सोमबार, असोज ७ गते २०८१    
images
images

पोखरा भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १७ २०७९
images
images
पोखरा भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग

वडा नं ३३ टिमुरपाटामा ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि १० करोड विनियोजन गरिएको विषयप्रति आफूहरूको गम्भीर रुपमा ध्यान आकृष्ट भएको उनीहरुले बताए।

images
images

पोखरा- पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन्।

images
images
images

भरतपोखरीवासी नागरिकहरूको संयोजनमा आज ‘भरतपोखरीमा ल्यान्डफिल्डः कति ठीक? कति बेठिक?’ शीर्षकमा आयोजित छलफल कार्यक्रमका वक्ताले सरोकारवालाबीच छलफल नै नगरी गरिएको भरतपोखरीमा ल्यान्डफिल्ड साइड राख्ने निर्णय तुरुन्त खारेजी गर्न माग गरेका छन्।

कार्यक्रम संयोजक हेमबहादुर थापा पराजुलीले सरोकारवालाबीच कुनै छलफल नगरी महानगरपालिकाको बजेटमा वडा नं ३३ टिमुरपाटामा ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि १० करोड विनियोजन गरिएको विषयप्रति आफूहरूको गम्भीर रुपमा ध्यान आकृष्ट भएको बताए।

भौगोलिक अवस्थितिअनुसार आवास क्षेत्रका लागि पोखराकै उत्कृष्टस्थलका रुपमा रहेको भरतपोखरी पर्यटकीय गन्तव्यसमेत भएकोे बताउँदै उनले यस स्थानमा कुनै पनि रुपमा ल्यान्डफिल्ड साइट राख्न स्थानीयवासी तयार नरहेको स्पष्ट पारे।

images

पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने सम्बन्धमा आफूहरू नेतृत्वमा आउनुपूर्व अघिल्लो स्थानीय सरकारको पालामा महानगर कार्यपालिकाको ५५औँ बैठकले निर्णय गरेको जानकारी गराए। यो विषय आम वडावासीको चासो र सरोकारको विषय भएको बताउँदै उनले जनताको भावनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे।

साबिक भरतपोखरी गाउँ विकास समितिका पूर्वअध्यक्ष यज्ञप्रसाद अधिकारी (ठूला)ले फोहोरसँग विकास साट्नेमा आफूहरू सहमत नरहेको बताउँदै यस निर्णयलाई खारेज गर्न माग गरे। साबिक भरतपोखरी गाविसका पूर्वअध्यक्ष गोपाल पुनले ल्यान्डफिल्ड साइट राख्ने निर्णयको सबै वडावासीले सामूहिक रुपमा विरोध गर्ने बताए।

सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्यले ल्यान्डफिल्ड साइट राख्ने जस्तो निर्णयमा सरोकारावालाबीच छलफल नै नगरिनु दुःखद भएको बताउँदै यसका विरुद्धमा सबै एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याए।

समाजसेवी पीताम्बर पौडेलले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गराउन यहाँका जनप्रतिनिधिको जागरुकता आवश्यक भएको बताए। समाजसेवी चन्द्रप्रसाद पौडेलले भरतपोखरीमा ल्यान्डफिल्ड राख्ने निर्णयका विरुद्धमा यो वा त्यो दल नभनी सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।
 
युवा श्रीधर पौडेलले पर्यटनका धेरै सम्भावना रहेको भरतपोखरीमा ल्यान्डफिल्ड साइट बनाउने निर्णय अविवेकी भएको उल्लेख गरे। पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले ल्यान्डफिल्ड साइटको व्यवस्थापनतर्फ ध्यान दिनु जरुरी रहेको धारणा राखे।

छलफलमा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बराल, यज्ञप्रसाद अधिकारी (साना), रमेशराज आचार्य, नीलराज आचार्य, शान्ति पाध्या लगायतले भरतपोखरीमा कुनै पनि दृष्टिकोणबाट ल्यान्डफिल्ड साइट राख्नु उपयुक्त नदेखिएको बताए। भेलाले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै यस सम्बन्धमा विस्तृत छलफलका लागि वडाका जनप्रतिनिधिमार्फत सबै पक्षीय बृहद् भेला गर्ने निर्णय गरेको छ। रासस


प्रकाशित : शुक्रबार, असार १७ २०७९०८:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend