गरी ५० ग्रामसम्मको गहनामा भन्सार छुट दिएको उनको भनाइ छ।
असल मनासयका साथ गरिएको व्यवस्थाको दुरुपयोग गर्दै सुनका तारहरुलाई कटिङ गर्ने र यति कटिङ गर्दा ५० ग्राम हुन्छ भनेर सफ्लायरले जानेको हुन्छ। कटिङ गरेपछि त्यसलाई घुमाएर बाला हो भन्ने वा त्यसलाई केही फन्को बनाएर औँठी हो भन्ने देखाएर तस्करले नेपाल ल्याउने प्रवृति बढेको उनको भनाइ छ।
'यात्रुले भन्दा बेरुवा औँठी हामीले भन्दा त्यो काँचो सुन। यसो गर्नु भनेको विशुद्ध कानूनी व्यवस्थाको गलत व्याख्या गरेर ल्याईएको सुन हो। यसलाई हामीले नियन्त्रणमा लिएका हौं। जफत गरेका हैनौं।
हामीले कानूनअनुसार भन्सार महसुल तिर्नुहोस् भनेको मात्रै हो। हामीले कालिगढको सिप नदेखिने सुनलाई उनीहरुले गहना भने पनि कानूनअनुसार काँचो सुन भनेको हो। यसको परीक्षणमा कुनै कमजोरी छैन,' उनले भने।
उनका अनुसार नियन्त्रणमा लिएको ९९ प्रतिशत गहना भनिए पनि त्यो काँचो सुन नै हो। ९९ प्रतिशत महिलाले गहना लगाउँछन तर हामीले त्यसमा केही नगरेका भट्टराई बताउँछन्। 'यहाँ त काँचो सुनलाई बेरेर/बटारेर गहना भनेर ल्याउनेको मात्रै नियन्त्रणमा लिएका हौं। उहाँहरुलाई भन्सार तिरेर लैजानु भनेका हौं। हामीले गरेको पहिचामा ९९ प्रतिशत कमजोरी छैन,' उनले भने।