सोमबार, असोज ७ गते २०८१    
images
images

सहरी क्षेत्र जलमग्न, राजमार्ग अवरुद्ध 

images
बुधबार, असार १५ २०७९
images
images
सहरी क्षेत्र जलमग्न, राजमार्ग अवरुद्ध 

वर्षका कारण कतै राजमार्ग अवरुद्ध भएको छ भने कतै जलमग्न भएको छ। 

images
images

काठमाडौं- मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा भइरहेको छ। यो क्रम अझै जारी रहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। विभागका अनसार मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भूभाग नजिक) रहेकाले भारी वर्षा भइरहेको छ। 

images
images
images

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीमा २३.८, धनगढीमा ४२.१, विराटनगरमा ३१.६, नेपालगञ्जमा ३.२, सिमारामा ९.८, र काठमाडौँमा ४.१  मिलिमिटर वर्षा मापन भएको छ।

वर्षका कारण कतै राजमार्ग अवरुद्ध भएको छ भने कतै जलमग्न भएको छ। 

images

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।

मङ्गलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो। 

त्यस्तै निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ। 

लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ। वर्षाले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ। 

यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ। बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ। निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ।

मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो। 

पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए। 

वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। 

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन्। उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ। पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उनले बताइन्। कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ।

त्यस्तै वर्षका कारणले तराईका सहरी क्षेत्र जलमग्न भएका छन्। दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन्। 

पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिए। अधिकांश घरमा पानी पसेपछि स्थानीयवासी समस्यामा परेका छन्। पानी निकासको समस्या समाधान नहुँदा बर्सेनि डुबानको समस्या हुने गरेको छ। 

वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ। जिल्ला प्रशासन, जिल्ला प्रहरी, आन्तरिक राजस्व, हुलाकलगायत सरकारी कार्यालय परिसरमा पानी जमेको छ। बजार डुबानमा परेपछि व्यापार व्यवसाय चौपट भएको छ।


प्रकाशित : बुधबार, असार १५ २०७९०५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend