मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

घटेको सेयर बजार लयमा फर्कने प्रयासमा, नियामकको साथ पाए उच्च बिन्दुतर्फ बढ्ला?

बिहीबार , असार १६ २०७९
घटेको सेयर बजार लयमा फर्कने प्रयासमा, नियामकको साथ पाए उच्च बिन्दुतर्फ बढ्ला?

काठमाडौं- उच्च बिन्दुबाट उतारचढावका बीच बियरिसमा जाँदै 'क्रयास'नजिक पुगेर जोगिएको सेयर बजार अहिले थामिने बाटोतर्फ लयमा देखिएको छ। यो साता आइतबारको उच्च अंकको वृद्धिपछि दुई दिन घटेको बजारमा लगातार दुई दिन वृद्धि देखिएको छ।

बिहीबार सेयर बजार ७४.९३ अंकको वृद्धिसँगै २०३७.६४ बिन्दुमा पुगेको छ। जहाँ कारोबार रकममा समेत केही सुधार देखिएको छ। बिहीबार २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ। 

यो साता आइतबार उतारचढावका बीच ९४.९२ अंकको वृद्धिसँगै बजार १९५६.९८ बिन्दुमा पुगेको थियो। सोमबार २३.८५ अंकले घटेको बजार मंगलबार पनि ११.८२ अंकले घटेको थियो। बुधबार भने सुधार देखिँदै ४१.३९ अंकले बढेर बजार १९६२.७१ बिन्दुमा पुगेको थियो। 

लामो समयपछि लगानीकर्ताको उत्साह देखिँदा यो साता कारोबार सुखद बनिरहेको छ। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा देखिएको सुधारले लगानीकर्ताको विश्वास फर्कने वातावरण बनिरहेको विश्लेषकहरू बताउँछन्। पुँजी बजार नियामकहरूको साथ मिले बजारले अब विस्तारै गति समात्ने उनीहरूको भनाइ छ। 

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेर ओरालो यात्राको उतारचढावमा लाग्दा बेलाबखत ठूलो अंकको वृद्धि देखिने गरेको छ। तर त्यसले बजारको अवस्थाअनुरुप निरन्तरता भने पाउन सकेको छैन। सेयर विश्लेषकहरू बजार उच्च अंकबाट धेरै नै तल झरिसकेकोले अब थामिने अवस्थामा नै रहेको बताउँछन्। अब भने एक दिनको ठूलो उछाल र बाँकी समय तल गिर्ने अवस्थाबाट बजार फर्किएको विश्लेषण भइरहेका छन्। यसले बजारमा सकारात्मक संकेत गरिरहेको छ। 

संगठित लगानीकर्ताहरूले सेयर बजारमा नियामकीय सुधारका लागि निरन्तर दबाब पनि दिइरहेका छन्। नेपाल धितोपत्र बोर्ड तथा अर्थ मन्त्रालयले पनि बजारको पछिल्लो अवस्था सुधार हुनुपर्ने भन्दै त्यसका लागि काम गरिरहेको बताएका छन्। विशेष गरी नेपाल राष्ट्र बैंकले अब आउने मौद्रिक नीतिमार्फत कस्तो सम्बोधन गर्छ भन्ने पर्खाइमा लगानीकर्ता देखिन्छन्।

बजारले सुधारको संकेत गरिरहँदा केही ठूला लगानीकर्ताको भित्री चलखेलमा हुने उछाल नभइ आम लगानीकर्ता विश्वस्त हुन सक्ने आधारको खोजी भइरहेको छ।


प्रकाशित : बिहीबार , असार १६ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend