मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

'घट्दो ट्रेन्ड'को सेयर बजारमा देखियो वृद्धि, अब अघि बढ्ला या अडिरहला?

बुधबार, असार १५ २०७९
'घट्दो ट्रेन्ड'को सेयर बजारमा देखियो वृद्धि, अब अघि बढ्ला या अडिरहला?

काठमाडौं- घट्दो ट्रेन्डमा रहेको सेयर बजारमा बुधबार उतारचढावका बीच वृद्धि देखिएको छ। बुधबार ४१.३९ अंकले बढेर सेयर बजार १९६२.७१ बिन्दुमा पुगेको छ। जहाँ १ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ। 

लामो समयपछि लगानीकर्ताको उत्साह देखिँदा यो साताको पहिलो कारोबारमा आइतबार पनि उतारचढावका बीच ९४.९२ अंकको वृद्धिसँगै बजार १९५६.९८ बिन्दुमा पुगेको थियो। आइतबारको वृद्धिपछि लगातार दुई दिन बजार घटेको थियो। सोमबार २३.८५ अंकले घटेको बजार मंगलबार पनि ११.८२ अंकले घटेको थियो। 

गएको साता मंगलबार एक दिन देखिएको सुधारपछि बजारले सकारात्मक गति लिन सकेको थिएन। गएको साताको अन्तिम दिन शुक्रबारको सामान्य वृद्धि साथै यो साता आइतबार र बुधबार देखिएको ठूलो वृद्धिपछि बजार थामिएर अघि बढ्ने बाटोमा जाने विश्लेषकहरू बताउँछन्। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा देखिएको सुधारले लगानीकर्ताको विश्वास फर्कने वातावरण बनिरहेको उनीहरूको भनाइ छ।

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेर ओरालो यात्राको उतारचढावमा लाग्दा बेलाबखत ठूलो अंकको वृद्धि देखिने गरेको छ। तर त्यसले बजारको अवस्थाअनुरुप निरन्तरता भने पाउन सकेको छैन।

सेयर विश्लेषकहरू बजार उच्च अंकबाट धेरै नै तल झरिसकेकोले अब थामिने अवस्थामा नै रहेको बताउँछन्। केही दिन थामिँदै लामो समय ओरालो लाग्ने अवस्थाले बजारको 'क्रयास' जोगिइरहेको भए पनि निरन्तरको उकालो यात्राका लागि भने अझै समय लाग्ने विश्लेषकहरू बताउँछन्। यसमा आगामी मौद्रिक नीतिमार्फत हुने सम्बोधनको विशेष भूमिका रहने उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, असार १५ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend