मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

लयमा देखिएको सेयर बजारमा फेरि फापेन शुक्रबारे कारोबार, आउने साता सम्हालिएला?

शुक्रबार, असार १७ २०७९
लयमा देखिएको सेयर बजारमा फेरि फापेन शुक्रबारे कारोबार, आउने साता सम्हालिएला?

काठमाडौं- सेयर बजारमा यो साता समग्रमा अवस्था सुखद नै देखिए पनि शुक्रबारको अन्तिम कारोबार भने सुखद हुन सकेन। सातामा यसअघि तीन दिन वृद्धि र दुई दिन ओरालो लागेको बजारमा शुक्रबार ११.०६ अंकको गिरावट देखिएको हो। 

८.८७ अंकले घटेर शुक्रबार सेयर बजार २०२८.७७ बिन्दुमा पुगेको छ। जहाँ १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ। 

साताभरको अवस्था हेर्दा बजारमा १६६.७ अंकको वृद्धि देखिएको छ। यो साता आइतबार उतारचढावका बीच ९४.९२ अंकको वृद्धिसँगै बजार १९५६.९८ बिन्दुमा पुगेको थियो। सोमबार २३.८५ अंकले घटेको बजार मंगलबार पनि ११.८२ अंकले घटेको थियो। बुधबार भने सुधार देखिँदै ४१.३९ अंकले बढेर बजार १९६२.७१ बिन्दुमा पुगेको थियो। बिहीबार ७४.९३ अंकको वृद्धिसँगै बजार २०३७.६४ बिन्दुमा पुगेको थियो। 

सेयर बजार २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि २०७६ मंसिर १० गते ११०२ अंकसम्म झरेको सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। त्यसयता लगातार उतारचढाव हुँदै घटिरहेको बजारमा यो साताको कारोबारले भने सुखद संकेत नै गरेको छ। 

निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा देखिएको सुधारले लगानीकर्ताको विश्वास फर्कने वातावरण बनिरहेको विश्लेषकहरू बताउँछन्। पुँजी बजार नियामकहरूको साथ मिले बजारले अब विस्तारै गति समात्ने उनीहरूको भनाइ छ। 

कुन शुक्रबार बजार कस्तो?

सेयर बजारमा अहिलेसम्म शुक्रबार भएको सात कारोबारमा एक दिनमात्र बजार बढेको छ। कारोबार रकमका हिसाबले पनि शुक्रबार सुखद हुन सकिरहेको छैन। 

सरकारले जेठदेखि लागुहुने गरी आइतबार बिदा दिएसँगै शुक्रबारसमेत सेयर कारोबार सुरु भएको हो। असारदेखि आइतबारे सार्वजनिक बिदा खारेज भए पनि शुक्रबारसमेत १ बजेसम्म सेयर कारोबार गर्न थालियो। तर हरेक शुक्रबार घटिरहेको सेयर बजारमा लगानीकर्ताको खास चासो देखिँदैन। 

जेठ ६ गते शुक्रबारको पहिलो कारोबारमा सेयर बजार १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको थियो। जहाँ ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँको मात्र कारोबार भएको थियो। 

जेठ १३ गते शुक्रबार १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा झरेको थियो। जसमा १ अर्ब २९ करोड रुपैयाँको कारोबारमात्र भएको थियो। जेठ २० गते शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको थियो। जसमा १ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। 

यसअघि जेठ २७ शुक्रबार १४.६४ अंकले घटेर बजार २०४८.१६ बिन्दुमा झरेको थियो। जसमा ८९ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। 

असारको पहिलो शुक्रबार १ बजेसम्म भएको कारोबार पनि लगानीकर्ताका लागि सुखद हुन सकेन। असार ३ गते शुक्रबार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा झरेको थियो। जहाँ ७३ करोड ६३ लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

असार १० गते शुक्रबार भने १३.७८ अंकले बढेर बजार १८६२.०६ बिन्दुमा पुगेको थियो। जहाँ १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो। 


प्रकाशित : शुक्रबार, असार १७ २०७९०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend