शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अष्ट्रेलियामा नेपालीको संख्या पाँच वर्षमै दोबरभन्दा बढी

बुधबार, असार १५ २०७९
अष्ट्रेलियामा नेपालीको संख्या पाँच वर्षमै दोबरभन्दा बढी

अष्ट्रेलियाको जनगणना तथ्यांक : २०१६ देखि २०२१ सम्ममा अष्ट्रेलियामा नेपालीको संख्या ७० हजारले बढेर १ लाख २२ हजार पुग्यो।

काठमाडौं- पछिल्लो पाँच वर्षमा अष्ट्रेलियामा नेपालीको संख्या दोबरभन्दा धेरैले बढेको छ। सन् २०२१ मा भएको अष्ट्रेलियाको जनगणनाअनुसार नेपालमा जन्मिएका नागरिकको संख्या सन् २०१६ को तुलनामा सन् २०२१ मा दोबरभन्दा बढीले वृद्धि भएको हो। 

मंगलबार प्रकाशित तथ्यांकअनुसार अष्ट्रेलियामा नेपाली मूलका नागरिकको संख्या १ लाख २२ हजार ५१५ पुगेको छ। सन् २०१६ को तुलनामा यो १२४ प्रतिशतले धेरै हो। 

सन् २०१६ मा नेपालमा जन्मिएका नागरिकको संख्या ५४ हजार ७६३ थियो। त्यसअघि सन् २०११ मा २४ हजार ६३३ थियो भने सन् २००६ मा ४ हजार ५६७ मात्र थियो। 

अष्ट्रेलियामा सबैभन्दा उच्चदरमा भारतीयको संख्या वृद्धि भएको छ। त्यसपछि नेपालीहरू बढेका छन्।

पछिल्लो समय नेपालीको संख्या अष्ट्रेलियामा बढ्दै गएको छ। नेपालको तुलनामा शिक्षा तथा अवसर राम्रो पाइने तथा तुलनात्मक रुपमा खुकुलो अध्यागमन नीतिको फाइदा नेपालीले उठाएको त्यहाँका विज्ञहरूले बताउने गरेका छन्। 

nepali in australia (2).jpg

अधिकांश नेपालीहरू विद्यार्थीको रुपमा जाने र त्यसपछि कामको अवसर पाएपछि त्यही बस्ने गर्छन्। 'नेपालीहरूको संख्यामा वृद्धि हुनुले उनीहरूले राम्रै गरेको मान्न सकिन्छ,' 'द सन्डे मर्निङ हेराल्ड' मा अष्ट्रेलियन नेशनल युनिभर्सिटीकी जनसंख्याविद् लिज एलिन भन्छिन्। 

तर बढ्दो नेपालीको संख्यालाई मानवअधिकार तथा श्रम अधिकारको कोणबाट हेर्नुपर्ने कतिपयको भनाइ छ।

एजेन्टहरूले विद्यार्थीहरूलाई वर्किङ भिसाको डिल गर्ने गरेको र यसबाट न्यून बेतनमा कतिपयले आफ्नो श्रम बेचिरहेको हुनसक्ने बताउँछन् अष्ट्रेलियन अध्यागमन विभागका पूर्व उपसचिव अवुल रिज्भी। उनलाई उद्धृत गर्दै 'द सन्डे मर्निङ हेराल्ड'ले लेखेको छ, 'मेरो चिन्ताको विषय भनेको के मात्र हो भने एजेन्टहरूले शिक्षाको नाममा वर्किङ भिसा बेचिरहेका छन्। मलाई विश्वास छ कि  होम अफेयर्स विभागले यसमाअनुसन्धान गर्छ।'

उनले शंकास्पद भिसा आवेदनको संख्या पनि नेपाली विद्यार्थीकै धेरै हुने गरेको बताए। चीन र भारतको भन्दा पनि धेरै यस्तो भिसा नेपालबाट आवेदन हुने गरेको उनको भनाइ छ। 

पछिल्लो समय अष्ट्रेलिया जान समग्र आवेदन पनि अन्य मुलुकको तुलनामा नेपालबाट धेरै गएको छ। कोरोना महामारी कम भएर नाका खुलेपछि भारत, चीन, पाकिस्तानको सबै जोड्दा पनि नेपालबाट भोकेसनल शिक्षाका लागि धेरै आवेदन परेको थियो। 

'नेपालमा मध्यम वर्ग बढ्दैछ, यो कुरा थाहा छ। तर यहाँ सबै कुरा ठिक भइरहेको छैन,' रिज्भीले भने। 

नेपाली अष्ट्रेलियन एसोसिएसनको महासचिव रिशा आचार्यले नेपालीहरू विद्यार्थीका रुपमा आउने र सिप सिकेपछि वर्किङ भिसा लिने क्रम बढ्नु समान्य रहेको बताए। 

'अष्ट्रेलियन विश्वविद्यालयहरूले नेपालमा व्यापक मार्केटिङ  गरिरहेका छन्। यहाँका एजेन्ट पनि उत्तिकै छन्' उनलाई उद्धृत गर्दै हेराल्डले लेखेको छ। 

आधा अष्ट्रेलियालीका बाबुआमा विदेशमा जन्मेका

त्यहाँको तथ्यांक विभागले गरेको जनगणनाअनुसार अष्ट्रेलियाली नागरिकमध्ये आधाजतिको आमाबुबाको जन्म विदेशमा भएको छ।

त्यस्तै एक चौथाइभन्दा धेरै अर्थात् २८ प्रतिशत नागरिकको जन्म विदेशमा भएको पनि पाइएको छ। त्यसमध्ये सबैभन्दा धेरै बेलायतमा जन्मेका छन्। बेलायतमा जन्मेका अष्ट्रेलियनको सङ्ख्या ९ लाख २७ हजार छ।

दोस्रोमा रहेको भारतीय मुलका अष्ट्रेलियन ६ लाख ७३ हजार छन्। भारतले चीन र न्युजिल्यान्डलाई उछिनेर दोस्रो बनेको हो। भारतपछि चीन र न्यजिल्यान्डमा जन्मेका मानिस धेरै छन्।


प्रकाशित : बुधबार, असार १५ २०७९०८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend